निर्णय नं. १०९१२ - मानव बेचबिखन तथा ओसारपसार

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कुमार रेग्मी
माननीय न्यायाधीश डा.श्री कुमार चुडाल
फैसला मिति : २०७९।१।२
मुद्दा: मानव बेचबिखन तथा ओसारपसार
०७४-CR-०६९३
पुनरावेदक / प्रतिवादी : दावाको छोरा, नुवाकोट जिल्ला, घ्याङफेदी गा.वि.स., वडा नं. ६, हाल दुप्चेश्वर गाउँपालिका, वडा नं. १ घर भई हाल कारागार कार्यालय ढुङ्गे, नुवाकोटमा थुनामा रहेको दिपक भन्ने इमान तामाङ
विरूद्ध
प्रत्यर्थी / वादी : परिवर्तित नाम ४५ को जाहेरीले नेपाल सरकार
०७५-CR-०२३५
पुनरावेदक / वादी : परिवर्तित नाम ४५ को जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : छेवाङको नाति, दावाको छोरा, नुवाकोट जिल्ला, घ्याङफेदी गा.वि.स., वडा नं. ६ हाल दुप्चेश्वर गा.पा. वडा नं.१ बस्ने दिपक भन्ने इमान तामाङ
मानव बेचबिखन र मानव ओसारपसार दुई भिन्न कसुरजन्य कार्य भएकोले दुवैको कसुरजन्य अवस्था, कसुरको प्रकृति एवम् परिणामसमेत फरक फरक हुने । यी कसुरहरू प्राय: सँगसँगै हुने भएकोले कुनै वारदातमा दुवै कसुर हुने वा कुनैमा एउटा मात्र पनि हुन सक्ने । एउटाको अभावमा अर्को कसुर नहुने भनी परिपूरक मान्न भने नसकिने ।
(प्रकरण नं.५)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री वीणा दाहाल
प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री ताराबहादुर निरौला एवं अभिषेक निरौला
अवलम्बित नजिर :
ने.का.प.२०६८, अङ्क १२, नि.नं.८७३२
सम्बद्ध कानून :
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४
सुरू तहमा निर्णय गर्नेः
मा. जिल्ला न्या. श्री अजयराज उपाध्याय
नुवाकोट जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री टेकप्रसाद ढुंगाना
माननीय न्यायाधीश श्री बलभद्र बास्तोला
उच्च अदालत पाटन
फैसला
न्या.डा.कुमार चुडाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः-
तथ्य खण्ड
मिति २०६८ सालको आषाढ महिनामा म आफ्नै घरमा घरायसी काम गरी बसिरहेको अवस्थामा मोइलामा तामाङ मेरो घरमा आई तिम्रो आमाले काम गरिरहनुभएको जस्तै कृषि फाराममा मान्छे चाहिएको छ । तिमीलाई काममा लगाइदिन्छु भनी बहाना बनाई फकाइ फुल्याइ मिति २०६८।०५।१५ गते घरबाट काठमाडौं लिई गएकोमा म आमासँगै फुटुङमा बस्दा निज मोइलामा तामाङ बेला बेलामा भेट्न
आउँथ्यो । यसै क्रममा मिति २०६८।०५।१८ गते प्रतिवादी मोइलामा तामाङले मलाई मोटरसाइकलमा राखी अफिस लैजान्छु भनी बौद्ध स्थित एउटा होटलमा खाजा खाई अब ट्याक्सीमा जाउँ भनी ट्याक्सीमा राखी कता लगे थाहा भएन । त्यसको भोलिपल्ट अं.९:०० बजेको समयमा दिपक भन्ने इमान तामाङ हामीलाई लिन आई निज दिपकको कोठामा लगे । त्यहाँ निजको परिवार तथा अन्य दुई जना केटीहरू पनि बस्दा रहेछन् । भोलिपल्ट दिपक भन्ने इमान तामाङको श्रीमतीले तिमीलाई बेचिएको छ । मेरो अनुमतिबेगर बाहिर नजाउ भनेपछि म बेचिएको कुरा थाहा भयो । मलाई दिपक भन्ने इमान तामाङ र मोइलामा तामाङले दिल्ली स्थित मजिनु भन्ने ठाउँमा बिक्री गरेका हुन् । त्यसको ६ महिनापश्चात् मलाई चमेली भन्ने मान्छेलाई बेचेपश्चात् आग्रा भन्ने ठाउँमा चमेलीको कोठामा मलाई वेश्यावृत्तिको काममा लगाइयो । त्यसपश्चात् म त्यहाँबाट भागी माइती नेपालको सहयोगमा म यहाँ आउन सफल भएको हुँ । प्रतिवादीहरू दिपक भन्ने इमान तामाङ र मोइलामा तामाङले मलाई भारतको दिल्ली लगी बेचबिखन गरेका हुन् । निजहरूलाई मानव बेचबिखन तथा ओसार पसारसम्बन्धी मुद्दामा कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पीडित जाहेरवाली नाम परिवर्तित ४५ को जाहेरी दरखास्त ।
