निर्णय नं. १०९०० - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७८।९।२
०७४-CR-११४८
मुद्दाः जबरजस्ती करणी
पुनरावेदक / प्रतिवादी : शन्तबहादुर नेपालीको छोरा धादिङ जिल्ला, त्रिपुरेश्वर गा.वि.स. वडा नं.३ को हाल परिवर्तित त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं.७ घर भई हाल काठमाडौं जिल्ला, बुढानिलकण्ठ न.पा. वडा नं.४ बसोबास भई हाल कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौंमा थुनामा रहेको रेशमबहादुर नेपाली
विरूद्ध
प्रत्यर्थी / वादी : महाराजगञ्ज २० को जाहेरीले नेपाल सरकार
प्रतिवादीले पीडितको शरीरमा कहीँकतै कोतरिएको छैन भनी पीडितसँग करणी भएको भए निजको शरीरमा सङ्घर्षका चिह्न हुनुपर्ने हो भन्नेतर्फ सङ्केत गरेको अवस्थामा पीडित अवोध नाबालिगले प्रतिवादीउपर प्रतिकार गर्न सक्ने अवस्था नै नआउने हुँदा शरीरमा चिथोरिएको कोतरिएको प्रमाणको खोजी गर्नु तर्कसङ्गत नहुने ।
(प्रकरण नं.६)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री ठोकप्रसाद सिवाकोटी, श्री महानन्द दाहाल र श्री प्रकाश खनिया
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री लोकबहादुर कटुवाल
अवलम्बित नजिर :
ने.का.प.२०७५, अङ्क ५, नि.नं.१०००७
ने.का.प.२०६७, अङ्क ९, नि.नं.८४६९
ने.का.प.२०६७, अङ्क ९, नि.नं.८४६६
ने.का.प.२०६५, अङ्क १, नि.नं.७९२३
ने.का.प.२०६३, अङ्क ४, नि.नं.७६८२
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः
मा. जिल्ला न्यायाधीश श्री स्वीकृती पराजुली
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा. न्यायाधीश श्री भानुभक्त शर्मा न्यौपाने
माननीय न्यायाधीश श्री रामप्रसाद अधिकारी
उच्च अदालत पाटन
फैसला
न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
तथ्य खण्ड
मिति २०७३।७।११ गते साँझ अं.१८:३० बजेको समयमा काठमाडौं जिल्ला, बुढानिलकण्ठ न.पा. वडा नं.४ मिलनचोक स्थित मिनी मार्केटमा रेशमबहादुर नेपालीले वर्ष ५ महाराजगञ्ज २१ लाई विभिन्न डर, त्रास, धाक, धम्की दिई जबरजस्ती करणी गरेको हुँदा निज रेशमबहादुर नेपालीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको महाराजगञ्ज २० को जाहेरी दरखास्त ।
महाराजगञ्ज २० को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रेशमबहादुर नेपाली भएको जबरजस्ती करणी मुद्दामा फरार रहेका प्रतिवादीको खोजतलास गर्दै जाने क्रममा मिति २०७३।७।११ गते साँझ १९:०० बजेको समयमा काठमाडौं जिल्ला, बुढानिलकण्ठ न.पा. वडा नं.४ बुढानिलकण्ठ मन्दिरनजिक फेला पारी पक्राउ गरी दाखिला गरेका छौं । निजउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।
काठमाडौं जिल्ला, बुढानिलकण्ठ न.पा. वडा नं.४ मिलनचोक मिनी मार्केटको पूर्व मोहडामा बनेको ३ वटा सटर भएको ट्रस घर रहेको, सोमध्ये उत्तरतर्फको छेउको सटरभित्र प्रवेश गरी हेर्दा कोठाको उत्तर भित्तामा नजिक कपडाहरू रहेको, सोमा कपडासँगै दुई वटा कुर्सी रहेको, कोठाको दक्षिण साइडमा काठको विस्तरासहितको ओछ्यान रहेको, सो ओछ्यानमा रेशमबहादुर नेपालीले सोही ठाउँ बस्ने महाराजगञ्ज २१ लाई जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
मिति २०७३।७।११ गते बेलुका साँझको समयमा मेरो बाबा, आमा, घरबाट भाइ लिएर बाहिर निस्कनु भएको थियो । म आफ्नो कोठाको बाहिर खेलिरहेको थिएँ । सोही क्रममा जम्दार बा (रेशमबहादुर नेपाली) ले मलाई चक्लेट खान पैसा दिन्छु आउ भनेको कारण म जम्दार बा (रेशमबहादुर नेपाली) को कोठामा गएँ । निजको कोठामा अरू कोही मानिस थिएन । निजले मलाई हातमा चक्लेट खाने पैसा दिँदै कोठाको चुकुल बन्द गरी खाटमा मलाई सुताई जम्दार बाको सुसु गर्नेले मेरो पापामा (सुसु) गर्ने ठाउँमा दुखाएको हो । जम्दार बा (रेशमबहादुर नेपाली) ले मलाई पहिला पनि चक्लेट खाने पैसा दिइरहन्थे । पहिला मलाई त्यसो गर्दैनथे । मिति २०७३।७।११ गते साँझ मात्र जम्दार बा (रेशमबहादुर नेपाली) ले मलाई तलको नाना खोली पापा (सुसु गर्ने ठाउँ) मा निजको सुसु गर्नेले दुखाएका हुन् । त्यसपछि म जम्दार बाको डेरा कोठाबाट रूँदै बाहिर निस्केको हो भन्नेसमेत बेहोराको पीडित महाराजगञ्ज २१ को कागज ।
पीडित महाराजगञ्ज २१ को स्वास्थ्य परीक्षण गर्दा निजको शारीरिक तथा मानसिक अवस्था सामान्य देखिन्छ । निजको शरीरमा घाउ चोट पटक कोतरिएको, चिथोरिएको निलडामहरू र सङ्घर्षका चिह्नहरू देखिँदैन । निजको स्वास्थ्य स्थिति सामान्य छ । निजको कन्याजाली च्यातिएको देखिँदैन । निजले लगाएको खरानी रंगको ट्राउजर परीक्षणको लागि पठाइएको, redness present in B/L vaginal wall भन्नेसमेत बेहोराको पीडितको शरीर परीक्षण प्रतिवेदन ।
