शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०८९८ - दूषित नामसारी दर्ता बदर

भाग: ६४ साल: २०७९ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा

फैसला मिति : २०७७।११।१३

०७३-CI-१२७७

 

मुद्दाः- दूषित नामसारी दर्ता बदर

 

पुनरावेदक / प्रतिवादी : धादिङ जिल्ला, मुरलीभञ्ज्याङ गा.वि.स. वडा नं.६ बस्ने प्यामनारायण श्रेष्ठको श्रीमती विष्णुमाया श्रेष्ठ

विरूद्ध

प्रत्यर्थी / वादी : ऐ.ऐ. घर भई हाल भारत चण्डीगढ बस्ने भनिएको चाउरे श्रेष्ठको हकमा अ.बं. ८३ नं. बमोजिम अनुमति लिई नालेस गर्ने धादिङ जिल्ला, मुरलीभञ्ज्याङ गा.वि.स. वडा नं.६ बस्ने सूर्यनारायण श्रेष्ठको छोरा सिताराम श्रेष्ठ

 

बेपत्ता हुनेको नाममा दर्ता भएको जग्गा हक पुग्नेले दर्ता गर्न हकवाला सबैको सहमति हुनुपर्नेमा अन्यथा नहुने तर जग्गा भोगचलन गरिरहेको व्यक्तिले आफूले अटुट रूपमा भोगचलन गर्ने दूषित मनसायका साथ सहमति दिएन भने त्यस अवस्थामा उक्त जग्गा हकवालाहरूबिच भागबण्डा गरिदिनुपर्ने । 

(प्रकरण नं.६)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री बच्चु सिंह खड्का

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय श्री भुवनप्रसाद वाग्ले र श्री ठाकुररमण आचार्य

अवलम्बित नजिर :

ने.का.प.२०६८, अङ्क ३, नि.नं.८५७८

सम्बद्ध कानून :

मुलुकी देवानी संहिता, २०७४

प्रमाण ऐन, २०३१

मालपोत ऐन, २०३४

 

सुरू तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री रमेशराज पोखरेल

धादिङ जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री नागेन्द्रलाभ कर्ण

माननीय न्यायाधीश श्री हरिप्रसाद बगाले

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.दीपककुमार कार्की : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)  र हाल प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारअन्तर्गत दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः-

तथ्य-खण्ड

सूर्यनारायण श्रेष्ठको ३ भाइ छोरामा जेठो म फिरादी सिताराम श्रेष्ठ हो । माइला प्याम नारायण श्रेष्ठ, कान्छो चाउरे श्रेष्ठ हो ।  माइला भाइ प्याम नारायण श्रेष्ठको श्रीमती विपक्षी विष्णुमाया श्रेष्ठ हो । कान्छा भाइ विदेश भारततर्फ गई कहिले घर आउने कहिले जाने गरिरहेको हुँदा अंशबण्डा भई कान्छा भाइ चाउरे श्रेष्ठको अंश भाग म सिताराम श्रेष्ठ जिम्मा रहने गरी बण्डापत्र भएको छ । निज कान्छा भाइ चाउरे श्रेष्ठको नाउँमा दर्ता भएको धादिङ जिल्ला, मुरलीभन्ज्याङ गा.वि.स. वडा नं. ४ (च) कि.नं. ३२,१५५, ऐ. वडा नं. ६ (ङ) कि.नं. ४९, ऐ. वडा नं. ६ (च) कि.नं. ८६, ९२, ९३, ९७ ऐ. वडा नं. ४ (छ) कि.नं. १३९ को जग्गासमेत अंशबण्डा भई कान्छा भाइ चाउरे श्रेष्ठ विदेश भारततर्फ गई कहिले घर आउने कहिले जाने गरिरहेको थियो । घर व्यवहार मैले चलाई आएको थिएँ । विपक्षीमध्ये विष्णुमाया श्रेष्ठले पहिला आरूघाट बस्ने लक्ष्मीप्रसाद श्रेष्ठसँग विवाह गरी निजबाट जन्मिएका छोरा प्रतिवादीमध्ये र्इश्वरकुमार श्रेष्ठको जायजन्म भएपछि मेरो माइला भाइ प्यामनारायण श्रेष्ठसँग दोस्रो विवाह गरी आएकोमा भाइ प्याम नारायणको तर्फबाट जायजन्म नभएको हुँदा निजको जग्गाहरू प्याम नारायणको मृत्यु भएपछि सबै अंश भागको जग्गा पहिलाको लोग्नेपट्टिको छोरा निज प्रतिवादी र्इश्वरकुमार श्रेष्ठलाई दिइसकेको छ । कान्छो भाइ चाउरे श्रेष्ठको भागमा परेको उक्त ८ कित्ता जग्गाहरू मेरो जिम्मामा रही तिरो भरो मैले नै गरी रहेको छु । भाइ चाउरे श्रेष्ठ भारतमा छ । भाइको नाममा दर्ता भएको जग्गाको सक्कल जग्गाधनी दर्ता प्रमाण पुर्जा मसँग छ । प्रतिवादीहरू दुवैजना मिली जग्गाधनी चाउरे श्रेष्ठ बेपत्ता भएको भनी मालपोत कार्यालय धादिङमा निवेदन दिई जग्गा नामसारी गरी सोही जग्गा र्इश्वरकुमार श्रेष्ठले आफ्नो नाममा लिई जग्गा अन्यत्र बिक्री गर्न खोजेको छ भन्ने गाउँमा हल्ला सुनी के भएको रहेछ भनी मालपोत कार्यालय धादिङमा गई मिति २०६८।१२।२७ मा कागजातको प्रतिलिपि सारी हेर्दा प्रतिवादी विष्णुमाया श्रेष्ठले  चाउरे श्रेष्ठ २०१८ सालदेखि बेपत्ता भएको भन्ने निवेदन दिई गा.वि.स. तथा मालपोत कार्यालयलाई समेत गफलतमा पारी चाउरे श्रेष्ठको जग्गाधनी दर्ता प्रमाण पुर्जाको सक्कलबिना म सरोकारवाला व्यक्तिलाई नझिकाई गोप्य रूपमा मिति २०६७।४।१० गते भाइ चाउरे श्रेष्ठको नाउँमा रहेको सबै सम्पत्ति म सिताराम श्रेष्ठ र प्रतिवादी विष्णुमाया श्रेष्ठको नाउँमा दूषित नामसारी दर्ता गराई सोको भोलिपल्ट नै प्रतिवादी र्इश्वरकुमार श्रेष्ठको नाउँमा राजीनामा गरी दिई म सिताराम श्रेष्ठ र र्इश्वरकुमार श्रेष्ठको नाउँमा संयुक्त पुर्जा बनाउने काम भएछ ।  सो कुरा मलाई तथा भाइ चाउरे श्रेष्ठलाई थाहा थिएन । भाइ चाउरे श्रेष्ठ मसँग सम्पर्कमा रहेको व्यक्तिलाई बेपत्ता भएको भनी झुट्टा बेहोरा लेखाई दिएको रहेछ । सर्जमिन हुँदा वडा नं. ४ र ५ को मानिसहरू राखी सर्जमिन मुचुल्का गरेको 