२०६८ सालको आषाढ महिनामा म आफ्नै घरमा घरायसी काम गरी बसिरहेको अवस्थामा मोइलामा तामाङ मेरो घरमा आई तिम्रो आमाले काम गरिरहनुभएको जस्तै कृषि फाराममा मान्छे चाहिएको छ । तिमीलाई काममा लगाइदिन्छु भनी फकाइ फुल्याइ मिति २०६८।०५।१५ गते घरबाट काठमाडौं लिई गएकोमा म आमासँगै फुटुङमा बस्दा निज मोइलामा तामाङ बेला बेलामा भेट्न आउँथ्यो । यसै क्रममा मिति २०६८।०५।१८ गते प्रतिवादी मोइलामा तामाङले मलाई मोटरसाइकलमा राखी अफिस लैजान्छु भनी बौद्ध स्थित एउटा होटलमा खाजा खाई अब ट्याक्सीमा जाउँ भनी ट्याक्सीमा राखी कता लगे थाहा भएन । त्यसको भोलिपल्ट अं.९:०० बजेको समयमा दिपक भन्ने इमानलामा तामाङ हामीलाई लिन आई निज दिपकको कोठामा लगे । त्यहाँ निजको परिवार तथा अन्य दुई जना केटीहरू पनि बस्दा रहेछन् । भोलिपल्ट दिपक भन्ने इमानलामा तामाङको श्रीमतीले तिमीलाई बेचिएको छ । मेरो अनुमतिबेगर बाहिर नजाउ भनेपछि म बेचिएको कुरा थाहा भयो । मलाई दिपक भन्ने इमान तामाङ र मोइलामा तामाङले दिल्लीको मजिनु भन्ने ठाउँमा बिक्री गरेकोले ६ महिनापश्चात् चमेली भन्ने मान्छेलाई बेचेपछि आग्रा भन्ने ठाउँमा चमेलीको कोठामा वेश्यावृत्तिको काममा लगाइयो । त्यसपछि म त्यहाँबाट भाग्दा सुनौलीको माइती नेपालको स्वयंसेवकले भेटी मलाई काठमाडौंको एबिसी नेपाललाई हस्तान्तरण गरेकोले उक्त स्थानमा ३ महिना पार्लर सिकी यहाँ आउन सकेको हुँ । प्रतिवादीहरू दिपक भन्ने इमान तामाङ र मोइलामा तामाङले मलाई भारतको दिल्लीमा लगी बेचबिखन गरेको हुँदा निजहरूलाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पीडित जाहेरवाली नाम परिवर्तित ४५ ले सुरू जिल्ला अदालतसमक्ष गरेको प्रमाणित बयान ।
मिति २०६८ सालमा मेरो श्रीमती बिरामी भई उपचारको लागि दिल्ली स्थित चमेली तामाङको कोठामा बसेर अस्पताल ल्याउने लाने गरेको थिएँ । मिति २०६८ सालको भदौमा मलाई चमेली तामाङले नेपालबाट मेरी बैनी आएको छ । उसलाई लिएर आउनु भनेपछि म ट्याम्पु लिएर जाँदा मोइलामा तामाङ र नाम परिवर्तित ४५ पुलछेउमा बसेका रहेछन् । मोइलामाले नाम परिवर्तित ४५ लाई मेरो जिम्मा लगाई निज कहाँ गए मलाई थाहा भएन । मैले नाम परिवर्तित ४५ लाई चमेलीको कोठामा पुर्याई काठमाडौं आएको हो । मिति २०७१।४।३ गते म आफ्नो घर आउँदा जाहेरवालाले मलाई देखेको हुँदा यही मानिसले मलाई बिक्री गरेको हो भनी जाहेरी दिएको हो भन्नेसमेत बेहोराको प्रतिवादी दिपक भन्ने इमान तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
नाम परिवर्तित ४५ मिति २०६८।०३।१५ गते काठमाडौं जान्छु भनी हिँडेकोमा पछि नाम परिवर्तित ४५ काठमाडौंबाटै हराई बेपत्ता भएको कुरा सुनी थाहा पाएको हो । २०७० फाल्गुणमा निज जाहेरवालालाई गाउँघरमा देखी कहाँ गएको हो भनी सोध्दा निजले मलाई मोइलामाले खाजा खुवाई ट्याम्पु चढाएपछि मलाई केही थाहा भएन । त्यसको दुई दिनपछि दिपक भन्ने इमान तामाङले निजको कोठामा लगेपश्चात् तिमी बेचिएको छ भनेपछि आफू बेचिएको कुरा थाहा पाई त्यहाँबाट भाग्दा मेरो खुट्टासमेत मर्कियो भनेपछि पीडितलाई दिपक भन्ने इमान तामाङ, कान्छी भन्ने असारी तामाङ, मोइलामा तामाङ र दिल्ली बस्ने चमेली नाम गरेकी महिलासमेतले बेचबिखन गरेको कुरा थाहा पाएको हो भन्नेसमेत बेहोराको करिब एकै मिलानको बुझिएका मानिसहरू सूर्यबहादुर तामाङ, धनबहादुर तामाङ, कृष्णबहादुर स्याङतानसमेतले गरेको घटना विवरण कागज ।
मिसिल संलग्न जाहेरी दरखास्त, पीडितको प्रमाणित बयान, प्रतिवादीहरूको बयान, बुझिएका मानिसहरूले गरिदिएको घटना विवरण कागजलगायतका आधार प्रमाणहरूबाट प्रतिवादीहरू दिपक भन्ने इमान तामाङ, मोइलामा तामाङ, कान्छी भन्ने असारीसमेतले नाम परिवर्तित ४५ लाई भारतमा लगी बेचबिखन गरी मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) र ४(१) को (क) र ४(२) को (क) र (ख) अनुसार कसुर अपराध गरेको देखिँदा निज प्रतिवादीहरू दिपक भन्ने इमान तामाङ, मोइलामा तामाङ र कान्छी भन्ने असारी तामाङसमेतलाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५ को (१) (क) र (ङ) को (१) नं. बमोजिम सजाय हुन तथा ऐ. ऐनको दफा १७(१) बमोजिम पीडितलाई प्रतिवादीहरूबाट मनासिब क्षतिपूर्ति भराइपाउँ भन्ने अभियोग मागदाबी ।