मिति २०७३।७।११ गते साँझ १८:३० बजेको समयमा काठमाडौं जिल्ला, बुढानिलकण्ठ न.पा. वडा नं.४ मिलनचोक स्थित आफ्नै कोठामा थियौं । जाहेरवाला, पीडित र प्रतिवादीलाई कोठानजिकै बस्ने भएकोले चिनजान छ । उक्त मिति र समयमा उक्त स्थानमा रहेको मिनी मार्केटको सटरभित्र रेशमबहादुर नेपालीले वर्ष ५ की परिवर्तित नाम महाराजगञ्ज २१ लाई विभिन्न डर, त्रास धाकधम्की दिई जबरजस्ती करणी गरेको भनी ऐ.१२ गते बिहान सुनी थाहा पाएको हौं । निज प्रतिवादीले गरेको कसुरबमोजिम कारबाही हुनुपर्दछ भन्नेसमेत एकै बेहोराको आस्मा खातुन, रश्मी तिमल्सीना, इमरान खानको वस्तुस्थिति मुचुल्का ।
मिति २०७३।७।११ गते साँझ १८:३० बजेको समयमा म काठमाडौं जिल्ला, बुढानिलकण्ठ न.पा. वडा नं.४ मिलनचोक स्थित आफ्नै कोठामा थिएँ । जाहेरवाला पीडित र प्रतिवादीलाई कोठा नजिकै बस्ने भएकोले चिनजान छ । उक्त मिति र समयमा उक्त स्थानमा रहेको मिनी मार्केटको सटर छेउमा मेरो छोरा र पीडित महाराजगञ्ज २१ लाई खेल्न गएको अवस्थामा मैले मेरो छोरालाई बोलाई कोठामा ल्याएँ भने प्रतिवादी रेशमबहादुर नेपालीको पसलमा बसिरहेका थिए । वर्ष ५ की परिवर्तित नाम महाराजगञ्ज २१ सोही स्थानमा खेल्दै गरेकी थिइन् । पछि निज पीडितलाई प्रतिवादी रेशमबहादुर नेपालीले जबरजस्ती करणी गरेको भनी सुनी थाहा पाएको हुँ । निज प्रतिवादीले गरेको कसुरबमोजिम कारबाही हुनुपर्दछ भन्नेसमेत बेहोराको सीतापरि भुजेल र अम्बिका महतको कागज ।
मैले नेपाली सेनामा वि.सं.२०२६ सालमा सेवा प्रवेश गरी वि.सं.२०५३ सालमा सो सेवाबाट निवृत्त भई केही रोजगारी गरौं भनी काठमाडौं जिल्ला, बुढानिलकण्ठ न.पा. वडा नं.४ मिलनचोक स्थित मिनी मार्केटमा डेरा भाडा लिई टेलरिङका सामानहरू पाइने पसल सञ्चालन गरी आएकोमा सोही नजिकै जाहेरवालासमेत विगत ४/५ महिनादेखि सम्पूर्ण परिवार बसोबास गर्न आएकोमा निजहरूसँग सामान्य चिनजान भएको थियो । निज जाहेरवालाको श्रीमतीले सो मिनी मार्केटमा सरसफाइ गर्ने कार्य गर्थिन् । यही क्रममा पीडित महाराजगञ्ज २१ समेत सो स्थानमा आउँदा मेरो कोठामा समेत आइजाई गर्ने गर्दा मलाई “जम्दार बा” भनी सम्बोधन गर्ने गर्दा मैलेसमेत सानो नानीदेखि माया गरी कहिलेकाहीँ चकलेट तथा चुइगम खान भनी पैसा दिने गर्दथेँ । निज पीडित मसँग आउने, झ्याम्मिने गर्ने र निजले बढारकुँढार गर्दा लगाएको कट्टु केही झरेको बेलामा लगाइदिने गर्थें । यही क्रममा मिति २०७३।०७।११ गते साँझको अं.१७:०० बजेको समयमा म आफ्नै पसलमा बसिरहेको अवस्थामा निज पीडित महाराजगञ्ज २१ कुचो लिई आई मेरो पसलअगाडि बढारकुँढार गरी अन्तमा निजले मसँग चकलेट खान भनी पैसा मागेको कारणले मैले निजलाई रू.५ दिई पठाएको हो । सो दिन मैले निजलाई विभिन्न प्रलोभन देखाई, ललाइफकाइ गरी, आफ्नो आवास कोठाभित्र लगी करणी गरेको थिइनँ । सोही दिन साँझको अं.१९:०० बजेको समयमा म काठमाडौं जिल्ला, बुढानिलकण्ठ मन्दिरनजिक बसिरहेको अवस्थामा मेरो पसलनजिकै दुर्गा टेलर्स सञ्चालन गरी बस्ने अं.३५/४० वर्षकी दुर्गा परियार र मैले नचिनेका अन्य ३/४ जना महिलाहरू आई एक्कासि मलाई सानो नानी पीडित महाराजगञ्ज २१ लाई करणी गर्ने यही हो भनी जबरजस्ती कुटपिट गरेको अवस्थामा सोही स्थानमा प्रहरीहरू आई मलाई पक्राउ गरी ल्याएको हो भन्नेसमेत बेहोराको प्रतिवादी रेशमबहादुर नेपालीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
सानैदेखि म परिवारसँग काठमाडौं जिल्ला, बुढानिलकण्ठ न.पा. वडा नं.४ मिलनचोकमा बस्दै सोही स्थानमा रहेको शुभ मिनी मार्केटमा दुर्गा टेलर्स सञ्चालन गर्दै आएको छु । मिति २०७३।७।११ गते साँझ अं. १८:३० बजेको समयमा म काठमाडौं जिल्ला, चपलीस्थित घरको सामानहरू किनमेल गर्न गएको थिएँ । जाहेरवाला, पीडित तथा प्रतिवादी रेशम परियार एउटै मिनी मार्केटमा पसल सञ्चालन गरी बस्ने भएको हुँदा चिनजान छ । रिसइवी केही छैन । उक्त मिति र समयमा सो मिनी मार्केटभित्र रहेको प्रतिवादी रेशमबहादुर नेपालीको पसलभित्र निज प्रतिवादीले पीडित परिवर्तित नाम महाराजगञ्ज २१ लाई जबरजस्ती करणी गरेको भनी साँझ अं.१९:०० बजेतिर स्थानीयबासीहरू तथा जाहेरवालालाई पीडित महाराजगञ्ज २१ बताउँदा मसमेतले सुनी थाहा पाई हामी निज रेशम परियारको खोजतलास गर्दै जाँदा काठमाडौं जिल्ला, बुढानिलकण्ठ न.पा.स्थित बुढानिलकण्ठ मन्दिरनजिक बसिरहेको अवस्थामा फेला पारी स्थानीय मानिसहरूले निजलाई कुटपिट गरेकाले कुटपिट गर्नु हुँदैन भनी कराएको हुँ । मैले निजलाई कुटपिट गरेको छैन । निज प्रतिवादीले पीडित महाराजगञ्ज २१ लाई डर, त्रास, धाकधम्की देखाई जबरजस्ती करणी गरेको भन्ने सुनी थाहा पाएको हो भन्नेसमेत बेहोराको दुर्गा परियारको कागज ।