छ । वडा नं. ६ का २ जना महिला अन्तिममा राखी सही गराएको छ । हाम्रो गाउँघरमा मालपोत कार्यालयबाट सर्जमिन मुचुल्का गर्न गएको थाहा जानकारी छैन । गा.वि.स. ले दिएको सिफारिसमा शब्द थपिएको छ । त्यसमा गा.वि.स. सचिवको सही भएको छैन । विपक्षी विष्णुमाया र म वादी समान हकदार भएकोमा मलाई थाहा जानकारी नदिई सक्कल पुर्जा हालसम्म मेरो साथमा रहेको अवस्थामा सक्कल पुर्जाबिना मिति २०६७।४।१० मा भाइ चाउरे श्रेष्ठको नाममा भएको जग्गालाई म सिताराम  श्रेष्ठ र विपक्षी विष्णुमायाको संयुक्त दर्ता हुने भनी गरेको दूषित निर्णय बदर गरी उक्त जग्गाहरू भाइ चाउरे श्रेष्ठका नाममा यथावत् कायम गरिपाउँ भन्ने फिरादपत्र ।

सुर्य नारायणको ३ भाइ छोरामा जेठा सिताराम श्रेष्ठ माइला प्याम नारायण श्रेष्ठ र कान्छा चाउरे श्रेष्ठ भएकोमा निज चाउरे श्रेष्ठ विदेश गएको भनी सिताराम श्रेष्ठ र मेरो पति प्याम नारायण श्रेष्ठको बिचमा मिति २०४२।२।१८ मा भएको बण्डापत्रसमेतबाट देखिन्छ । चाउरे श्रेष्ठ काहाँ बसेको छ भन्ने कुरा देखिँदैन । देवर चाउरे श्रेष्ठ बेपत्ता भएपछि निजको सम्पत्ति जेठाजु सिताराम श्रेष्ठ र मैले अपुताली खान पाउने सम्पत्ति भएको हुँदा चाउरे श्रेष्ठको नामको जग्गा जेठाजु सिताराम श्रेष्ठ र मेरो नाममा संयुक्त दर्ता हुने गरी मालपोत कार्यालय धादिङबाट मिति २०६७।४।१० मा निर्णय भएको हो । दूषित निर्णय भएको होइन । फिराद दाबी खारेज गरिपाउँ भन्ने प्रतिउत्तरपत्र ।

चाउरे श्रेष्ठ विदेश जाने आउने गरेकोमा २०२२ सालदेखि घरमा नआएको हो । चाउरेको नाममा भएको जग्गा निजको नाममा यथावत् कायम हुनुपर्छ भन्ने वादीको साक्षी काजीमान श्रेष्ठले सुरू अदालतमा गरेको बकपत्र ।

चाउरे श्रेष्ठ २०१८ सालदेखि विदेश गएको त्यसपछि आएको छैन । चाउरेको सम्पत्ति प्रतिवादी विष्णुमाया र सितारामले खान पाउने हुँदा नामसारी निर्णय र दर्ता बदर हुनुपर्ने होइन भन्ने प्रतिवादीका साक्षी राजाराम भट्टराईको बकपत्र ।

फिरादको प्रमाण खण्डमा उल्लेख गरेको भारत चण्डिगढमा बस्ने भनिएको चाउरे श्रेष्ठलाई वादीबाट उपस्थित गराउन लगाइ आएपछि पेस गर्नु भन्ने आदेश भएकोमा वादीले आफू वृद्ध भएको कारणबाट उपस्थित गराउन नसक्ने बेहोराको 