प्रस्तुत मुद्दाको सम्बन्धमा मलाई केही थाहा छैन । म नागरिक समाज युनेस्को नेपालमा काम गर्ने मानिस हुँ । म आफैँ मानव बेचबिखन विरूद्ध कार्य गर्ने व्यक्ति हुँ । मेरो श्रीमती बिरामी भएकोले भारतको दिल्लीमा उपचार गराउन लगेको हो । त्यसबाहेक म कहिले दिल्ली गएको पनि छैन मैले मेरो गाँउमा युवा क्लब गठन गरी मानव बेचबिखनको विरूद्धमा कार्य गर्नुपर्छ भनी मेरो गाउँ घ्याङफेदीमा कुरा गर्दा मेरै गा.वि.स. वडा नं.४ का केही केटाहरूले तँ किन बेचबिखन विरूद्ध काम गर्छस् भनी मलाई कुटपिटसमेत गरेका हुन् । त्यसपछि म विरूद्ध मैले गर्दै नगरेको आरोप लगाई जाहेरी दिएका हुन् । मैले निज पीडित नाम परिवर्तितलाई चिनेको पनि छैन । जाहेरीमा भएका सम्पूर्ण झुट्टा हो । मेरो त्यसमा कुनै पनि प्रकारको संलग्नता छैन भन्नेसमेत बेहोराको प्रतिवादी इमान तामाङले सुरू अदालतसमक्ष गरेको बयान ।
जाहेरी दरखास्तको बेहोरा मैले भनेबमोजिम लेखिएको ठिक साँचो हो र सहीछाप पनि मेरै हो । मलाई बेच्ने कार्यमा मोइलामा तामाङ र कान्छी भन्ने असारी तामाङले बेचबिखन गरेका हुन् । यी प्रतिवादी इमान भन्ने दिपक तामाङले मलाई बेचबिखन गरेको होइन, छैन भन्नेसमेत बेहोराको जाहेरवाली नाम परिवर्तिन ४५ ले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
घटना विवरण कागजको बेहोरा पढी बाची सुनाउँदा र त्यसमा भएको बेहोरा मैले भनेबमोजिम लेखिएको ठिक साँचो हो । मैले उक्त घटना प्रत्यक्ष नदेखिएकोले प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको बुझिएका मानिसहरू कृष्णबहादुर स्याङतान र धनबहादुर तामाङसमेतले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
प्रतिवादी दिपक भन्ने इमान तामाङले मलाई मानव बेचबिखन गरेको जस्तो लाग्दैन । नाम परिवर्तित ४५ ले किन किटानी जाहेरी दिए सो सम्बन्धमा मलाई थाहा भएन । निज प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय हुनु हुँदैन भन्नेसमेत बेहोराको प्रतिवादी दिपक भन्ने इमान तामाङको साक्षी कामी तामाङले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
प्रतिवादीहरू इमान तामाङ र मोइलामा तामाङको डोरबाट भई आएको अंश रोक्का मुचुल्का मिसिल सामेल रहेछ ।
यी प्रतिवादी दिपक भन्ने इमान तामाङले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ (१) र ४ (२)(क) को कसुर गरेको देखिँदा निजलाई सोही ऐनको दफा १५(१) (ङ) (१) बमोजिम १० वर्ष कैद र रू.१,००,०००।- जरिवाना हुन्छ र सोही ऐनको दफा १७(१) बमोजिम पीडितलाई रू.५०,०००।- क्षतिपूर्ति प्रतिवादीबाट भराई दिलाई पाउनेसमेत ठहर्छ । प्रतिवादीमध्येका असारी तामाङको मृत्यु भएको भनी मृत्यु दर्ता प्रमाणपत्र देखिँदा निजको हकमा अ.बं. १७६ नं. बमोजिम केही बोलिरहन
परेन । साथै अर्का प्रतिवादी मोइलामा तामाङ फरार रहेको हुँदा निजको हकमा अ.बं. १९० नं. बमोजिम मुल्तबीमा राखिदिएको छ भन्नेसमेत बेहोराको सुरू नुवाकोट जिल्ला अदालतको मिति २०७३।३।१४ को फैसला ।
जाहेरवाली स्वयंले अदालतमा आई बकपत्र गर्दा दिपक तामाङले बेचेको होइन भनी बकपत्र गरेको अवस्था छ । मैले अभियोग माग दाबीबमोजिमको कुनै कानूनविपरीतको कार्य नगरेको हुनाले सुरू नुवाकोट जिल्ला अदालतबाट भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ प्रतिकूल त्रुटिपूर्ण भएकोले मुलुकी ऐन, अ.बं.२०२ नं. बमोजिम विपक्षी झिकाई उक्त फैसला उल्टाई म पुनरावेदक प्रतिवादी दिपक भन्ने इमान तामाङलाई सफाइ दिलाई न्याय गरिपाउँ भन्नेसमेत बेहोराको दिपक भन्ने इमान तामाङको पुनरावेदन पत्र ।
प्रतिवादी इमान तामाङको संलग्नतामा पीडितलाई भारतमा लगी बिक्री गरी वेश्यावृत्तिमा लगाएको भन्ने पुष्टि भइरहेको अवस्थामा सुरू नुवाकोट जिल्ला अदालतबाट प्रतिवादी दिपक भन्ने इमान तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५ १(ङ)(१) बमोजिम मात्र सजाय गरी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी निज प्रतिवादीलाई ऐ.ऐनको दफा १५(१)(क) बमोजिमसमेत सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
