निर्णय नं. १५४० - जग्गा बाली

निर्णय नं. १५४० ने.का.प. २०३९ अङ्क २
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०३८ सालको दे.पु.नं. ३०९
फैसला भएको मिति : २०३९।२।३ मा
पुनरावेदक : सुनसरी जिल्ला धरान न.पं.वडा नं.४ बस्ने माधवप्रसाद वस्ती
विरुद्ध
विपक्षी : धनकुटा जिल्ला चुङमाङ गा.पं.वडा नं.६ बस्ने डिल्लीराम वस्ती
मुद्दा : जग्गा बाली
(१) अंश मिसाईएको सगोलमा बसेको रजिष्ट्रेशनको १ नं.अनुसार रजिष्ट्रेशन पास भएको लिखत बेगर मर्ने वादी वा प्रतिवादीसँग एकासगोलमा बसेको रहेछ भन्न सकिने अवस्था नरहने ।
(प्रकरण नं. १७)
(२) कानूनी व्यवस्था अनुसार स्वर्गीय (जशोदा देवीको–संयोजक) सम्पत्तिको अपुतालीको हकदार पुनरावेदक वादी देखिन आएको हुनाले प्रतिवादीको जिकिर पुग्न सक्दैन । मृतक (जशोदा देवीको–संयोजक) सम्पत्तिको अपुतालिको हकदार पुनरावेदक ठहराई छिनेको कोशी अञ्चल अदालत धरानको इन्साफ मनासिव ठहर्छ ।
(प्रकरण नं. १९)
पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
उल्लिखित मुद्दा :
फैसला
न्या.धनेन्द्रबहादुर सिंह
१. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा प्रत्यक्षत कानूनको त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादी माधवप्रसादको निवेदन परेकोमा पुनरावेदनको लागि अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।८।१ को आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य निम्न अनुसार छ :
२. पिता शिवनारायणको ५ छोरामा तोयानाथ, श्यामलाल, कृष्णप्रसाद, लिलाप्रसाद, र म वादी माधवप्रसाद भई श्यामलाल र लिलाप्रसाद ८८ सालमा छुट्टिई भिन्न भई सकेको र ९५ सालमा पिता शिवनारायणको ज्यूनी र आमाको पेवा छुट्याई दाजु कृष्णप्रसादसँग राख्ने गरी मैले पनि बण्डा लिई बसेकोमा पिता ९६ सालमा दाजु कृष्णप्रसाद ९९ सालमा परलोक हुनु भई प्रतिवादीले आमाको हेरचाह नगरेबाट आमा जसोदाले पिताको ज्यूनी र आमाको पेवा समेत लिई मसँग बस्नु भएकोले पिता माताको ज्यूनी र पेवा तथा मेरो अंश भागको घर जग्गा समेत भोगी आएको कि.नं.२९६, २९७, २९८ को खेत र बण्डा बमोजिमको आधा घरबारी मैले नरसिंह कार्कीसँग खरीद गरी लिएको कि.नं.२५५, २५६ को जग्गा र मोठ नं.३४ को सट्टापट्टा गरेको प्रतिवादीको बाबा कृष्णप्रसादको नामको कि.नं. २९२, ३०१, २२५ को खेत र बण्डा बमोजिमको दाजु कृष्णप्रसादको भागमा परेको बाँकी आधी भाग घरबारी तथा मेरै नामको कि.न.२९२, २९४, २९९ समेतका जग्गा भोगी भू.सु.का.मा ७ नं.फाराम भर्दा समेत प्रतिवादीले आफ्ना स्वहस्ताले फाँटवारी भरेको आमा जसोदा देवी ०२८ साल माघ महिनामा परलोक हुनु भई वहाँको काजकृया मैले गरी आमाको पेवा पिताको ज्यूनीको घर जग्गा स्त्री अंश धनको ५ नं.अपुतालीको ९।१० नं.ले मेरो हक भई भोगी आएको घर जग्गा विपक्षीले हटक खिचोला गरेकाले बाली बिगो रु.३०४०।–दिलाई खिचोला मेटाइ पाउँ भन्ने समेत माधवप्रसाद वस्तीको ०३१।१।३० को फिरादपत्र ।