निवेदन ।

वादी सिताराम श्रेष्ठलाई बुझ्नुपर्नेमा नबुझी निवेदक विष्णुमाया श्रेष्ठले दिएको निवेदनको भरमा भएको नामसारी निर्णय दूषित देखिँदा मालपोत कार्यालय धादिङबाट मिति २०६७।४।१० मा भएको निर्णय बदर हुने भन्ने सुरू धादिङ जिल्ला अदालतबाट मिति २०७०।२।१३ मा भएको फैसला ।

चाउरे श्रेष्ठ घरमा नभएको र विदेश गएको भन्ने कुरा वादी स्वयम्‌ले फिरादमा स्वीकार गरेको देखिन्छ । घरमा आउँदै जाँदै गरेको देखिँदैन । चाउरे श्रेष्ठ २०१८ सालमा विदेश गएको हालसम्म फर्की नआएकोले निज मरेको हुनुपर्छ भनी मालपोत कार्यालय धादिङबाट मिति २०६७।४।१० मा निर्णय भएको 

हो । वादीले चाउरे श्रेष्ठ भारत चण्डीगढमा बसी आएको र बारम्बार फोन सम्पर्क भई आएको छ भनी फिरादमा लेखेकोले निज चाउरे श्रेष्ठलाई वादीबाट उपस्थिति गराउनु भनी मिति २०६९।८।१० मा आदेश भई तारेख तोकिँदा चाउरे श्रेष्ठलाई म उपस्थित गराउन सक्दिन भनी सम्मानित धादिङ जिल्ला अदालतसमक्ष मिति २०६९।१०।१५ गते वादीले निवेदन गरेको 

छ । उक्त आदेश निवेदन प्रमाण ऐन, २०३१ को दफा ३२ अनुसार छ । किनकि प्रमाण ऐन, २०३१ को दफा ३२ मा कुनै व्यक्ति जीवित छ वा निजको मृत्यु भइसकेको छ भन्ने प्रश्न उठेमा सो व्यक्तिको सम्बन्धमा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले निजका सम्बन्धमा १२ वर्षदेखि कुनै जानकारी पाएको छैन भन्ने प्रमाणित भएमा निज जीवित छ भन्ने पक्षले नै सो कुरा प्रमाणित गर्नुपर्छ भन्ने कुरा लेखिएको पाइन्छ । तर वादी सितारामले चाउरे श्रेष्ठ जीवित छ भनी उपस्थित गराउन सकेको छैन । निजको सम्पत्ति अपुतालीको १, २, ६, १० नं. र ज.प.को २ (क) नं. ले म अंशियार भाउजूसमेतले बराबरी नामसारी गरी लिन खान पाउने कुरा उक्त ऐनमा प्रस्ट छ । चाउरे श्रेष्ठको सम्पत्ति नामसारी गर्ने निर्णय मिति २०६७।४।१० गते भएको र वादीले उक्त कुरा थाहा पाएको भनेको मिति २०६८।१२।२७ गते भनी फिरादको प्रकरण (२) मा लेखेको पाइन्छ । सो निर्णय भएको मितिबाट थाहा पाएँ भनेको दिन १ वर्ष ८ महिना १७ दिनमा मात्र प्रस्तुत मुद्दा दर्ता भएको देखिन्छ । यसबाट जग्गा पजनीको १७ नं. ले तोकेको हदम्यादभित्र छैन ।  मालपोत कार्यालयले प्रतिवादी मरिसकेको भनी नामसारी गर्छ भने प्रतिवादीको कुरालाई प्रमाण ऐन, २०३१ को दफा ३२ ले समर्थन गरेका अवस्थामा वादी सितारामलाई मालपोत कार्यालय धादिङबाट नबुझेको भन्ने अर्थ गरी गरेको इन्साफ कानूनको दृष्टिमा त्रुटिपूर्ण देखिएकोले सुरू अदालतबाट भएको फैसला बदर गरी मालपोत कार्यालय धादिङको मिति २०६३।४।१० को निर्णय सदर कायम राखिपाउँ भन्ने प्रतिवादी विष्णुमाया श्रेष्ठको पुनरावेदन अदालत पाटनमा गरेको पुनरावेदनपत्र ।

सुरू धादिङ जिल्ला अदालतबाट मिति २०७०।२।१३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुन्छ भन्नेसमेत बेहोराको तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७०।५।२७ मा भएको फैसला ।

चाउरे श्रेष्ठ विदेशमा गई फर्की आउने ठेगाना नभएको मानिसको वर्गभित्र राखी चाउरे श्रेष्ठको हकमा सिताराम श्रेष्ठले निवेदन दिई सो निवेदनअनुसार चाउरे श्रेष्ठको हकमा सीताराम श्रेष्ठले अ.बं. ८३ नं. बमोजिम नालेस गर्न अनुमति प्राप्त गरी चाउरे श्रेष्ठको हकमा सिताराम श्रेष्ठले प्रस्तुत फिराद दायर गरेको 