यसमा सुरू फैसलाउपर वादी नेपाल सरकार र प्रतिवादी दिपक भन्ने इमान तामाङ दुवै पक्षको तर्फबाट पुनरावेदन परेको देखिएकोले मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ वादी पक्षको पुनरावेदन प्रतिवादी दिपक भन्ने इमान तामाङलाई सुनाई प्रतिवादीको पुनरावेदनको जानकारी उच्च सरकारी वकिल कार्यालय पाटनलाई गराई नियमानुसार पेस गर्नुहोला भन्ने मिति २०७३।१२।२१ गते उच्च अदालत पाटनबाट भएको आदेश ।
प्रतिवादी दिपक भन्ने इमान तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) र ४(२)(क) को कसुरमा सोही ऐनको दफा १५(१)(ङ)(१) बमोजिम १० वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना गरी प्रतिवादीबाट पीडितलाई रू.५००००।- क्षतिपूर्तिसमेत भराइदिने ठहर्यार्इ सुरू नुवाकोट जिल्ला अदालतबाट मिति २०७३।३।१४ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी दिपक भन्ने इमान तामाङ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ को दफा १५(१)(क) बमोजिम समेत सजाय गरिपाउँ भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको मिति २०७४।०२।९ मा उच्च अदालत पाटनबाट भएको फैसला ।
२०६८ सालको आषाढ महिनामा म आफ्नै घरमा घरायसी काम गरी बसिरहेको अवस्थामा मोइलामा तामाङ मेरो घरमा आई तिम्रो आमाले काम गरिरहनु भएको जस्तै कृषि फाराममा मान्छे चाहिएको छ । तिमीलाई काममा लगाइदिन्छु भनी बहाना बनाई फकाइ फुल्याइ मिति २०६८।५।१५ गते घरबाट काठमाडौं लिई गएको हो । म आमासँगै फुटुङमा बस्दा निज मोइलामा तामाङले मलाई मोटरसाइकलमा राखी अफिस लैजान्छु भनी बौद्ध स्थित एउटा होटलमा खाजा खाई अब ट्याक्सीमा जाउँ भनी ट्याक्सीमा राखी कता लगे थाहा भएन । त्यसको भोलिपल्ट अं.९:०० बजेको समयमा दिपक भन्ने इमान तामाङ हामीलाई लिन आई निजको कोठामा लगे । त्यहाँ दिपक भन्ने इमान तामाङको श्रीमतीले तिमीलाई बेचिएको छ, मेरो अनुमतिबेगर बाहिर नजाउ भनेपछि म बेचिएको कुरा थाहा पाएँ । मलाई दिपक भन्ने इमान तामाङ र मोइलामा तामाङले दिल्ली स्थित मजिनु भन्ने ठाउँमा बिक्री गरेको ६ महिनापछि मलाई चमेली भन्ने मान्छेलाई बेचेपश्चात् आग्रा भन्ने ठाउँमा चमेलीको कोठीमा मलाई वेश्यावृत्तिको काममा लगाइयो । त्यसपछि म त्यहाँबाट भागी माइती नेपालको सहयोगमा नेपाल आउन सफल भएको हुँ । यी प्रतिवादीहरू दिपक भन्ने इमान तामाङ र मोइलामा तामाङले मलाई भारतको दिल्लीमा लगी बेचबिखन गरेका हुन् भन्नेसमेत बेहोराको पीडित जाहेरवाली नाम परिवर्तित ४५ को जाहेरी दरखास्त र सोही जाहेरी बेहोरासँग मेल खाने गरी पीडितले गरेको प्रमाणित बयानबाट यी प्रतिवादीहरूउपर पीडितलाई बेचबिखन गरेको कसुरसमेत स्थापित भएको छ ।
मिति २०७० फाल्गुणमा निज जाहेरवालालाई गाउँघरमा देखी कहाँ गएको हो भनी सोध्दा निजले मलाई भारतमा बेचिएको थियो । म भर्खरै माइती नेपालको सहयोगमा नेपाल फर्केको हुँ भनेकोले निज पीडितलाई बेचबिखन गरेको कुरा थाहा पाएको हो भन्नेसमेत बेहोराको बुझिएका मानिसहरू सुर्यबहादुर तामाङ, धनबहादुर तामाङ, कृष्णबहादुर स्याङतानसमेतले गरेको घटना विवरण कागज, चमेली तामाङले नेपालबाट मेरो बहिनी आएर पुल बजारमा बसेकी छे । उसलाई लिएर आउनुस् भनेपछि भारत दिल्लीको मजिनु पुल बजार भन्ने ठाउँमा टेम्पो लिएर जाँदा मोइलामा तामाङ र नाम परिवर्तित ४५ बसेको रहेछन् । मोइलामा कता गयो ? थाहा भएन, नाम परिवर्तित ४५ लाई चमेलीको कोठामा पुर्याएर भोलिपल्टै काठमाडौं फर्केको हो भनी प्रतिवादी दिपक भन्ने इमान तामाङले गरेको बयानसमेतका प्रमाण कागजबाट प्रतिवादी मोइलामा तामाङले पीडितलाई नुवाकोटमा फकाइ फुल्याइ जाल प्रपञ्चमा पारी काठमाडौं लगी