३. २००० सालमा बजै जसोदा देवी वादीकहाँ बस्न गएको होइन । ०२८ साल कात्र्तिक महिनामा बजै बिरामी हुनु भएकोले इलाज गर्न वादी समेतका छोरा बसेको धरानमा आउनु भई ०२८।८।२० गते परलोक हुनु भएकोले काजकृया गरेको भरबाट अपुतालीको ९।१० नं.बमोजिम वादीले दावी लिन नमिल्ने । बजै जसोदा बाबा कृष्णप्रसादसँग बसी बाबा स्वर्ग हुनु भएपछि मसँग बस्नु भएको हुँदा बजै जिवितावस्थामै निजका नामको जग्गा शिवप्रसाद रिजाललाई दृष्टिबन्धक लेखी दिएको ०११।१२।२१।१ को लिखतमा सगोलको नाती भनी मलाई फटकेमा साक्षी राखेको र बजै परलोक भएपछि जिम्मावाल छत्रबहादुर समेतका कचहरीमा दर्खास्त गरी चलनी समेत पाई मैले कूत समेत बुझाई भोगी आएको छु । भोगै नभएको जग्गा भोग देखाई झुट्ठा दावी लिएका हुन भन्ने समेत डिल्लीरामको प्रतिउत्तरपत्र ।
४. हक नपुगी सकेको जग्गा जमीन समेतको एकमुष्ट दावी लिएको फिरादबाट के कति दिलाउने भराउने यकिन गर्न नसकिने हुँदा फिराद खारेज हुने ठहर्छ भन्ने समेत धनकुटा जि.अ.को ०३२।१।१६ को फैसला ।
५. शुरुको खारेजी फैसला बदर गरी ठहर फैसला गरी पाउँ भन्ने समेत माधवप्रसादको पुनरावेदनपत्र ।
६. इन्साफ गर्नु पर्नेमा खारेज गरेको सुरुको फैसला नमिलेकोले बदर गरी दिएको छ, ठहर निर्णय गरी दिनु भनी धनकुटा जि.अ.मा पठाई दिने भन्ने समेत कोशी अञ्चल अदालतको ०३३।५।२८ को फैसला ।
७. कि.नं.२९३, २९४, २९९ र ३०० को जग्गाको ०२९।३० सालको बाली खाई प्रतिवादीले खिचोला गरेको ठर्हछ । अरु सबै जग्गा प्रतिवादीकै कायम देखिँदा वादीले झुठ्ठा उजुर गरेको ठर्हछ भन्ने समेत धनकुटा जि.अ.को ०३४।५।२६ को फैसला ।
८. फिराद दावी बमोजिम आमा जसोदाको पेवा बाबुको ज्यूनी समेत मेरो हक हुन सुरु फैसला बदर भई वादी दावी बमोजिम हक कायम गरिपाउँ भन्नेसमेत माधवप्रसादको पुनरावेदन ।
९. सट्टापट्टाको रीतपूर्वकको लिखत नहुँदा त्यस तर्फ वादी दावी नपुग्ने ठहराएको सुरुको इन्साफ मनासिव र जसोदा देवीको नजिक हकवाला पुनरावेदक वादी देखिएकोले जसोदा देवीको अपुताली वादीले नपाउने ठहराएको सम्म सुरु धनकुटा जिल्ला अदालतको इन्साफ केही उल्टी हुने ठर्हछ भन्ने समेत कोशी अञ्चल अदालतको ०३५।१२।२९।४ को फैसला ।
१०. सो फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत डिल्लीरामको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत ०३६।९।२० को पूर्वाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको ०३६।९।२० को आदेश ।
११. प्रतिवादी डिल्लीराम मर्ने जसोदा देवीको सगोलको नाती देखिन आएको हुँदा त्यस्ता सगोलका व्यक्तिको अपुतालीमा हक नभई छुट्टिई सकेको छोरा नाताका वादी माधवप्रसादको हक हुन्छ भन्न मिल्ने देखिन आएन । अपुतालीको २ नं.ले जसोदादेवीको अपुतालीमा वादी माधवप्रसाद वस्तीले हक कायम हुने ठहराएको सम्म कोशी अञ्चल अदालतको इन्साफ मिलेको नदेखिँदा सो हद सम्म केही गल्ती हुँदा बदर हुन्छ अरुमा अञ्चल अदालतको इन्साफ मनासिव ठर्हछ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३८।३।२२ को फैसला ।