छ । सितारामले आफ्नो फिराद-पत्रमा ‘कान्छा भाइ चाउरे श्रेष्ठ बेलाबखत घर आउने जाने गरी विदेश भारतको चण्डीगढमा काम गरी बसी मसँग प्रत्यक्ष सम्पर्कमा रही अहिले पनि भारतको चण्डीगढमा बसी आएको छ । मसँग फोन सम्पर्क भइरहेको र चाउरे श्रेष्ठको घर व्यवहार वादी सिताराम स्वयंले हेर्दै आइरहेको भनी फिराद-पत्रमा स्वीकार गरेको अवस्थामा सिताराम श्रेष्ठले नै चाउरे श्रेष्ठ विदेशमा रही फर्की आउने ठेगाना नभएको भनी अ.ब.८३ (१) नं. बमोजिम अनुमति प्राप्त गरी दिएको फिराद-पत्र अनधिकृत एवं अ.बं. ८३(१) नं. को कानूनविपरीत छ । चाउरे श्रेष्ठ घरमा आउने जाने गरेको, विदेश भारतको चण्डीगढमा काम गरेको बसेको स्थान थाहा भएको, चाहिएको समयमा टेलिफोन सम्पर्कमा रहिरहेको टेलिफोन सम्पर्क भएबाट मानिस फर्की आउने मिति थाहा भएको, टेलिफोन सम्पर्कमा रहिरहेको व्यक्तिको तर्फबाट वारेसले बाहेक अरूले प्रतिनिधित्व गर्न नपाउनेमा अ.बं. ८३ नं. को कानूनी व्यवस्थाविपरीत अनधिकृत हकदैया नभएको उनाउ व्यक्ति सिताराम श्रेष्ठले म निवेदिका विष्णुमाया श्रेष्ठ र विपक्षी सिताराम श्रेष्ठको नाममा संयुक्त नामसारी हुने  गरी मिति २०६७।४।१० मा मालपोत कार्यालय धादिङबाट भएको निर्णय र नामसारी दर्तासमेत बदर गरिपाउँ भनी दिएको फिराद पत्र लाग्न नसक्ने भई अ.बं. १८० नं. बमोजिम खारेज गर्नुपर्नेमा उक्त मालपोत कार्यालय धादिङको निर्णय दर्ता बदर हुने ठहराएको सुरू धादिङ जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला मुलुकी ऐन अ.बं. ८३(१) नं. को कानून व्याख्यासम्बन्धी गम्भीर त्रुटि हुनुका साथै ने.का.प. २०६८ अङ्क ३ नि.नं. ८५७८ को प्रतिपादित नजिर प्रस्तुत मुद्दामा पनि लागु हुने हुँदा सर्वोच्च अदालतबाट स्थापित कानूनी सिद्धान्त पालना नगरेको हुँदा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरी उल्टाइपाउँ भन्नेसमेत बेहोराको 

निवेदनपत्र ।

यसै लगाउको यिनै वादी प्रतिवादी भएको ०७७-CI-१२७८ को लिखत दर्ता बदर मुद्दाको मिसिल साथै पेस भएको ।

यसमा देवर चाउरे श्रेष्ठको नाममा रहेको जग्गा निज चाउरे १२ वर्षभन्दा बढी समयसम्म बेपत्ता भएको भन्ने आधारमा प्रत्यर्थी सिताराम श्रेष्ठको नाममा समेत संयुक्त रूपमा नामसारी गराई आफ्नो हक जनिई विपक्षी ईश्वरकुमार श्रेष्ठलाई लिखत गरी दिइसकेको अवस्थामा उक्त जग्गाहरू पुनः चाउरे श्रेष्ठको नाममा कायम रहने गरी पुनरावेदन अदालत पाटनबाट भएको मिति २०७०।५।२७ को फैसला प्रमाण ऐन, २०३१ को दफा ३, १९, २०, २६, २९, ३२ र ५४ को प्रतिबन्धात्मक वाक्यांश एवं मुलुकी ऐन, अ.बं. २९, ८२, ८३, १८४(क) र १८५ को व्याख्यात्मक त्रुटि एवं श्री सर्वोच्च अदालतबाट ने.का.प. २०६८, अङ्क ३, निर्णय नं. ८५७८, पृष्ठ ४५४ मा प्रतिपादित सिद्धान्तको प्रतिकूल देखिन आउँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्नका लागि निस्सा प्रदान गरिदिएको छ । नियमानुसार गर्नु भन्ने यस अदालतबाट मिति २०७३।११।१ मा भएको आदेश ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री बच्चु सिंह खड्काले चाउरे श्रेष्ठ २०१८ सालमा विदेश गएको हालसम्म फर्की नआएको वादी पक्षले निजको अस्तित्वसमेत के कस्तो छ भनी स्पष्ट भन्न नसकेको अवस्था छ । २०१८ सालदेखि फर्की नआएकाले निज चाउरे श्रेष्ठ मरेको हुनुपर्छ भनी मालपोत कार्यालय, धादिङबाट निजको नाउँमा दर्ता रहेको जग्गा निजको अपुताली खाने विष्णुमाया श्रेष्ठ र सिताराम श्रेष्ठको नाउँमा नामसारी गर्ने निर्णय भएको हो । निज चाउरे श्रेष्ठलाई वादीबाट उपस्थित गराउनु भनी अदालतबाट आदेश भई तारेख तोकिँदा चाउरे श्रेष्ठलाई म उपस्थित गराउन सक्दिन भनी वादीले निवेदन गरेका छन् । प्रमाण ऐन, २०३१ को दफा ३२ मा कुनै व्यक्ति जीवित छ वा निजको मृत्यु भइसकेको छ भन्ने प्रश्न उठेमा सो व्यक्तिको सम्बन्धमा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले निजका सम्बन्धमा १२ वर्षदेखि कुनै जानकारी पाएको छैन भन्ने प्रमाणित भएमा निज जीवित छ भन्ने पक्षले नै सो कुरा प्रमाणित गर्नुपर्छ भन्ने उल्लेख छ । तसर्थ, वादी सिताराम श्रेष्ठलाई बुझ्नुपर्नेमा नबुझी निवेदक विष्णुमाया श्रेष्ठले दिएको निवेदनको भरमा भएको नामसारी निर्णय दूषित देखिँदा मालपोत कार्यालय, धादिङबाट मिति २०६७।४।१० मा भएको निर्णय बदर हुने भन्ने सुरू धादिङ जिल्ला अदालतबाट भएको फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी मालपोत कार्यालय, धादिङबाट मिति २०६७।४।१० मा भएको निर्णय सदर कायम गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताद्वय श्री भुवनप्रसाद वाग्ले र श्री ठाकुररमण आचार्यले चाउरे श्रेष्ठ २०१८ सालमा विदेश गएको भए तापनि समय समयमा नेपाल आउने गरेको र वादीको सम्पर्कमा रहेकोले निजको सम्पत्तिको रेखदेख गर्ने र घर व्यवहार चलाउँदै गरेका व्यक्ति सिताराम श्रेष्ठलाई कुनै जानकारी नै नदिई नबुझी विष्णुमाया श्रेष्ठले दिएको निवेदनको भरमा मात्र भएको नामसारी निर्णय दूषित देखिएकाले मालपोत कार्यालय, धादिङबाट मिति २०६७।४।१० मा भएको निर्णय बदर हुने गरी सुरू धादिङ जिल्ला अदालतबाट भएको फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला न्यायोचित हुँदा उक्त फैसला सदर कायम गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