काठमाडौंबाट दिल्ली पुर्याई दिल्लीको मजिनु पुल बजार भन्ने ठाउँमा यी प्रतिवादी दिपक भन्ने इमान तामाङ लिन आएको, निजसँग पीडित चमेलीको कोठामा गएको र भोलिपल्ट यी प्रतिवादीकी पत्नी असारी तामाङले पीडित बेचिएकी र निजको अनुमतिबेगर बाहिर जान नपाउने भनी पीडितलाई भनिएको तथा पीडितलाई चमेलीको कोठमा वेश्यावृत्तिमा लगाएको देखिन्छ । यी प्रतिवादी दिपक भन्ने इमान तामाङको संलग्नतामा पीडितलाई भारतमा लगी बिक्री गरी वेश्यावृत्तिमा लगाएको र धेरै समयपश्चात् पीडित वेश्यालयबाट उम्की नेपाल आएको स्पष्ट भई पीडितलाई भारतमा लगी बिक्री गरी वेश्यावृत्तिमा लगाउने कार्यमा यी प्रतिवादीको संलग्नता पुष्टि भइरहेको अवस्थामा यी प्रतिवादीको हकमा फैसला गर्दा मिसिल संलग्न प्रमाणबाट अभियोग दाबी पुष्टि भएको भनी प्रतिवादीउपरको कसुरमा सहमत भइसकेपश्चात् अभियोग दाबीबमोजिम यी प्रतिवादीलाई मानव बेचबिखनको कसुरबापत समेत सजाय गर्नुपर्नेमा सो नगरी केवल मानव ओसारपसारको कसुरबापत मात्र सजाय गरी भएको फैसला मिलेको देखिँदैन ।
उपर्युक्त आधार प्रमाणबाट प्रतिवादी दिपक भन्ने इमान तामाङले पीडितलाई बिक्री गर्ने कार्य गरेको पुष्टि भएकोले निजलाई अभियोग दाबीमध्येको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(१) (क) को कसुरमा दफा १५(१)(क) अनुसारको सजायसमेत हुनपर्नेमा सो सजाय नगरेको हदसम्म उच्च अदालत पाटनको मिति २०७४।२।९ को फैसला त्रुटिपूर्ण भएकोले सो फैसला सोही हदसम्म बदर गरी निज प्रतिवादीलाई सो सजायसमेत गरी त्यसबाट हुने जरिवानाका आधारमा पनि पीडितलाई दफा १७ अनुसार क्षतिपूर्ति भराइपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।
मेरो श्रीमती असारी तामाङ बिरामी भएकोले निजको उपचारार्थ म एकपटक दिल्ली गएको हो । मैले जाहेरवालीलाई बिक्री गर्नको निमित्त कुनै पनि प्रकारले लगेको छैन वा कोही कसैलाई बिक्री गर्नको निमित्त मद्दत गरेको होइन । निज जाहेरवालीलाई चिन्दिनँ, निज के कति कारणले दिल्ली गएकी हुन् ? सो कुरा मलाई थाहा भएन । कुनै महिलाले आफूलाई कसैले बेच्यो भनी जाहेरी दिई तथाकथित बयान प्रमाणित गराएकै भरमा निजको सो कथनलाई समर्थन गर्ने अन्य प्रमाण भए नभएको नहेरिने हो भने कानूनी प्रावधानको दुरूपयोग हुने प्रबल सम्भावना रहन्छ । म नागरिक समाज युनेस्कोअन्तर्गत नेपालमा कयौं वर्षअघिदेखि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको व्यक्ति हुँ । म आफैँ पनि मानव अपराध तथा बेचबिखन विरूद्ध काम गर्दै आइरहेको छु । मैले जाहेरवालीलाई बेचबिखन गरी कति रकम लिए खाए वा को को मिली बाँडी खाए अथवा कोसँग कसले रकम लिएको हो भन्ने कुरासम्म नखुलेको प्रस्तुत मुद्दामा केवल दोष देखाउँदैमा मानव बेचबिखन जस्तो गम्भीर प्रकृतिको फौजदारी कसुरमा सजाय गर्न मिल्दैन ।
मानव बेचबिखनको अपराधमा प्रमाणको भार अभियुक्तमा सारिएको छ भन्दैमा हर अवस्थामा हरेक मुद्दामा वादीलाई शंका लाग्यो भन्दैमा केही प्रमाण नजुटाउने केवल आवेगको भरमा दिएको जाहेरी र बयानको भरमा लगाएको अभियोग दाबीबमोजिम प्रतिवादीलाई दोषी ठहर गर्ने ऐनको मनसाय होइन । यसरी बुझ्नुपर्ने प्रमाण नबुझी र वस्तुनिष्ठ प्रमाण नहेरी केवल एकतर्फी रूपमा म पुनरावेदकलाई दोषी ठहर्याई भएको सुरू नुवाकोट जिल्ला अदालतको त्रुटिपूर्ण फैसलालाई नै सदर गरेको उच्च अदालत पाटनबाट भएको फैसला मानव बेचबिखन तथा ओसार पसार ऐन, २०६४ को दफा ३(१) र ४(२)(क), प्रमाण ऐन, २०३१ को दफा ३, २५ र ५४ तथा ने.का.प.२०६३, नि.नं. ७७६८ समेतमा प्रतिपादित सिद्धान्तसमेतको विपरीत रहेको देखिँदा उक्त फैसला उल्टी गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी दिपक भन्ने इमान तामाङको यस अदालतसमक्ष परेको पुनरावेदन ।