प्रतिवादी रेशमबहादुर नेपालीले पीडित वर्ष ५ की महाराजगञ्ज २१ लाई मिति २०७३।७।११ गते साँझ अं.१८:३० बजेको समयमा काठमाडौं जिल्ला, बुढानिलकण्ठ न.पा. वडा नं.४ मिलनचोक स्थित मिनी मार्केटको आफ्नै सटरभित्र रेशमबहादुर नेपालीले वर्ष ५ की परिवर्तित नाम महाराजगञ्ज २१ लाई विभिन्न डर, त्रास देखाई जबरजस्ती करणी गरेको देखिन आएको हुँदा निज प्रतिवादी रेशमबहादुर नेपालीको उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ न. परिभाषित ३ (१) नं.बमोजिमको कसुरजन्य अपराध गरेकोले निज प्रतिवादीलाई सोही ऐ.को ३(१) नं.बमोजिम सजाय हुन र मुलुकी ऐन, जबरजस्ती करणीको १० नं. बमोजिम पीडितलाई मनासिब क्षतिपूर्तिसमेत दिलाई भराइदिन हुन मागदाबी लिई पेस भएको अभियोगपत्र ।
मैले जबरजस्ती करणी गरेको भन्ने अभियोग दाबी झुट्ठा हो । मैले कसुर गरेको छैन । मलाई कुनै सजाय हुनुपर्ने होइन र क्षतिपूर्तिसमेत भराइदिनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी रेशमबहादुर नेपालीले सुरू अदालतमा गरेको बयान ।
रेशम भन्ने जम्दार बाले मलाई सुसु हालेका हुन् । निजको आफ्नै कोठामा लगेर सुसु हालेका हुन् भन्नेसमेत बेहोराको पीडित महाराजगञ्ज १२ ले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले महाराजगञ्ज २१ की बालिकालाई बलात्कार गरेको भन्ने आरोप झुट्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादीको साक्षी सोदेवी परियारले तथा प्रतिवादीलाई टोलबासीले निकाल्न खोजेका थिए । त्यही भएर झुट्ठा आरोप लगाएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी टेकबहादुर परियारले सुरू अदालतमा गरेको बकपत्र ।
जाहेरी दरखास्तसमेतको बारेमा मलाई केही थाहा छैन भन्नेसमेत बेहोराको जाहेरवाला महाराजगञ्ज २० ले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको पुष्टि हुन आएकोले प्रतिवादी रेशमबहादुर नेपालीलाई जबरजस्ती करणीको महलको ३(१) नं. अनुसार १० (दश) वर्ष कैद सजाय हुने र ऐ.१० नं. अनुसार पीडित महाराजगञ्ज २१ ले प्रतिवादी रेशमबहादुर नेपालीबाट रू.१,५०,०००।- (एक लाख पचास हजार रूपैयाँ) क्षतिपूर्ति भराइपाउने ठहर्छ भन्नेसमेत बेहोराको काठमाडौं जिल्ला अदालतबाट मिति २०७४।३।१ मा भएको फैसला ।
मैले पीडित महाराजगञ्ज २० लाई जबरजस्ती करणी नगरेको, जाहेरी दरखास्त, मौकाको कागज र घटनास्थल प्रकृति मुचुल्काबाट वारदातस्थल यकिन नभई एकआपसमा बाझिएको जाहेरवाला र पीडित स्वयंले अदालतसमक्ष आई बकपत्र गर्दा मबाट जबरजस्ती करणी गरेको भनी भन्न उल्लेख गर्न नसकेको, पीडित स्वयंले आफू नरोएको, नकराएको, नदुखेको र मबाट पीडितलाई गाली गर्ने कार्य नगरेको, पीडितको शरीर र यौनाङ्गमा घाउ चोटपटक, घर्षणको चिह्न नभएको, योनि नसुन्निएको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट नदेखिएको, मौकामा कागज गर्ने व्यक्तिसमेतले आफूले घटनाको बारेमा सुनेर जानकारी पाएको भनी उल्लेख गरेको तर कोबाट सुनेर जानकारी पाएको हो भनी उल्लेख गर्नसमेत नसकेको अवस्थामा म निर्दोष पुनरावेदकलाई विनाआधार, प्रमाण, जबरजस्ती करणीजस्तो गम्भीर फौजदारी मुद्दामा कसुरदार ठहर गरी सम्मानित काठमाडौं जिल्ला अदालतबाट मिति २०७४।३।१ गते मलाई १० वर्ष कैद ठहर हुने गरी र पीडितलाई क्षतिपूर्तिबापत रू.१,५०,०००।– (अक्षरेपी एक लाख पचास हजार रूपैयाँ) क्षतिपूर्ति दिलाइदिने भनी फैसला भएको हुँदा उक्त फैसला उल्टाई बदर गरी मेरो पुनरावेदन जिकिरबमोजिम हुने गर्ने गरी मलाई अभियोग मागदाबीबाट अलग फुर्सद गरी न्याय पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी रेशमबहादुर नेपालीको पुनरावेदनपत्र ।
प्रतिवादी कसुरमा इन्कार रहेको, प्रतिवादीले आफूलाई ३/४ जना महिलाहरूले कुटपिट गरेको भन्ने उल्लेख गरी मौकामा बयान गरेकोमा प्रतिवादीको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट प्रतिवादीको शरीरमा चोटपटक देखिएको परिप्रेक्ष्यमा सुरू अदालतबाट दाबीको कसुर ठहर गर्ने गरी भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा विचारणीय भई फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ प्रतिवादीको पुनरावेदन पत्रको प्रतिलिपिसहितको जानकारी उच्च सरकारी वकिल कार्यालय, पाटनलाई गराई नियमानुसार पेस गर्नुहोला भन्नेसमेत बेहोराको उच्च अदालत पाटनको मिति २०७४।५।१९ को आदेश ।