यसमा सूर्यनारायण श्रेष्ठको ३ भाइ छोरामा जेठो सिताराम श्रेष्ठ, माइला प्यामनारायण श्रेष्ठ, कान्छो चाउरे श्रेष्ठ भएकोमा माइला भाइ प्यामनारायण श्रेष्ठको श्रीमती विपक्षी विष्णुमाया श्रेष्ठ हो । कान्छा भाइ विदेश भारततर्फ गई कहिले घर आउने कहिले जाने गरी रहेको हुँदा अंशबण्डा भई कान्छा भाइ चाउरे श्रेष्ठको अंश भाग म सिताराम श्रेष्ठ जिम्मा रहने गरी बण्डापत्र भएको छ । घर व्यवहार मैले चलाई आएको थिएँ । कान्छो भाइ चाउरे श्रेष्ठको भागमा परेको जग्गाहरू मेरो जिम्मामा रही तिरो भरो मैले नै गरिरहेको छु । भाइको नाममा दर्ता भएको जग्गाको सक्कल जग्गाधनी दर्ता प्रमाण पुर्जा मसँग छ । प्रतिवादीहरू मिली जग्गाधनी चाउरे श्रेष्ठ बेपत्ता भएको भनी मालपोत कार्यालय धादिङमा निवेदन दिई जग्गा नामसारी गरी सोही जग्गा र्इश्वरकुमार श्रेष्ठले आफ्नो नाममा लिई जग्गा अन्यत्र बिक्री गर्न खोजेको छ भन्ने गाउँमा हल्ला सुनी मालपोत कार्यालय धादिङमा गई मिति २०६८।१२।२७ मा कागजातको प्रतिलिपि सारी हेर्दा प्रतिवादी विष्णुमाया श्रेष्ठले  चाउरे श्रेष्ठ २०१८ सालदेखि बेपत्ता भएको भन्ने निवेदन दिई गा.वि.स. तथा मालपोत कार्यालयलाई समेत गफलतमा पारी चाउरे श्रेष्ठको जग्गाधनी दर्ता प्रमाण पुर्जाको सक्कल बिना म सरोकारवाला व्यक्तिलाई नझिकाई गोप्य रूपमा मिति २०६७।४।१० गते भाइ चाउरे श्रेष्ठको नाउँमा रहेको सबै सम्पत्ति म सिताराम श्रेष्ठ र प्रतिवादी विष्णुमाया श्रेष्ठको नाउँमा दूषित नामसारी दर्ता गराई सोको भोलिपल्ट नै प्रतिवादी र्इश्वरकुमार श्रेष्ठको नाउँमा राजीनामा गरिदिई म सिताराम श्रेष्ठ र र्इश्वरकुमार श्रेष्ठको नाउँमा संयुक्त पुर्जा बनाउने काम भएछ । सो कुरा मलाई तथा भाइ चाउरे श्रेष्ठलाई थाहा थिएन । विपक्षी विष्णुमाया र म वादी समान हकदार भएकोमा मलाई थाहा जानकारी नदिई मिति २०६७।४।१० मा भाइ चाउरे श्रेष्ठको नाममा भएको जग्गालाई म सिताराम श्रेष्ठ र विपक्षी विष्णुमायाको संयुक्त दर्ता हुने भनी गरेको दूषित निर्णय बदर गरी उक्त जग्गाहरू भाइ चाउरे श्रेष्ठका नाममा यथावत् कायम गरिपाउँ भन्ने फिराद दाबी रहेकोमा सुर्य नारायणको ३ भाइ छोरामा जेठा सिताराम श्रेष्ठ, माइला प्यामनारायण श्रेष्ठ र कान्छा चाउरे श्रेष्ठ भएकोमा निज चाउरे श्रेष्ठ विदेश गएको भनी सिताराम श्रेष्ठ र मेरो पति प्यामनारायण श्रेष्ठको बिचमा मिति २०४२।२।१८ मा भएको बण्डापत्रसमेतबाट देखिन्छ । चाउरे श्रेष्ठ कहाँ बसेको छ भन्ने कुरा 