यसमा यी प्रतिवादी दिपक भन्ने इमान तामाङको संलग्नतामा पीडितलाई भारतमा लगी बिक्री गरी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न भएको भनी अभियोगपत्र दायर भएको र लाभ लिने उद्देश्यले नेपालबाट लग्ने तथा मोइलामा तामाङले यी प्रतिवादी दिपक भन्ने इमान तामाङलाई बुझाइ तत्पश्चात् अन्यत्र लगेका भनिएकोबाट पीडितलाई भारत लग्ने र बेचबिखनमा समेत यी प्रतिवादीको भूमिका रहेको भन्ने आरोप देखिएकोमा मानव बेचबिखनको कसुरबापत सजाय नगरी केवल मानव ओसार पसारमा कसुरबापत मात्र सजाय गरी भएको उच्च अदालत पाटनको मिति २०७४।२।९ को फैसलामा मिसिल संलग्न प्रमाणहरूको समुचित विवेचना भएको नदेखिएकोबाट प्रमाण ऐन, २०३१ को दफा ३, ५४ नं. अनुसार उच्च अदालत पाटनको मिति २०७४।२।९ को उक्त फैसलामा प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार गरी पेस गर्नु भन्नेसमेत बेहोराको मिति २०७६।०३।८ मा यस अदालतबाट भएको आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम साप्ताहिक एवं आजको दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनपत्रसहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित रहनुभएका विद्वान् अधिवक्ताद्वय श्री ताराबहादुर निरौला एवं अभिषेक निरौलाले मेरो पक्ष श्रीमतीको उपचार गराउन दिल्ली गएको हो । कथित पीडित भनिएकी जाहेरवालीसँग मेरो चिनजान छैन । मैले निज विरूद्ध कुनै पनि प्रकारको अपराध गरेको होइन भनी कसुरमा इन्कार रही प्रतिवादीले अदालतसमक्ष बयान गरेको देखिन्छ । यी प्रतिवादीले जाहेरवालीलाई बेचबिखन गरी कति रकम लिए, को को मिली बाँडी खाए वा कोसँग कसले रकम लिएको हो भन्ने कुरा जाहेरीमा कहीँकतै उल्लेख गरेको पाइँदैन । शंकाको सुविधा अभियुक्तले पाउँछ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त हो । उल्लिखित सन्दर्भमा वादी पक्षबाट वस्तुगत एवं भरपर्दो प्रमाण गुजार्न नसकेको अवस्थामा निज प्रतिवादीलाई मानव बेचबिखन जस्ता गम्भीर अपराधमा कसुरदार ठहर्याउने सुरू नुवाकोट जिल्ला अदालतको फैसलालाई सदर गरेको उच्च अदालत पाटनको फैसला कानूनसम्मत नदेखिँदा उल्टी गरिपाउँ भनी तथा अर्का पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित रहनुभएका विद्वान् उपन्यायाधिवक्ता श्री वीणा दाहालले प्रतिवादी दिपक भन्ने इमान तामाङसमेतले आफूलाई भारतको दिल्ली लगी बेचबिखन गरी वेश्यावृत्तिमा लगाएको हो भनी पीडितले किटानी जाहेरी दिएको अवस्था छ । पीडितले आफ्नो उक्त जाहेरी बेहोरालाई अदालतसमक्ष प्रमाणितसमेत गरिदिएको देखिन्छ । चमेली तामाङले नेपालबाट मेरी बहिनी आएकी छिन् । उसलाई लिएर आउनु भनेपछि म ट्याम्पु लिएर गई पीडितलाई चमेलीको कोठामा पुर्याएको हो भनी यी प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको पाइन्छ । साथै पीडितलाई दिपक भन्ने इमान तामाङसमेतले बेचबिखन गरेको हो भनी घटना विवरण कागज गर्ने धनबहादुर तामाङसमेतले लेखाइदिएको पाइन्छ । उल्लिखित तथ्य एवं प्रमाण हुँदाहुँदै निज प्रतिवादीलाई मानव ओसारपसारको कसुरबापत मात्र सजाय गरी भएको सुरू फैसलालाई सदर गरेको उच्च अदालत पाटनको फैसला मिलेको नदेखिँदा उल्टी गरी निजलाई मानव बेचबिखनको कसुरसमेतमा सजाय गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
प्रस्तुत मुद्दामा सुरू नुवाकोट जिल्ला अदालतले गरेको फैसलालाई सदर गरेको उच्च अदालत पाटनबाट भएको फैसला मिलेको छ,
छैन ? पुनरावेदक वादी र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी दिपक भन्ने इमान तामाङले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) र ४(२)(क) को कसुर गरेको देखिँदा निजलाई सोही ऐनको दफा १५(१)(ङ)(१) बमोजिम १० वर्ष कैद र रू.१,००,०००।- (एक लाख) जरिवाना र सोही ऐनको दफा १७(१) बमोजिम पीडितलाई रू.५०,०००।- (पचास हजार रूपैयाँ) क्षतिपूर्ति यी प्रतिवादीबाट भराई दिलाइपाउने ठहर्याई सुरू नुवाकोट जिल्ला अदालतले गरेको फैसलालाई सदर गरेको उच्च अदालत पाटनको फैसलाउपर चित्त नबुझाई वादी र प्रतिवादी दुवैतर्फबाट यस अदालतसमक्ष पुनरावेदन पर्न आएको देखिन्छ ।