पीडितको मौकाको कागज तथा बकपत्र र पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन आदि प्रमाण कागजातहरूबाट पुनरावेदक प्रतिवादीले आरोपित कसुर मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ३(१) नं. बमोजिमको कसुर गरेको प्रमाणित हुन आएको हुँदा प्रतिवादी रेशमबहादुर नेपालीलाई जबरजस्ती करणीको महलको ३(१) नं. अनुसार १०(दश) वर्ष कैद सजाय हुने र ऐ.१० नं. अनुसार पीडित महाराजगञ्ज २१ ले प्रतिवादी रेशमबहादुर नेपालीबाट रू.१,५०,०००।- (एक लाख पचास हजार रूपैयाँ) क्षतिपूर्ति भरिपाउने ठहर गरी भएको सुरू जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत पाटनबाट मिति २०७४।७।२८ मा भएको फैसला ।
उच्च अदालत पाटनबाट मिति २०७४।७।२८ मा फैसला हुँदा बालिकाको यौनाङ्गमा लिङ्गले छुनु, रगड्ने वा आंशिकरूपमा प्रवेश गरेको रहेछ भने पनि जबरजस्ती करणी ठहर हुने जस्ता अप्रसाङ्गिक नजिरहरू उल्लेख गरिएको छ । तर प्रस्तुत मुद्दामा वारदात नै यकिन हुन सकेको छैन भने ५ वर्षकी बालिकालाई लिङ्गले छुने, रगड्ने, आंशिकरूपमा लिङ्ग प्रवेश गर्ने भन्ने तथ्य नै हुँदैन । यदि ती बच्चीलाई उल्लिखित कार्य गरेको भए रगडिँदा वा आंशिक लिङ्ग प्रवेश गर्दा योनिभित्र वा बाहिर रगडिने, कोतरिनेसमेतको कार्य हुने थियो । सो कहीँकतै देखिँदैन भने उल्लिखित कार्य गर्दा दुख्ने, पोल्ने, सुन्निनेसमेतका कार्य स्वतः हुने अवस्थामा पीडित स्वयंले आफूलाई नदुखेको, नरोएको भनेबाट करणी हुने, गर्ने कार्य र रगड्ने कार्य नै हुँदैन । साथै, स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको सबै अवस्था सामान्य छ भनिएको छ । यसरी कुन तथ्यले म पुनरावेदक प्रतिवादीले पीडितलाई करणी गरेँ ? सो पनि कहीँकतैबाट खुल्दैन । वारदातस्थल भनिएको ठाउँमा ढोकाको चुकुल लगाएको भनिएको छ । तर घटनास्थल प्रकृति मुचुल्काले दाबी लिएको कोठामा ढोका नरहेको र चुकुलसमेत लगाउने स्थिति नरहेको स्पष्ट छ । उक्त मुचुल्कामा सटर कोठाको उल्लेख छ । पीडित र जाहेरवालाको भनाइ र जाहेरीले वारदात नै यकिन छैन । स्वास्थ्य परीक्षण प्रतिवेदनले बच्चाको मानसिक अवस्था ठिक रहेको (Mentally Alert), शरीरमा चोटपटक र घर्षणको चिह्नहरू नभएको र मौकामा कागज गर्ने अम्बिका महतसमेतका व्यक्तिहरूले सुनी थाहा पाएको भने तापनि कोबाट सुनी थाहा पाएको हो यकिन भन्न नसकेको, परीक्षणमा Semen समेतका कुनै वस्तु नरहेको, सबै अवस्था नर्मल रहेको देखिएको अवस्थामा कुनै तथ्ययुक्त प्रमाणद्वारा मैले पीडितलाई करणी गरेको पुष्टि नभएको अवस्थामा जाहेरवालाले अन्यथा भने भनी भन्नु फैसला गर्नु आफैँमा त्रुटिपूर्ण फैसला हो । के कुन प्रमाणद्वारा म पुनरावेदकले पीडितलाई करणी गरेको पुष्टि हुन्छ ? फैसला स्पष्ट छैन । स्वास्थ्य परीक्षण प्रतिवेदनमा redness present in B/L vaginal wall भनी उल्लेख भएको भए तापनि redness कै कारण जबरजस्ती करणी पुष्टि हुँदैन । सोको लागि यौनाङ्ग सुन्निने, घर्षण भई ददारिनेसमेतको अवस्था देखिएको हुनुपर्दछ । यौनाङ्गमा uncleanness र dirty भएमा redness हुने तथ्य रेडी र मोदीले आफ्नो मेडिकल जुरिस्पुडेन्समा उल्लेख गरेबाट पनि केवल redness कै आधारमा अन्य सम्बद्ध तथ्यबाट करणी गरेको पुष्टि नभएको अवस्थामा जबरजस्ती करणी नहुने स्पष्ट छ । मैले जबरजस्ती करणी गरेको भन्ने मिसिल संलग्न कुनै प्रमाणद्वारा पुष्टि नभएको अवस्थामा आकर्षित हुनै नसक्ने नजिर लगाई र मिसिल संलग्न तथ्यभन्दा बाहिर गई भए गरिएको फैसला आफैँमा एकाङ्गी, आत्मनिष्ठ र काल्पनिक फैसला भए गरिएको छ । अतः मैले पीडित महाराजगञ्ज २१ लाई जबरजस्ती करणी नगरेको, जाहेरी दरखास्त, मौकाको कागज र घटनास्थल प्रकृति मुचुल्काबाट वारदातस्थल यकिन नभई एकापसमा बाझिएको, जाहेरवाला र पीडित स्वयंले अदालतसमक्ष आई बकपत्र गर्दा मबाट जबरजस्ती करणी गरेको भनी भन्न उल्लेख गर्न नसकेको, पीडित स्वयंले आफू नरोएको, नकराएको, नदुखेको र मबाट पीडितलाई गाली गर्ने कार्य नगरेको, पीडितको शरीर र यौनाङ्गमा घाउ, चोटपटक, घर्षणको चिह्न नभएको, योनि नसुन्निएको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट नदेखिएको, स्वास्थ्य परीक्षण प्रतिवेदन पेस गर्ने विशेषज्ञ अदालतमा आई बकपत्र नगरेको, मौकामा कागज गर्ने व्यक्तिसमेतले आफूले घटनाको बारेमा सुनेर जानकारी पाएको भनी उल्लेख गरेको तर कोबाट सुनेर जानकारी पाएको हो भनी उल्लेख गर्नसमेत नसकेको अवस्थामा म निर्दोष पुनरावेदकलाई बिनाआधार, प्रमाण, जबरजस्ती करणीजस्तो गम्भीर फौजदारी मुद्दामा कसुरदार ठहर गरी काठमाडौं जिल्ला अदालतबाट मिति २०७४।३।१ गते मलाई १० वर्ष कैद ठहर हुने गरी र पीडितलाई क्षतिपूर्तिबापत रू.१,५०,०००।– (अक्षरेपी एक लाख पचास हजार रूपैयाँ) क्षतिपूर्ति दिलाइदिने भनी भएको फैसलालाई सदर कायम गर्ने गरी उच्च अदालत पाटनबाट मिति २०७४।७।२८ गते भएको फैसलाले वास्तविक प्रमाण नै नबुझी वास्तविक मिसिल संलग्न प्रमाणभन्दा बाहिर गई कानून र न्याय प्रतिकूलको फैसला भएको हुँदा उक्त फैसलाहरू उल्टाई बदर गरी मेरो पुनरावेदन जिकिरबमोजिम हुने गर्ने गरी मलाई अभियोग मागदाबीबाट अलग फुर्सत गरी न्याय पाउँ भन्नेसमेत बेहोराको पुनरावेदनपत्र ।