१२. सो फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादी माधवप्रसादको निवेदन परेकोमा जसोदाको छोरा माधवप्रसाद छँदा छँदै जसोदाको अपुताली खाने निजको नाती डिल्लीरामलाई हकदार तुल्याउँदा अपुतालीको २ नं.को त्रुटि हुन गएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।८।१ को आदेश ।
१३. पुनरावेदक तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विपक्षी तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनु परेको छ ।
१४. यसमा निर्णय तर्फ हेर्दा अपुताली जग्गाको आयस्ता तर्फ अपुतालीमा हक कायम नभई सो अघिको आयस्ता तर्फ समेत गरेको दावी कानूनसंगत नहुँदा आयस्ता भराउन नमिल्ने सट्टापट्टाबाट पाएको भनेको जग्गाको सम्बन्धमा विचार गर्दा रजिष्ट्रेशनको १ नं.ले त्यस्तो सट्टापट्टाको लिखित रजिष्ट्रेशन हुनु पर्नेमा घरायसीको लिखतहरुलाई आधार लिई गरेको दावी पुग्न नसक्ने ठहराएको सम्म सुरुको इन्साफ मनासिव ठर्हछ भनी कोशी अञ्चल अदालतले निर्णय गरेकोमा वादीले त्यस उपर अनुमतिको निवेदन नगरी चित्त बुझाई बसेकोले त्यस तर्फ विचार गर्न परेन । पूर्वाञ्चल क्षेत्रीय अदालतले जसोदा देवीको अपुतालीमा प्रतिवादी डिल्लीरामको हक ठहराए तर्फ हेर्दा वादीले पेश गरेको घरसारको १९९५ साल भाद्र ४ गतेको अंशबण्डाको लिखतबाट मर्ने जसोदा देवीको भाग ज्यूनी छुटाएको देखिन्छ । त्यस पछि निज जसोदा देवी वादी प्रतिवादीमध्ये कोसँग रहेबसेको हो ? त्यसको कुनै लिखत प्रमाण पेश हुन सकेको छैन ।
१५. वादी माधवप्रसादले आमा म सँग २००० सालमा बसेको ७ नं.फाराम भर्दा परिवारमा आमा जसोदा देवी लेखिएको छ काजकृया मैले गरेको छु भन्ने समेत फिरादपत्रमा र प्रतिवादी डिल्लीरामले बजै जसोदा बाबा कृष्णप्रसादसँग र बाबा स्वर्गे भएपछि म सँग बस्नु भएको बजैले शिवप्रसादलाई जग्गा दृष्टिबन्धक दिएको ०११।१२।२१ को लिखतमा सगोलको नाती भनी साक्षी राखेको छ भन्ने उल्लेख गरेको छ । तर स्वर्गीय जसोदा देवी अंश मिलाई वादी वा प्रतिवादीसँग बसेको भए रजिष्ट्रेशनको १ नं.अनुसार रजिष्ट्रेशन पास भएको लिखत हुनु पर्ने सो छ भनी वादी वा प्रतिवादी तर्फबाट भन्न लेख्न वा पेश गर्न सकेको देखिँदैन ।
१६. निवेदकले क.सुर्वण शम्शेर ज.ब.रा.समेत विपक्षी भेषराज्य लक्ष्मी सिंह भएको ०३६ सालको दे.फु.नं. ३५ को बकसपत्र लिखत बदर मुद्दामा अगल भिन्न भएको नित्यकुमारीसँग मानु जोरिएकासगोलमा यी प्रतिवादी सुर्वण शम्शेर रहे भएको भए रजिष्ट्रेशनको १ नं.बमोजिम मानु जोरिएकासगोलमा बसेको लिखत पारित भएको हुनु पर्ने सो भएको देखिँदैन । त्यस्तो लिखत प्रमाणको अभावमा नित्यकुमारीसँग मानु जोरी यी प्रतिवादी सुर्वण शम्शेर एकासगोलमा बसेको भन्न सक्ने अवस्था रहेन भन्ने समेत उल्लेख भई सर्वोच्च अदालत फुलबेञ्चबाट ०३८।८।२६ मा निर्णय भई राखेको समेत देखिन्छ ।
१७. अतः उपरोक्त उल्लेख भए अनुसार अंश मिसाइएका सगोलमा बसेको रजिष्ट्रेशनको १ नं.अनुसार रजिष्ट्रेशन पास भएको लिखत बेगर मर्ने जसोदादेवी वादी वा प्रतिवादीसँग एकासगोलमा बसेको रहेछ भन्न सकिने अवस्था रहेन ।