देखिँदैन । देवर चाउरे श्रेष्ठ बेपत्ता भएपछि निजको नाउँमा रहेको सम्पत्ति जेठाजु सिताराम श्रेष्ठ र मैले अपुताली खान पाउने नै हुँदा चाउरे श्रेष्ठको नाउँको जग्गा जेठाजु सिताराम श्रेष्ठ र मेरो नाममा संयुक्त दर्ता हुने गरी मालपोत कार्यालय, धादिङबाट मिति २०६७।४।१० मा निर्णय भएको हो । दूषित निर्णय भएको नहुँदा फिराद दाबी खारेज गरिपाउँ भन्ने प्रतिवादीहरूको प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा सिताराम श्रेष्ठलाई कुनै जानकारी नै नदिई नबुझी विष्णुमाया श्रेष्ठले दिएको निवेदनको भरमा मात्र भएको नामसारी निर्णय दूषित देखिएकाले मालपोत कार्यालय, धादिङबाट मिति २०६७।४।१० मा भएको निर्णय बदर हुने गरी सुरू धादिङ जिल्ला अदालतबाट भएको फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलामा चित्त नबुझाई वादीको तर्फबाट मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदनउपर अनुमति प्रदान भएको देखियो ।

उपर्युक्तबमोजिमको तथ्य र बहस जिकिर रहेको प्रस्तुत मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७०।५।२७ मा भएको फैसला मिलेको छ, छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने विषयमा निर्णय गर्नुपर्ने 

देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, पिता सूर्य नारायणको ३ भाइ छोरामा जेठा सीताराम श्रेष्ठ, माइला प्यामनारायण श्रेष्ठ, कान्छा चाउरे श्रेष्ठ भई माइला प्यामनारायण श्रेष्ठको मृत्यु भएकोले निजको हक खाने श्रीमती विष्णुमाया श्रेष्ठ भएकोमा विवाद देखिएन । कान्छा भाइ चाउरे श्रेष्ठ २०१८ सालमा विदेश भारतमा गएकोमा फर्की नआएकोले निजको अंश भाग जग्गाहरू हकवाला जेठाजु सिताराम र मसमेत भएकाले आधा मेरो नाउँमा दर्ता गरिपाउँ भनी निवेदन दिई सोही निवेदनको आधारमा मालपोत ऐन, २०३४ को दफा ८ (१) र प्रमाण ऐन, २०३१ समेतको आधारमा पेस भएबमोजिम नामसारी गर्ने गरी मालपोत कार्यालयबाट मिति २०६७।४।१० मा निर्णय भई सो जग्गाहरू सिताराम श्रेष्ठ र विष्णुमाया श्रेष्ठको संयुक्त नाउँमा दर्ता भएको र सोको भोलिपल्ट मिति २०६७।४।११ मा विष्णुमाया श्रेष्ठले आफ्नो भागको जग्गा र.नं. ११५ को राजीनामाको लिखतद्वारा प्रतिवादी र्इश्वरकुमार श्रेष्ठको नाममा नामसारी भएपश्चात् प्रस्तुत विवाद सिर्जना भएको देखियो ।

३. अब फिराद दाबीबमोजिम उक्त मितिका नामसारी दर्ताका साथै लिखत दर्ता बदर हुने हुन् वा होइनन् भन्नेतर्फ विचार गर्दा, जग्गाधनी चाउरे श्रेष्ठ २०१८ सालमा नै विदेश भारत गएको र हालसम्म पनि नेपाल फर्की नआएको भन्ने प्रतिवादीहरूको प्रतिउत्तर साथै पुनरावेदन जिकिर रहेको देखिन्छ भने उक्त जिकिरलाई वादीका साक्षी काजीमान श्रेष्ठले चाउरे श्रेष्ठ विदेश जाने आउने गरेकोमा २०२२ सालदेखि घरमा नआएको भनी गरेको बकपत्रले समेत समर्थन गरेको देखिन्छ । साथै प्रतिवादीका साक्षी राजाराम भट्टराईले समेत उक्त कुरालाई समर्थन गरेको देखिन्छ । वादी सिताराम श्रेष्ठले समेत भाइ चाउरे श्रेष्ठ विदेशमा रही फर्की आउने ठेगान नभएको र अंशबण्डाको लिखतबाट नै भाइको सम्पत्ति मेरो जिम्मामा रहेको हुँदा भाइ चाउरे श्रेष्ठको संरक्षकको हैसियतले निजको हकबाट मुद्दा दायर गर्न अ.बं. ८३ नं.  बमोजिम अनुमति पाउँ भनी निवेदन दिई अनुमति प्राप्त गरी प्रस्तुत मुद्दा दायर गरेको देखिन्छ ।

४. तत्काल प्रचलित मुलुकी ऐन, अदालती बन्दोबस्तको ८३ नं. ले विदेशमा गई फर्की आउने ठेगाना नभएका मानिसको तर्फबाट हकवालाले नालिस दिन पाउने भनी व्यवस्था गरेको छ । प्रस्तुत मुद्दाको अदालती कारबाही हेर्दा सुरू धादिङ जिल्ला अदालतले निवेदक सिताराम श्रेष्ठलाई भाइ चाउरे श्रेष्ठ विदेशमा रही फर्की आउने ठेगान नभएको भनी निजको हकमा मुद्दा दायर गर्न अनुमति दिएको 