यसमा पीडिता वर्ष ५ उमेरकी नाबालिका भएकी भन्ने देखिन्छ । निजको स्वास्थ्य परीक्षण हुँदा hymen intact भन्ने उल्लेख छ । पुनरावेदक प्रतिवादीको उमेर वारदात हुँदा ६६ वर्षको भन्ने देखिन आएको र अधिकारप्राप्त अधिकारी र अदालतमा समेत दाबीको कसुरमा इन्कारी भई बयान गरेकोसमेतमा उक्त प्रमाणहरूको मूल्याङ्कनको रोहबाट प्रतिवादीलाई कसुरदार ठहर गरेको उच्च अदालत पाटनको फैसला विचारणीय देखिँदा साबिक मुलुकी ऐन, अ.बं. २०२ नं. तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ६७ बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७५।१२।१९ को आदेश ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनपत्रसहितको सुरू मिसिल कागजात अध्ययन गरी पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ताहरू श्री ठोकप्रसाद सिवाकोटी, श्री महानन्द दाहाल र श्री प्रकाश खनियाले पीडितको स्वास्थ्य परीक्षण रिपोर्टबाट पीडितको शरीर र यौनाङ्गमा घाउ, चोटपटक, घर्षणको चिह्न नभएको, योनि नसुन्निएको भन्ने बेहोरा उल्लेख भएबाट निज पीडितमाथि जबरजस्ती करणीको कार्य भएको भन्ने कुरा स्वास्थ्य परीक्षण प्रतिवेदनबाट नखुलेको र स्वास्थ्य परीक्षण प्रतिवेदन पेस गर्ने विशेषज्ञ अदालतमा आई बकपत्र नगरेको, साथै प्रतिवादीले अदालतसमक्ष कसुरमा पूर्णरूपमा इन्कार रही बयान गरेको अवस्थामा प्रतिवादीलाई १० वर्ष कैद र निज प्रतिवादीबाटै पीडितलाई रू.१,५०,०००।- (एक लाख पचास हजार) क्षतिपूर्ति दिलाई भराइदिने ठहर्याई सुरू काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनबाट भएको त्रुटिपूर्ण फैसला उल्टी गरी प्रतिवादी रेशमबहादुर नेपालीले अभियोग दाबीबाट सफाइ पाउनुपर्ने भनी तथा वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान् उपन्यायाधिवक्ता श्री लोकबहादुर कटुवालले पीडितको बुबाको जाहेरी दरखास्त र सो जाहेरीलाई समर्थन हुने गरी पीडितले जम्दार बाले हातमा चक्लेट खाने पैसा दिँदै ढोकाको चुकुल बन्द गरी खाटमा सुताई जम्दार बाको सुसु गर्नेले मेरो सुसु गर्ने ठाउँमा दुखाएको भनी कागज गरेको र सो मौकाको कागजलाई समर्थन हुने गरी पीडितले अदालतमा बकपत्रसमेत गरेको, साथै पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा redness present in B/L vaginal wall भनी उल्लेख भएको आधारमा पुनरावेदक प्रतिवादीले आरोपित कसुर गरेको प्रमाणित हुन आएको हुँदा प्रतिवादी रेशमबहादुर नेपालीलाई जबरजस्ती करणीको महलको ३(१) नं. अनुसार १०(दश) वर्ष कैद सजाय हुने र ऐ. १० नं.अनुसार पीडित महाराजगञ्ज २१ ले प्रतिवादी रेशमबहादुर नेपालीबाट रू.१,५०,०००।- (एक लाख पचास हजार रूपैयाँ) क्षतिपूर्ति भरिपाउने ठहर गरी भएको सुरू जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी भएको उच्च अदालत पाटनको फैसला मिलेकै हुँदा सो फैसलालाई सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
उपर्युक्त बहस जिकिरसमेत सुनी मिसिल संलग्न कागजातहरू अध्ययन गरी हेर्दा, अब प्रस्तुत मुद्दामा उच्च अदालत पाटनबाट मिति २०७४।०७।२८ मा भएको फैसला मिलेको छ वा छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी रेशमबहादुर नेपालीले पीडित वर्ष ५ की महाराजगञ्ज २१ लाई मिति २०७३।७।११ गते साँझ अं.१८:३० बजेको समयमा काठमाडौं जिल्ला, बुढानिलकण्ठ न.पा. वडा नं.४ मिलनचोकस्थित मिनी मार्केटको आफ्नै सटरभित्र रेशमबहादुर नेपालीले वर्ष ५ की परिवर्तित नाम महाराजगञ्ज २१ लाई विभिन्न डर, त्रास देखाई जबरजस्ती करणी गरेको देखिन आएको हुँदा निज प्रतिवादी रेशमबहादुर नेपालीको उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. परिभाषित ३(१) नं.बमोजिमको कसुरजन्य अपराध गरेकोले निज प्रतिवादीलाई सोही ऐ.को ३(१) नं.बमोजिम सजाय हुन र मुलुकी ऐन, जबरजस्ती करणीको १० नं. बमोजिम प्रतिवादीबाट निज पीडितलाई मनासिब क्षतिपूर्ति दिलाई भराइपाउँ भन्ने बेहोराको अभियोगपत्र दायर भएकोमा निज प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको पुष्टि हुन आएकोले प्रतिवादी रेशमबहादुर नेपालीलाई जबरजस्ती करणीको महलको ३(१) नं. अनुसार १०(दश) वर्ष कैद सजाय हुने र ऐ.१० नं. अनुसार पीडित महाराजगञ्ज २१ ले प्रतिवादी रेशमबहादुर नेपालीबाट रू.१,५०,०००।- (एक लाख पचास हजार रूपैयाँ) क्षतिपूर्ति भराइपाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७४।३।१ को फैसला सदर गरेको उच्च अदालत पाटनको मिति २०७४।०७।२८ को फैसलामा चित्त नबुझाई प्रतिवादी रेशमबहादुर नेपालीको तर्फबाट यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।