३. प्रस्तुत मुद्दाको तथ्यगत अवस्था हेर्दा, मोइलामा तामाङ मेरो घरमा आई तिम्रो आमाले काम गरिरहनुभएको जस्तै कृषि फाराममा मान्छे चाहिएको छ । तिमीलाई काममा लगाइदिन्छु भनी बहाना बनाई फकाइ फुल्याइ घरबाट काठमाडौं लिई आएको हो । म आमासँगै फुटुङमा बसिरहेकोमा निज मोइलामा तामाङ आई पहिला मोटरसाइकलमा र पछि ट्याक्सीमा राखी दिपक भन्ने इमान तामाङको कोठामा लग्यो । भोलिपल्ट दिपक भन्ने इमान तामाङको श्रीमतीले तिमीलाई बेचिएको छ । मेरो अनुमतिबेगर बाहिर नजाऊ भनेपछि म बेचिएको कुरा थाहा भयो । मलाई दिपक भन्ने इमान तामाङ र मोइलामा तामाङले दिल्ली स्थित मजिनु भन्ने ठाउँमा बिक्री गरेका हुन् । पछि आग्रा भन्ने ठाउँमा मलाई वेश्यावृत्तिको काममा लगाइयो । तत्पश्चात् म त्यहाँबाट भागी माइती नेपालको सहयोगमा यहाँ आउन सफल भएको हुँ । निजहरूलाई मानव बेचबिखन तथा ओसार पसारसम्बन्धी मुद्दामा कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पीडित जाहेरवालाको किटानी जाहेरी परेको देखिन्छ । पीडितले जाहेरी बेहोरासँग मेल खाने बयान गरी अदालतसमक्ष सो बयान प्रमाणितसमेत भएको अवस्था छ । त्यस्तै घटना विवरण कागज गर्ने धनबहादुर तामाङसमेतले पीडितलाई यी प्रतिवादी दिपक भन्ने इमान तामाङसमेतले भारतको दिल्लीमा बेचबिखन गरेका हुन् भनी कागज गरी सोही बेहोरालाई समर्थन हुने गरी अदालतसमक्ष समेत बकपत्र गरिदिएको पाइन्छ ।
४. प्रतिवादी दिपक भन्ने इमान तामाङले अभियोगबमोजिमको कसुरमा इन्कार रही अदालतसमक्ष बयान गरे पनि आफूले पीडितलाई दिल्ली स्थित चमेली तामाङको कोठामा पुर्याएको हो भनी अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको पाइन्छ । निज तत् वारदात बखत श्रीमतीको उपचार गर्न भनी भारत गएको भन्ने अवस्था निजको अदालतसमक्षको बयानबाट नै देखिन आउँछ । निज प्रतिवादीलाई मानव बेचबिखन जस्तो गम्भीर विषयमा आरोपित गरी किटानी जाहेरी गर्नुपर्ने र अदालतमा बयान प्रमाणित गर्नुपर्ने पूर्वरिसइवी एवम् कारण जाहेरीवालीमा देखिन आउँदैन । प्रस्तुत मुद्दा मानव बेचबिखनको कसुरमा भएको र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ ले प्रमाणको भारसम्बन्धी व्यवस्था गर्दै प्रतिवादीको दायित्व सिर्जना गरेको देखिन्छ । सरकारवादी फौजदारी मुद्दामा वादी दाबी पुष्टि गर्ने प्रमाणको भार निश्चय नै वादी पक्षमा नै निहित रहने भए तापनि प्रतिवादीले पनि लागेको अभियोग आफूले गरेको होइन भनी तथ्यगत आधार प्रमाणबाट स्थापित गर्नुपर्ने हुन आउँछ । प्रस्तुत मुद्दामा प्रतिवादीले अदालतमा इन्कार रही बयान गरे तापनि सो इन्कारीलाई तथ्ययुक्त आधार कारणबाट निर्दोषिता पुष्टि गर्न सकेको पाइँदैन । मलाई बेचबिखन गर्ने कार्यमा दिपक भन्ने इमान तामाङको संलग्नता छैन भनी पीडितले सुरू अदालतमा गरेको Hostile बकपत्रको सन्दर्भमा हेर्दा, Hostile बकपत्र स्वयंमा निर्णायक प्रमाण नहुने भनी सर्वोच्च अदालतबाट पर्याप्त व्याख्या भएको देखिन्छ । "जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ विशेष प्रकृतिको ऐन भएकोले पछि जाहेरवाला पीडित Hostile हुन सक्ने महसुस गरी अदालतबाट पीडितको बयान प्रमाणित गराउनुपर्ने कानूनी प्रावधान विधायिकाद्वारा राखिएको र सोबमोजिम नै प्रमाणितसमेत भएको बयान बेहोरालाई पछि आएर होइन भनी दिएकै भरमा प्रमाण ग्राह्य नहुने भन्न नहुने । वारदात घटनाको समय अन्तरालपछि कसैलाई सफाइ दिन सहयोग गर्ने हिसाबले पछि अन्यथा बकपत्र गरेको देखिए पनि तथ्यगत सबुत र घटनावलीले अभियोग दाबीको कसुर पुष्टि गरेको कुराबाट निर्णय हुने हुनाले Hostile भई पछिबाट गरेको त्यस्तो बकपत्रले मुद्दाको तथ्यमा तात्विक असर पर्न नसक्ने" (ने.का.प २०६८, अङ्क-१२, नि.नं.