देखिन्छ । फिराद जिकिर हेर्दा, जग्गाधनी चाउरे श्रेष्ठ विदेश भारतको चण्डीगढमा रहेको बेलाबखत घर आउने जाने गरेको र मसँग टेलिफोनमा प्रत्यक्ष सम्पर्कमा रहिरहेको भनी जिकिर लिएको देखिन्छ । अहिलेको प्राविधिक युगमा टेलिफोन सम्पर्कमा भएको मानिस कुन देशमा छ, कहाँ बसेको छ, के गर्दैछ भन्ने सम्पूर्ण विवरण थाहा हुन्छ । यदि फिराद बेहोरालाई मान्ने हो भने टेलिफोन सम्पर्कमा भएको भाइसँग टेलिफोनबाट प्रस्तुत विवादको जानकारी लिनदिन सक्ने अवस्था हुने देखिन्छ । मुलुकी ऐन, अदालती बन्दोबस्तको ८३(१) नं. कस्तो अवस्थामा आकर्षित हुने भन्ने सम्बन्धमा ने.का.प. २०६८, अङ्क ३, नि.नं. ८५७८ मा “विदेश गएको मानिससँग नियमित टेलिफोन सम्पर्क हुन सक्ने अवस्थामा फर्की आउने मिति थाहा हुने र विदेशको ठेगानासमेत थाहा हुने हुँदा यस्तो अवस्थामा अ.बं. ८३(१) नं. आकर्षण हुन नसक्ने ।” भनी सिद्धान्तसमेत प्रतिपादन भएको देखिन्छ । 

५. एकातर्फ अ.बं. ८३(१) नं. बमोजिम अनुमति लिने र अर्कातर्फ फिरादमा निज भारतमा रहेको समयसमयमा घर आउने जाने गरेको र हाल पनि टेलिफोनबाट सम्पर्क भइरहेको भनी उल्लेख गर्ने र अदालतले नै चाउरे श्रेष्ठको अवस्था जानकारी लिनका लागि निज चाउरे श्रेष्ठलाई वादीबाट उपस्थित गराउन लगाउने भन्ने आदेश भएकोमा भारत जस्तो नजिकको छिमेकी मुलुकबाट टेलिफोन सम्पर्कमा रहेका व्यक्तिलाई वादीले उपस्थित गराउन नसक्ने भनी जवाफी निवेदन परेको देखिन्छ । हाल प्रचलित मुलुकी देवानी संहिता, २०७४ को दफा ४०(१) मा “कुनै व्यक्ति बिनासूचना लगातार बाह्र वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले बाह्र वर्षदेखि कुनै जानकारी नपाएमा त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएकोमा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिने छ ।”  भनी कुनै मानिस बेपत्ता भएको अवस्थामा निजको मृत्यु भएको मानिने अवस्था र अवधिलाई व्याख्या गरेको पाइन्छ । प्रमाण ऐन, २०३१ को दफा ३२ मा “कुनै व्यक्ति जीवित छ वा निजको मृत्यु भइसकेको छ भन्ने प्रश्न उठेमा सो व्यक्तिको सम्बन्धमा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले निजका सम्बन्धमा १२ वर्षदेखि कुनै जानकारी पाएको छैन भन्ने प्रमाणित भएमा, निज जीवित छ भन्ने पक्षले नै सो कुरा प्रमाणित गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उपर्युक्त कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा वादी सिताराम श्रेष्ठले जग्गाधनी चाउरे श्रेष्ठ जीवित रहेको भए अदालतबाट वादीद्वारा झिकाउन लगाई उपस्थित गराउने भन्ने आदेश हुँदा निज वादीले चाउरे श्रेष्ठलाई उपस्थित गराउन नसक्ने भनी निवेदन गर्नुपर्ने थिएन । प्रस्तुत फिराद २०६८ सालमा दायर भएको देखिन्छ भने निज चाउरे श्रेष्ठको अस्तित्व हालसम्म पनि के-कस्तो रहेको छ भन्ने कुनै प्रमाणहरू वादी पक्षले पेस गर्न सकेको देखिँदैन । यस अवस्थामा विवेचित कानूनी व्यवस्थासमेतबाट चाउरे श्रेष्ठ जीवित नै रहेको भन्ने पुष्टि हुन सकेको देखिएन ।