३. अब यस परिप्रेक्ष्यमा मिति २०७३।७।११ गते साँझ अं.१८:३० बजेको समयमा काठमाडौं जिल्ला, बुढानिलकण्ठ न.पा. वडा नं.४ मिलनचोकस्थित मिनी मार्केटमा रमेशबहादुर नेपालीले वर्ष ५ की महाराजगञ्ज २१ लाई जबरजस्ती करणी गरेको हुँदा निज रेशमबहादुर नेपालीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्तबाट उठान भएको प्रस्तुत मुद्दामा सो जाहेरी दरखास्तलाई पुष्टि गर्ने गरी निज पीडितले जम्दार बाले हातमा चक्लेट खाने पैसा दिँदै ढोकाको चुकुल बन्द गरी खाटमा सुताई जम्दार बाको सुसु गर्नेले मेरो सुसु गर्ने ठाउँमा दुखाएको भनी कागज गरेको र सो मौकाको कागजलाई समर्थन हुने गरी पीडितले अदालतमा बकपत्रसमेत गरेको, साथै पीडितको मौकाको कागज र अदालतमा गरेको बकपत्रको बेहोरालाई समर्थन र पुष्टि हुने गरी पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा redness present in B/L vaginal wall भनी उल्लेख भएको आधारमा तथा पीडितको vaginal wall मा redness अन्य कुनै कारणबाट भएको हो भन्ने आधार नदेखिएकोले पीडितमाथि जबरजस्ती करणी भएको भन्ने कुरामा विवाद रहेन ।
४. पुनरावेदक प्रतिवादीले इन्कारी बयान गरेको अवस्थामा केवल पीडितको बकपत्र र जाहेरी दरखास्तलाई मात्र आधार लिई कसुरदार ठहर गरेको नमिलेको भनी पुनरावेदन जिकिर लिएकोतर्फ हेर्दा, जबरजस्ती करणीको वारदात कसुर पुष्टि हुन प्रमाणको कडी भनेकै मूलतः पीडितको कथन र शारीरिक परीक्षण हो । पीडितले गरेको मौकाको कागज अदालतमा बकपत्रबाट समर्थन भएको र सो बेहोरा अन्य प्रमाण कागजातहरूबाट समर्थित हुन आएको अवस्थामा प्रमाणको रूपमा ग्रहणयोग्य र विश्वसनीय नै देखिन्छ । पुनरावेदक प्रतिवादीले पीडितको बकपत्रमा स्पष्टरूपमा आफूले लिङ्ग प्रवेश गराएको भनी उल्लेख नभएको केवल सुसु मात्र हालेको भनी बकपत्र गरेको हुँदा आफूले लिङ्ग प्रवेश गराएको भन्ने बकपत्र देखिँदैन भनी पुनरावेदन जिकिर र प्रतिवादीको तर्फबाट उपस्थित अधिवक्ताहरूले बहस जिकिर लिएको सम्बन्धमा, सो बकपत्र हेर्दा स.ज. ६ मा “तपाइँलाई रेशम भन्ने जम्दार बाले के गर्नुभएको हो ? प्रश्नमा पीडितले ज.६ मा “रेशम भन्ने जम्दार बाले मलाई सुसु हालेका हुन्’ भनी उल्लेख गरेको पाइन्छ । यी पीडिता ५ वर्षकी नाबालिग रहेको देखिन्छ । ५ वर्षकी नाबालिगले आफूले बुझ्ने र प्रयोग गर्ने भाषा नै प्रयोग गरी वर्णन गर्ने हुन्छ । पीडित नाबालिगले मौकाको कागजमा पनि सोही भाषा उल्लेख गरेको र आफूले प्रयोग गर्ने भाषाअनुसार नै बकपत्रमा उल्लेख गरिएको पाइन्छ ।
५. प्रस्तुत मुद्दामा पीडित नाबालिग रहेको र निजको झुटो आरोप लगाउनुपर्ने कुनै स्वार्थ नदेखिएको, साथै पीडित नाबालिगको उमेर हेर्दा आफूउपर भएको घटना निजले मनगढन्ते कहानी बनाएर बनावटी कुरा भन्न सक्ने अवस्थामा निज पीडित नभएको र आफूउपर भएको घटनाको विस्तृतरूपमा सिलसिलेवार ढङ्गबाट उल्लेख गर्ने सन्दर्भमा पीडितले आफूउपर भएको उक्त घटनाबारे आफ्नो बुबालाई बताउनुका साथै अनुसन्धानका क्रममा कागज गर्दा र अदालतमा बकपत्र गर्दासमेत सम्पूर्ण बेहोरा उल्लेख गरेको अवस्थामा पीडित नाबालिगले आफूउपर भएको कसुरको बारेमा सम्पूर्ण बेहोरा खोली उल्लेख गरेको बकपत्रको बेहोरालाई प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) तथा दफा १८ ले प्रमाणमा लिन मिल्ने नै देखिन्छ । अवोध नाबालिगले आफूउपर घटेको घटनाको सम्बन्धमा अदालतमा समेत गरेको बकपत्रलाई प्रमाणमा ग्रहण गर्नुपर्दछ भन्ने सम्बन्धमा यस अदालतबाट "सात वर्षकी कुनै पनि नाबालिकाले जबरजस्ती करणी जस्तो गम्भीर आपराधिक कार्यका बारेमा पर्याप्त मात्रामा बुझिसकेको नहुनुका साथै त्यस्तो विषयका बारेमा बनावटी रूपबाट विविध कुरा भन्न सक्ने क्षमता र चेतनासमेतको विकास निज जस्तो बालिकामा भइसकेको
हुँदैन । यस्तो अवस्थाका अवोध बालिकाले अदालतमा समेत उपस्थित भई गरेको उल्लिखित बेहोराको बकपत्रबाट पीडितउपर नै सो आपराधिक कार्य भएको रहेछ भनेर अन्यथा प्रमाणित भएमा बाहेक विश्वास गर्नुपर्ने" भनी दिपक रावल विरूद्ध कमलादेवी खत्रीको जाहेरीले नेपाल सरकार, (ने.का.प.२०७५, अङ्क ५, नि.नं. १०००७) को मुद्दामा सिद्धान्तसमेत प्रतिपादन भएको देखिन्छ ।