८७३२) भन्ने सर्वोच्च अदालतबाट कानूनी सिद्धान्त प्रतिपादन भइरहेको परिप्रेक्ष्यमा प्रस्तुत मुद्दामा पनि सान्दर्भिक देखिन आउँछ । Hostile बकपत्र निश्चय नै एउटा महत्त्वपूर्ण प्रमाण हो । तथापि निर्णायक हुन नसक्ने विधिशास्त्रीय मान्यताका प्रचुर उदाहरण अझ पनि देख्न सकिन्छ । मुद्दा विशेषको प्रकृति, पीडितलाई पार्न सक्ने प्रभावका आयामहरू, समयको अन्तराल र सामाजिक मान्यताका अवस्थाहरू, पीडितको उमेर एवम् आर्थिक अवस्था जस्ता आधारभूत अवस्थाको मूल्याङ्कन गरी Hostile बकपत्र भए पनि न्यायको मक्सद पूर्ति हेतु (For the shake of justice) अन्य प्रमाणसमेतलाई हृदयङ्गम स्वभावतः गर्न सकिने अवस्था रहन्छ । प्रस्तुत मुद्दामा पीडिता भारतसम्म पुगेको अवस्था, निजको नारकीय जीवनबाट उन्मुक्तिका श्रृङ्खला एवम् निजको किटानी जाहेरी दरखास्त, प्रमाणित बयान, प्रतिवादीको अनुसन्धान अधिकारीसमक्षको बयान एवम् निजको भारतमा उपस्थितिसमेतका समग्र स्थितिमा पीडिताको Hostile बकपत्रलाई सम्पूर्ण रूपमा ग्रहण गर्न सकिने अवस्था रहेन ।
५. अब यस्तो स्थितिमा, यी प्रतिवादी दिपक भन्ने इमान तामाङउपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१),४(१) को खण्ड (क) र ४(२) को खण्ड (क) र (ख) को कसुरमा सोही ऐनको दफा १५ को उपदफा (१) को खण्ड (क) र (ङ) को उपखण्ड (१) बमोजिम सजायको मागदाबी लिई अभियोगपत्र दायर भएको देखिन्छ । ऐ.को दफा ३ मा मानव बेचबिखन र ओसारपसार गर्न गराउन हुँदैन भनी मानव बेचबिखन र ओसारपसार गर्ने कार्यलाई अपराधीकरण गरेको पाइन्छ भने दफा ४(१) मा मानव बेचबिखन गरेको मानिने कार्य तोकिएको र दफा ४(२) मा मानव ओसार पसार गरेको मानिने कार्यसमेत अलग अलग गरी स्पष्ट उल्लेख गरेको देखिन्छ । त्यस्तै मानव बेचबिखन र मानव ओसारपसारको कसुरमा फरकफरक सजाय हुने व्यवस्था ऐ.को दफा १५ को संरचनाले स्पष्ट गर्दछ । यसप्रकार मानव बेचबिखन र मानव ओसारपसार दुई भिन्न आपराधिक कार्य भएकोले दुवैको कसुरजन्य अवस्था, कसुरको प्रकृति एवम् परिणामसमेत फरकफरक हुन आउने हुन्छ । यी अपराधहरू प्राय: सँगसँगै हुने भएकोले कुनै वारदातमा दुवै अपराध हुने वा कुनैमा एउटा मात्र पनि हुन सक्छ । एउटाको अभावमा अर्को अपराध नहुने भनी परिपूरक मान्न भने सकिँदैन ।
६. प्रस्तुत वारदातमा पीडितलाई वेश्यावृत्तिमा लगाउने उद्देश्यले प्रतिवादी दिपक भन्ने इमान तामाङसमेतले भारतको दिल्ली लगेको देखिएको छ । यी प्रतिवादीले पीडितलाई कसैसँग यति रकम लिई बिक्री गरेको हो भनी अभियोग पत्रमा दाबी लिएको वा वारदात पुष्टि हुने कुनै पनि प्रमाण मिसिल संलग्न रहेको देखिँदैन । दिल्लीस्थित चमेली तामाङको कोठामा पीडितलाई पुर्याई प्रतिवादी दिपक भन्ने इमान तामाङ नेपाल फर्केको र पीडितमाथि यौन शोषण भएको पुष्टि भए पनि बेचबिखन गरेको भन्ने वारदात मिसिलबाट पुष्टि हुन सकेको देखिँदैन । त्यसैले प्रस्तुत मुद्दामा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२) बमोजिम मानव ओसार पसारको वारदात स्थापित भएको तर दफा ४(१) बमोजिम मानव बेचबिखन गरेको वारदात पुष्टि भएको देखिन आएन ।
७. अत: माथि विवेचित आधार र कारणबाट प्रतिवादी दिपक भन्ने इमान तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) र ४(२)(क) को कसुरमा सोही ऐनको दफा १५(१) को (ङ)(१) बमोजिम १० वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना गरी प्रतिवादीबाट पीडितलाई रू.५०,०००।- (पचास हजार रूपैयाँ) क्षतिपूर्तिसमेत भराइदिने ठहर्यार्इ सुरू नुवाकोट जिल्ला अदालतबाट भएको फैसलालाई सदर गरेको उच्च अदालत पाटनबाट मिति २०७४।०२।०९ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको जानकारी थुनामा रहेका प्रतिवादी दिपक भन्ने इमान तामाङ र महान्यायाधिवक्ताको कार्यालयसमेतलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा पठाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.कुमार रेग्मी
इजलास अधिकृतः गगनदेव महतो
इति संवत् २०७९ साल वैशाख २ गते रोज ६ शुभम् ।