१८. अपुतालीको २ नं.मा अपुताली पर्दा मर्नेको लोग्ने स्वास्नी छोरा वा छोराको छोरा भए सम्म छोरीले अपुताली पाउँदैन भन्ने समेत उल्लेख भएको पाइन्छ ।
१९. सो कानूनी व्यवस्था अनुसार स्वर्गीय जसोदा देवीको सम्पत्तिको अपुतालीको हकदार पुनरावेदक वादी माधवप्रसाद देखिन आएको हुनाले प्रतिवादीको जिकिर पुग्न सक्दैन । मृतक जसोदा देवीको सम्पत्तिको अपुताली हकदार पुनरावेदक माधवप्रसाद वस्तीलाई ठहराई छिनेको कोशी अञ्चल अदालत धरानको इन्साफ मनासिव ठर्हछ । मर्ने जसोदा देवीको अपुताली हक प्रतिवादीले पाउने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
वादी माधवप्रसाद के कोशी अञ्चल अदालतको फैसला उपर पुनरावेदन गर्दा प्रतिवादी डिल्लीरामले ०३६।९।२२ मा पूर्वाञ्चल क्षेत्रीय अदालत मार्फत धनकुटा जि.अ.मा कोर्टफी रु.७४।–धरौट राखेको देखिएकोले सो धरौट रहेको कोर्टफि भराई पाउँ भनी वादीको ऐनको म्यादभित्र दर्खास्त परे दस्तुर केही नलिई वादीलाई फिर्ता दिनुभनि का.जि.अ.मा लगत दिनु......................१
१.पू.क्षे.अ.का ०३८।३।२२ का फै.ले.प्र.डिल्लीरामले पुनरावेदन गर्दा ०३६।९।२२ मा पू.क्षे.अ.मार्फत धनकुटा जि.अ.मा धरौट राखेको कोर्ट फि रु.७४।–प्र.डिल्लीरामलाई फिर्ता दिने गरेकोमा फिर्ता दिन नपर्ने भएकोले सो फिर्ता दिने गरेको लगत काटी दिनु भनी धनकुटा जि.अ.मा लेख पठाउन का.जि.अ.मा लगत दिनु................................................................२
२.प्र.डिल्लीराम के पू.क्षे.अ.०३६।३।२२ का फै.ले कोर्ट फी रु.१।१० वादीबाट भराउने गरेकोमा सो बमोजिम भरी भराउ गर्न नपर्ने हुँदा सो लगत काटी दिनु भनी ऐ.ऐ............................................................................................३
३.कोशी अं.अ.का ०३५।१२।२९ का फै.ले कोर्ट फी रु.७४।–वादीलाई प्रतिवादीबाट भराउने गरेकोमा माथि लेखिए बमोजिम धरौट रहेकोबाट भरी भराउ हुने हुँदा सो भराउने गरेको लगत काटी दिनु भनी ऐ.ऐ.........................................................४
पुनरावेदक वादी माधवप्रसाद के निजले यस अदालतम पुनरावेदन गर्दा राखेको कोर्ट फी रु.४३।७४ मध्ये रु.११।१० मिति २०३८।८।१५ मा का.जि.अ.मा धरौट रहेको देखिएको हुँदा सो धरौट र रु.३२।६४ मिति ०३८।८।१८ मा का.जि.अ.मा बुझाएको देखिँदा सो कोर्ट फी, मध्ये रु.११।१० धरौट रहेकोबाट फिर्ता पाउँ भन्ने र रु.३२।६४ प्रतिवादीवाट भराई पाउँ भनी वादीको ऐनका म्याद भित्र दर्खास्त परे दस्तुर केही नलिई धरौट रहेको रुपैयाँ फिर्ता र अरु प्रतिवादीबाट भराई दिनु भनी का.जि.अ.मा लगत दिनु...................................................................५
मिसिल नियम बमोजिम बुझाई दिनु..............................................६
न्यायाधीश,
उक्त रायमा म सहमत छु ।
न्यायाधीश,
इतिसम्वत् २०३९ साल जेष्ठ ३ गते रोज २ शुभम् ।