६. प्रतिवादीले पीडितको कन्याजाली नच्यातिएको, घाउ चोटपटक नभेटिएको, चिथोरिएको निलडामहरू र सङ्घर्षका चिह्नहरू नरहेको र निजको स्वास्थ्य स्थिति सामान्य रहेको भन्ने स्वास्थ्य परीक्षण प्रतिवेदनमा उल्लेख भएबाट आफूले पीडितलाई करणी नगरेको भन्ने लिएको पुनरावेदन जिकिरका सम्बन्धमा हेर्दा, जबरजस्ती करणीको अपराधमा पीडितको कन्याजाली च्यातिएकै हुनुपर्ने, लिङ्ग योनिमा प्रवेश गर्नुपर्ने, योनिबाट रगत बगेको हुनुपर्ने जस्ता मान्यता तथा दृष्टिकोणमा परिवर्तन भइसकेको र यस सम्बन्धमा यस अदालतबाट विभिन्न नजिर सिद्धान्तहरू प्रतिपादन भइसकेको अवस्था छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन हेर्दा निजको मानसिक तथा शारीरिक अवस्था ठिक रहेको, कन्याजाली नच्यातिएको र शरीरमा कोतरिएको चिथोरिएको घाउ चोट नदेखिएको भनी लेखिएको भए तापनि पीडितको योनि वरिपरि रातो अर्थात् redness present in B/L vaginal wall भनी सोही प्रतिवेदनमा उल्लेख रहेको बेहोराबाट निजउपर करणीको वारदात हुन गएको स्पष्ट देखिन्छ । साथै, निज पीडितको शरीरमा कुनै घाउचोट नहुनु र कन्याजाली नच्यातिएकै आधारमा जबरजस्ती करणीको कसुर नहुने भन्ने जबरजस्ती करणीको १ नं. बमोजिम मिल्ने देखिँदैन । मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. को स्पष्टीकरण (ग) मा "योनिमा लिङ्ग केही मात्र प्रवेश भएको रहेछ भने पनि यस नम्बरको प्रयोजनको लागि करणी गरेको मानिने छ" भन्ने प्रावधान रहेको र पीडितको योनिमा रातोपना देखिएकोबाट यी प्रतिवादी रेशमबहादुर नेपालीले पीडितलाई जबरजस्ती करणी गरेको स्थापित हुने देखिन्छ । जबरजस्ती करणीको कसुर स्थापित हुनको लागि योनिभित्र लिङ्गको पूर्ण प्रवेश नभए पनि लिङ्ग र योनिबिच सामान्य घर्षण पर्याप्त हुन्छ भन्ने सम्बन्धमा यस अदालतबाट "लिङ्ग र योनिबिच सामान्य घर्षण पर्याप्त हुने, घटनासँग सम्बद्ध अन्य तथ्यहरूबाट जबरजस्ती करणीको आपराधिक कार्य गरेको कुरा पुष्टि हुन आएको अवस्थामा योनिभित्र लिङ्गको पूर्ण प्रवेश नभएको, कन्याजाली नच्यातिएको, वीर्य स्खलित नभएको भन्ने आधारमा अभियुक्तलाई आरोपित कसुरबाट मुक्त गर्न नमिल्ने" भनी भीमबहादुर पोखरेल विरूद्ध लेखबहादुर थापाको जाहेरीले श्री ५ को सरकार, (ने.का.प.२०६३, अङ्क ४, नि.नं. ७६८२) को मुद्दामा सिद्धान्त प्रतिपादन भएको देखिन्छ । साथै, यस अदालतबाट यस्तै सन्दर्भमा अर्जुनबहादुर पाण्डे विरूद्ध वेदबहादुर अधिकारीको जाहेरीले श्री ५ को सरकार (ने.का.प.२०६५, अङ्क १, निर्णय नं.७९२३) को जबरजस्ती करणी मुद्दामा “प्रतिवादीको लिङ्गको पूर्ण प्रवेश (complete penetration) र emission of semen नभएको अवस्थामा यसैलाई आधार बनाएर यसैको अभावमा प्रतिवादीले पीडितउपर करणी नगरेको...भनी ठहर गर्नु न्यायसङ्गत नदेखिने । जबरजस्ती करणी हुनको निम्ति स्त्रीको योनिभित्र पुरूष जनेन्द्रीय पूर्णरूपमा प्रवेश भएकै हुनुपर्ने, स्त्रीको कन्याजाली (hymen) च्यातिएको वा फाटेकै हुनुपर्ने वा पुरूष वीर्य योनिमा स्खलन भई योनिको वरिपरि वीर्य वा सोको दाग लागेकै हुनुपर्ने अनिवार्यतासमेत नरहेको अवस्थामा वीर्य स्खलनसहित वा रहित योनिको बाह्य भागभित्र आंशिक लिङ्ग प्रवेश गराउनु मात्र पनि कानूनी प्रयोजनको निम्ति जबरजस्ती करणीको कसुर हुन पर्याप्त हुने” भनी सिद्धान्तसमेत प्रतिपादन भइरहेको देखिन्छ । साथै, नेपाल सरकार विरूद्ध मुवारक मिल मुसलमान (ने.का.प. २०६७, निर्णय नं. ८४६६ अङ्क ९, पृष्ठ १५८८) को जबरजस्ती करणी मुद्दामा “जबरजस्ती करणीको अपराधमा पीडितको शारीरिक, मानसिक र मनोवैज्ञानिक जुन क्षति हुन्छ, त्यो अपूरणीय हुन्छ । यसबाट पीडितको स्वतन्त्र मानवीय अस्तित्व, मान, सम्मान र उसको व्यक्तिगत एवम् सामाजिक प्रतिष्ठा, मान मर्यादा र मानवीय अस्मिता लुटिएको हुन्छ । उसको स्वतन्त्र अस्तित्व नै खण्डित भएको हुन्छ । त्यसैले पीडितको क्षतिको आधारलाई जबरजस्ती करणीको अपराध प्रमाणित गर्ने सन्दर्भमा पहिलो मापकको रूपमा अदालतले ग्रहण गर्नुपर्ने । एउटी सात वर्षीया नाबालिगसँगको घृणित आपराधिक कार्यको सन्दर्भमा अरू कार्यहरू गरिसकेको अवस्थामा पीडितको योनिमा पीडकको लिङ्ग प्रवेश आंशिक वा पूर्ण जे जस्तो अवस्थाको भए पनि जबरजस्ती करणीको कसुर प्रमाणित हुन त्यति नै पर्याप्त हुन्छ” भन्ने सिद्धान्तसमेत प्रतिपादन भएको देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीले पुनरावेदन जिकिर लिँदा, पीडितको शरीरमा कहीँकतै कोतरिएको छैन भनी पीडितसँग करणी भएको भए निजको शरीरमा सङ्घर्षका चिह्न हुनुपर्ने हो भन्नेतर्फ सङ्केत गरेको देखिन्छ । पीडित ५ वर्षकी अवोध नाबालिगले प्रतिवादीउपर प्रतिकार गर्न सक्ने अवस्था नै नआउने हुँदा शरीरमा चिथोरिएको कोतरिएको प्रमाणको खोजी गर्नु तर्कसङ्गत हुँदैन ।
७. प्रतिवादीको अदालतसमक्ष कसुरमा पूर्णरूपमा इन्कार रही बयान गरेकोले आरोपित कसुरमा सफाइ पाउनुपर्छ भन्ने पुनरावेदन जिकिर रहेकोतर्फ विचार गर्दा, प्रतिवादीले अदालतमा गरेको इन्कारी बयानको आधारमा मात्र एउटा अवोध नाबालिगउपर भएको जबरजस्ती करणी जस्तो जघन्य अपराधमा फौजदारी दायित्वबाट निजले उन्मुक्ति पाउने अवस्था हुँदैन । प्रतिवादीले अदालतमा इन्कारी बयान गर्नु मात्र निर्दोषिता ठहर हुने आधार बन्न सक्दैन । यसरी प्रतिवादीको इन्कारी बयान रहेको मात्र आधारमा प्रतिवादीले कसुर गरेको होइन भनी मान्न थालियो भने न्यायको मकसद नै मर्न जाने हुन्छ । यस्तो अवस्थामा मिसिल संलग्न अन्य प्रमाणको यथोचित मूल्याङ्कन गरिनुपर्दछ । यस अदालतबाट यस्तै सन्दर्भमा कालुरामको जाहेरीले नेपाल सरकार विरूद्ध सरोज हिङमाङसमेत (ने.का.प. २०६७, अङ्क ९, निर्णय नं. ८४६९) को जबरजस्ती करणी मुद्दामा “पीडितको मौकाको कागज, सनाखत कागज र बकपत्र, जाहेरवाला र मौकामा बुझिएका व्यक्तिको भनाइ, पीडितको शारीरिक परीक्षण.......लगायतका सम्बद्ध प्रमाणहरूबाट सामूहिक जबरजस्ती करणीको वारदात स्थापित भएको र सोमा प्रतिवादीहरूको संलग्नतालाई पुष्टि गरिरहेको अवस्थामा सो प्रमाणलाई बाहेक गरी प्रतिवादीहरूको अदालतको इन्कारी बयानलाई मात्र निर्दोषिताको आधार बनाई वास्तविक अपराधीलाई अभियोग दाबीबाट सफाइ दिँदै जाने हो भने समाजमा दण्डहीनताको स्थिति सिर्जना हुन जाने” भनी सिद्धान्तसमेत प्रतिपादन भइरहेको देखिन्छ । प्रस्तुत मुद्दामा मिति २०७३।७।११ गते साँझ अं.१८:३० बजेको समयमा काठमाडौं जिल्ला, बुढानिलकण्ठ न.पा. वडा नं.४ मिलनचोक स्थित मिनी मार्केटमा रेशमबहादुर नेपालीले वर्ष ५ महाराजगञ्ज २१ लाई विभिन्न डर, त्रास, धाक, धम्की दिई जबरजस्ती करणी गरेको हुँदा निज रेशमबहादुर नेपालीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको महाराजगञ्ज २० को जाहेरी दरखास्त र सोही जाहेरी दरखास्तलाई समर्थन हुने गरी निज जाहेरवालाले अदालतमा गरेको बकपत्र, मिति २०७३।७।११ गते बेलुका साँझको समयमा मेरो बाबा, आमा, घरबाट भाइ लिएर बाहिर निस्कनुभएको समयमा म आफ्नो कोठाको बाहिर खेलिरहेको क्रममा जम्दार बा (रेशमबहादुर नेपाली) ले मलाई चक्लेट खान पैसा दिन्छु आउ भनेको कारण म जम्दार बा (रेशमबहादुर नेपाली) को कोठामा गएँ । निजको कोठामा अरू कोही मानिस थिएन, निजले मलाई हातमा चक्लेट खाने पैसा दिँदै कोठाको चुकुल बन्द गरी खाटमा मलाई सुताई जम्दार बाको सुसु गर्नेले मेरो पापामा (सुसु) गर्ने ठाउँमा दुखाएको हो भन्नेसमेत बेहोराको पीडित महाराजगञ्ज २१ को कागज र सो मौकाको कागजलाई समर्थन हुने गरी पीडितले अदालतमा गरेको बकपत्र, साथै पीडितको मौकाको कागज र अदालतमा गरेको बकपत्रको बेहोरालाई समर्थन र पुष्टि हुने गरी पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा redness present in B/L vaginal wall भनी उल्लेख भएको अवस्थामा प्रतिवादीउपरको अभियोग दाबी शंकारहित स्वतन्त्र प्रमाणबाट पुष्टि भएको देखिन आयो । यसरी महाराजगञ्ज २० को किटानी जाहेरी दरखास्त र निजले सुरू अदालतमा समेत आई उक्त जाहेरी दरखास्तको तथ्य बेहोरालाई पुष्टि र समर्थन हुने गरी गरेको बकपत्र, पीडित महाराजगञ्ज २१ को मौकाको कागज र उक्त कागजको तथ्य बेहोरालाई पुष्टि र समर्थन गर्दै सुरू अदालतमा समेत गरेको बकपत्र र पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनसमेतबाट प्रतिवादी रेशमबहादुर नेपाली विरूद्ध कसुर स्थापित हुने यथेष्ट सबुद एवं स्वतन्त्र प्रमाण मौजुद रहेको देखिएकोले उच्च अदालतले प्रतिवादी रेशमबहादुर नेपालीलाई कसुरदार ठहर गर्ने गरी गरेको फैसला मनासिब नै देखिन आयो ।
८. तसर्थ, माथि विवेचित आधार, कारण र प्रतिपादित सिद्धान्तहरूसमेतबाट पुनरावेदक प्रतिवादी रेशमबहादुर नेपालीले पीडित महाराजगञ्ज २१ लाई जबरजस्ती करणी गरेको पुष्टि हुन आएको देखिँदा निज प्रतिवादी रेशमबहादुर नेपालीलाई जबरजस्ती करणीको महलको ३(१) नं. अनुसार १०(दश) वर्ष कैद सजाय हुने र ऐ.१० नं. अनुसार पीडित महाराजगञ्ज २१ ले प्रतिवादी रेशमबहादुर नेपालीबाट रू.१,५०,०००।- (एक लाख पचास हजार रूपैयाँ) क्षतिपूर्ति भराइदिने गरी ठहर्याएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७४।३।१ को फैसलालाई सदर गरेको उच्च अदालत पाटनको मिति २०७४।०७।२८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । आरोपित कसुरबाट सफाइ पाउनुपर्दछ भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी पुनरावेदन दायरीको लगत कट्टा गरी मिसिल यस अदालतको अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.हरिकृष्ण कार्की
इजलास अधिकृत: नवीनकुमार यादव
इति संवत् २०७८ साल पौष २ गते रोज ६ शुभम् ।