६. वि.सं. २०१८ सालमा विदेश गएको देवर चाउरे श्रेष्ठ फर्की नआएकोले निज बेपत्ता भएको भनी निजको अंश भाग जग्गाहरू हकवाला जेठाजु सिताराम श्रेष्ठ र आफू विष्णुमाया श्रेष्ठ भएकाले आधा आधा दर्ता गरिपाउँ भनी मालपोत कार्यालयमा यी पुनरावेदक प्रतिवादी विष्णुमाया श्रेष्ठले निवेदन दिएकोमा मालपोत कार्यालय, धादिङले साबिक जग्गाधनी चाउरे श्रेष्ठ २०१८ सालदेखि बेपत्ता भएको गा.वि.स.को सिफारिस र सर्जमिन मुचुल्काबाट देखिएको, निजको नाउँको हकदाबी गर्ने सार्वजनिक सूचना प्रकाशित भई म्यादभित्र दाबी विरोध नपरेको, सिफारिसबाट हकदार सिताराम श्रेष्ठ देखिएको हुँदा प्यामनारायण श्रेष्ठको श्रीमती निवेदिका विष्णुमाया श्रेष्ठ भाउजू र दाजु नाताका सिताराम श्रेष्ठका संयुक्त नाममा मालपोत ऐन, २०३४ को दफा ८(१) र प्रमाण ऐन, २०३१ समेतको आधारमा नामसारी गर्ने भन्ने बेहोराको नामसारी टिप्पणी आदेश सदर गरी नामसारी भएको देखिन्छ । चाउरे श्रेष्ठको हालसम्म अस्तित्व देखाउन नसकेको कारणले निजको नाउँमा दर्ता रहेका जग्गा निजको हकवालाहरू सीताराम श्रेष्ठ र निवेदक विष्णुमाया श्रेष्ठ मात्र देखिएकाले निजहरूको नाउँमा संयुक्त रूपमा नामसारी हुने नै देखिन आयो । बेपत्ता हुनेको नाममा दर्ता भएको जग्गा सम्पत्ति हक पुग्नेले दर्ता गर्न हकवाला सबैको सहमति हुनुपर्नेमा अन्यथा रहेन । तर उक्त जग्गा भोगचलन गरिरहेको व्यक्तिले आफूले अटुट रूपमा भोगचलन गर्ने दूषित मनसायका साथ सहमति दिएन भने त्यस अवस्थामा उक्त जग्गा हकवालाहरूबिच भागबण्डा गरिदिनु नै हुँदैन भन्ने कुनै पनि कानूनको मकसद हुन सक्दैन । यस अवस्थामा मालपोत कार्यालय, धादिङबाट विष्णुमायाले दिएको निवेदनको कारबाहीका क्रममा सार्वजनिक सूचना जारी गरी हकदाबीका लागि आह्वान गरेको, गाउँ सर्जमिन गरेको र स्थानीय निकाय गा.वि.स.को सिफारिससमेतलाई आधार मानी चाउरे श्रेष्ठ बेपत्ता भएको र निजको अस्तित्व रहेको भन्ने कहीँकतैबाट नदेखिएकोले निज चाउरे श्रेष्ठको नाउँमा दर्ता रहेको जग्गा निजको हकवाला दाजु सिताराम र भाउजू विष्णुमायाको नाउँमा संयुक्त नामसारी गर्ने गरी निर्णय गरेबाट मालपोत कार्यालयले मालपोत ऐन, २०३४ को दफा ८(१) को प्रक्रिया पुर्‍याएर नै नामसारी गरेको भन्ने देखिन्छ । यसकारण कानूनले अख्तियारी प्रदान गरेको क्षेत्राधिकारमा रही पूरा गर्नुपर्ने कार्यविधिहरू पूरा गरी मालपोत कार्यालय, धादिङबाट आफूसमक्ष परेको निवेदनउपर गरेको निर्णयलाई दूषित मान्न सकिएन ।

७. तसर्थ, माथि विवेचित आधार प्रमाण, कानूनी व्यवस्था र प्रतिपादित सिद्धान्तबाट वादी सिताराम श्रेष्ठलाई बुझ्नुपर्नेमा नबुझी निवेदक विष्णुमाया श्रेष्ठले दिएको निवेदनको भरमा भएको नामसारी निर्णय दूषित देखिँदा मालपोत कार्यालय धादिङबाट मिति २०६७।४।१० मा भएको निर्णय बदर हुने भन्ने सुरू धादिङ जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०७०।५।२७ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भई चाउरे श्रेष्ठ जीवित रहेको भन्ने वादीले आफ्नो दाबी प्रमाणित गर्न नसकेको र निज मिति २०१८ सालदेखि विदेश भारतमा गएकोमा २०२२ सालदेखि घरमा आउजाउ नगरेको र सम्पर्कमा समेत नरहेको पुष्टि हुन आएकाले निजको अंश निजका हकवाला जेठा दाजु सिताराम श्रेष्ठ र माहिला दाजु प्यामनारायण श्रेष्ठ रहेकोमा प्यामनारायणको मृत्यु भएकोले निजकी श्रीमती विष्णुमाया श्रेष्ठको नाउँमा संयुक्त नामसारी गर्ने गरी मालपोत कार्यालय, धादिङबाट मिति २०६७।४।१० मा भएको निर्णय कानूनसङ्गत नै देखिएकाले सदर कायम हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला उल्टी भई जग्गाधनी चाउरे श्रेष्ठको नाउँमा मालपोत कार्यालय, धादिङमा दर्ता रहेका जग्गा निजका हकवाला दाजु सिताराम श्रेष्ठ र भाउजू विष्णुमाया श्रेष्ठको नाउँमा संयुक्त नामसारी गर्ने गरी मालपोत कार्यालय, धादिङबाट मिति २०६७।४।१० मा भएको निर्णय कानूनसङ्गत नै देखिएकाले सोहीबमोजिम कायम गर्न मालपोत कार्यालय धादिङलाई जानकारी दिनु भनी सुरू जिल्ला अदालत धादिङमा लेखी पठाउनू.......................१ 

प्रस्तुत फैसलाको प्रतिलिपिसहितको जानकारी वादी प्रतिवादीहरूलाई दिनू......................................२

सरोकारवालाले फैसलाको नक्कल माग गरे कानूनको रीत पुर्‍याइदिनू...............................................३

प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू............४

 

उक्त रायमा सहमत छु ।

न्या.डा.मनोजकुमार शर्मा

 

इजलास अधिकृत : नविन आचार्य

इति संवत् २०७७ साल फागुन १३ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु