शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०९१७ - कर्तव्य ज्यान

भाग: ६४ साल: २०७९ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा 

फैसला मिति : २०७७।१०।२०

०७०-CR-१६४५

 

मुद्दाः- कर्तव्य ज्यान

 

पुनरावेदक / वादी : नगेन्द्र चौधरीको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : रूपन्देही जिल्ला मधवलिया गा.वि.स. वडा नं. ७ घर भई हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेका विनोद कुँवर थारू

 

भवितव्यमा कर्ताको कार्य सामान्यतः कानूनद्वारा वर्जित नगरेको र निज कर्ताको कार्यबाट कुनै व्यक्तिको हत्या नै हुन पुग्छ भन्नेसमेत आशंका नहुने । 

(प्रकरण नं.५)

मृतकको कारणबाट प्रतिवादीले आत्मसंयम गुमाई तत्कालै अगाडिबाट मृतकलाई प्रहार भई मृत्यु हुन पुगेको र त्यस अवस्थामा कुनै जोखिमी हतियारसमेत प्रयोग नभएको देखिएको हुँदा निज प्रतिवादीको कार्य भवितव्य नभई आवेशप्रेरित हत्या भएको भनी मान्नुपर्ने ।

(प्रकरण नं.६)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री इश्वरीप्रसाद ढकाल

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

मा. जिल्ला न्यायाधीश श्री बालेन्द्र रूपाखेती

रूपन्देही जिल्ला अदालत 

पुनरावेदन तहमा फैसला गर्नेः

मा. न्यायाधीश श्री नारायणप्रसाद दाहाल

माननीय न्यायाधीश श्री पुष्पराज कोइराला

पुनरावेदन अदालत बुटवल 

 

फैसला

न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः-

तथ्य खण्ड

जिल्ला रूपन्देही मधवलिया गा.वि.स. वडा नं.९ स्थित कालोपत्रे सडकमा परमानन्द चौधरी र विनोद कुँवर थारूबिच झगडा भएको भन्ने घटनास्थल प्रकृति मुचुल्का ।  

मिति २०६८।१०।१६ गते विनोद कुँवर थारूले कुटपिट गरी घाइते भएका परमानन्द चौधरीको उपचारको क्रममा मिति २०६८।१०।२४ गते मृत्यु भएकाले पोष्टमार्टमसमेतको कार्य सम्पन्‍न गरी लास जिम्मा पाउँ भन्ने गणेश चौधरीको निवेदन ।

बायाँ कानमाथि अपरेशन गरेको C आकारको १८ वटा टाँका लगाएको घाउ र बायाँपट्टि निधारमा कानसम्म C आकारमा २२ वटा टाँका लगाएको घाउ दुवै आँखा निलो भएको भन्ने लास जाँच प्रकृति मुचुल्का ।

शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण टाउकाको चोट भन्ने उल्लेख भएको ।

मिति २०६८।१०।१६ गते १८:३० बजेतिर मेरो होटलमा नखिया चौधरी र परमानन्द चौधरी आई मासु रक्सी खाँदै थिए । विनोद कुँवर थारू पनि पसलमा आई भोला मागी लिई पसलबाट बाहिर निस्किए । परमानन्दले विनोद कुँवर थारूलाई यहाँ बस, केटाहरू बोलाउँछु भनेपछि कहाँको दादा हो र ? बोला न भनी विनोद कुँवर थारू बाटोमा जाँदै थिए । परमानन्द चौधरी र नखिया चौधरी पनि पछि पछि गए । केही पर पुगेपछि एक्‍कासि किन हो हात हालाहाल भई परमानन्द भुइँमा लडे । रातिको बेला झैझगडा गरी बबाल गर्ने भए भनी मैले पसल बन्द गरे । त्यसपछि के के भयो मलाई थाहा भएन । मिति २०६८।१०।२४ गते उपचारका क्रममा परमानन्दको मृत्यु भएको भन्ने थाहा पाएकी हुँ भन्ने केशरी गाहाको कागज ।

मिति २०६८।१०।१६ गते मधवलियास्थित होटलमा नास्ता खान पस्नुभएको अवस्था व्यवहारमा पहिलेदेखि रिसइवी राखी आएका विनोद कुँवर थारू सोही होटलमा रहेछन् । सोही क्रममा एक आपसमा कुराकानी हुँदा विनोद कुँवर थारू उत्तेजित भई आवेगमा आई मेरो दाजु परमानन्द चौधरीलाई लात्ती बक्सिङले निर्मम कुटपिट गरी होटलदेखि बाहिर ल्याई अशक्त भई बेहोस भई होस नखुलेपछि मर्‍यो भनी घटनास्थलबाट फरार भएपश्चात् नजिकका मानिसहरूले खबर गरेकाले उपचारको लागि अस्पताल लगेकोमा उपचारको क्रममा मिति २०६८।१०।२४ गते मेडिकल कलेज चितवनमा मृत्यु भएको हुँदा निज विनोद कुँवर थारूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको जाहेरी दरखास्त । 

कर्तव्य ज्यान मुद्दामा वारदातपश्चात् फरार रहेका विनोद कुँवर थारूलाई पक्राउ गरी दाखिला गरेको छु भन्ने प्रहरी प्रतिवेदन ।

मिति २०६८।१०।१६ गते १९:०० बजेको समयमा केसरी गाहाको पसलमा गई रू.५।– को २ वटा भोला (गुट्खा) किनी बाहिर बाटोतर्फ जान लाग्दा मलाई परमानन्द चौधरीले ए विनोद तँ यहाँ बस् मैले केटाहरू बोलाउँछु भने । मैले को दादा हो बोलान त 

भनेँ । त्यसपछि म घरतर्फ जाँदै थिएँ । केही पर पुग्दा मलाई पछाडिबाट परमानन्द चौधरीले घेच्रोमा 

हाने । नखिया चौधरी पनि सँगै आएका थिए । परमानन्द चौधरीले मलाई हानिसकेपछि मलाई रिस उठ्यो । फनक्‍क फर्की परमानन्द चौधरीको मुखमा एक पन्च हिर्काएँ । निज रक्सी खाएको हुँदा पिच सडकमा 

पछारिए । त्यसपछि मलाई डर लागी घटनास्थलबाट भागी फरार भएको हुँ । निजको भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । पूर्वयोजना बनाई घटना घटाएको होइन । मैले मुखमा हान्दा सडकमा पछारिएका थिए । सोही कारणले टाउकोमा घाउचोट लागेको हुनुपर्छ भन्ने प्रतिवादी विनोद कुँवर थारूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

मिति २०६८।१०।१६ गते बेलुका १९:४५ बजेतिर म केशरी गाहाको पसलतिर भोला (गुट्खा) किन्न गएँ । पसल बन्द भइसकेको थियो । सो पसलभन्दा अगाडि ५-६ मिटरकै दुरीमा बाटोको बिचमा नोखइ कुँवर थारूले परमानन्द चौधरीलाई काखमा लिएर बसेका थिए । परमानन्दको रगत आएको 

थियो । सर्टमा रगत लागेको थियो । के भयो भन्दा एक जना केटासँग विवाद हुँदा कुटेर घाइते बनाई भाग्यो भन्यो । मैले जगमा पानी ल्याई खान दिएँ । पानी खान सकेनन् मसमेत अन्य व्यक्ति आई परमानन्दलाई बाटोको साइडमा राख्यौं । निज परमानन्दलाई उपचारका लागि अस्पताल लगिएकोमा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको रहेछ भन्ने बेहोराको नारायण लिम्बूको कागज ।

मिति २०६८।१०।१६ गते गाउँको साथीले परमानन्द चौधरीलाई कुटपिट गरी घाइते बनाएका 

छन् । निज सिरियस भएका छन् भन्ने खबर प्राप्त भएपछि गाउँबाट मसमेतका मानिसहरू गई हेर्दा उक्त सडकको दक्षिण किनाराको कच्ची भागमा परमानन्द चौधरी बेहोस अवस्थामा उत्तानो परेका थिए । निजलाई उपचारको लागि अस्पताल लगिएकोमा उपचारको क्रममा माघ २४ गते मृत्यु भएको हो । विनोद कुँवर थारूले कुटपिट गरेका हुन् भन्ने थाहा पाएको हुँ भन्ने नारायण चौधरीको कागज । 

मिति २०६८।१०।१६ गते ७:५४ बजेतिर केशरी गाहाको पसलदेखि नजिकै नोखइ कुँवर थारू उभिएको थियो । मलाई निजले बोलाएकोले नजिकै जाँदा बाटोको साइडमा परमानन्द चौधरी ढलेको अवस्थामा थिए । मैले निजका आफन्तलाई फोन गरिदिएँ । आफन्त आई उपचारका लागि लगी गएका हुन् । परमानन्दको उपचारका क्रममा मृत्यु भएको भन्ने थाहा पाएको हुँ । कुटपिट गर्नेलाई कानूनबमोजिम कारबाही हुनुपर्छ भन्ने तिलबहादुर थारूको कागज ।

मिति २०६८।१०।१६ गते बेलुकी आफ्नो घरतर्फ जाने क्रममा केशरी गाहाको पसलमा रक्सी मासु खाई बसेको समयमा परमानन्दले आफैँ मागी रक्सी मासु खाएँ । मैले आफ्नो पैसा तिरी सकेको थिएँ । परमानन्दले भाउजू अहिले पैसा छैन, पछि दिउँला भन्दै गर्दा विनोद कुँवर थारू आई गुट्खा/भोला माग्यो । त्यही बेला परमानन्द र विनोदबिच विवाद भयो । पसलवालीले झगडा नगर भन्दै पसलबाहिर निकाली दिइन् । त्यसपछि बाहिर पुगेपछि परमानन्दले गाली गर्‍यो । विनोद पछाडिबाट गएर झम्टियो । मैले नहान् भन्दाभन्दै अरू दुईजना पनि आए । त्यत्तिकैमा परमानन्द बिच बाटोमा ढल्यो । विनोदले हानेको देखेँ, अन्यले हानेको देखिनँ । म डराएर घरको साइडतिर लागेँ । परमानन्द ढलेपछि सबै भागे । होटलवालीले सटर बन्द गरिन् । परमानन्दलाई मैले समातेँ । निजको मुखबाट रगत आएको थियो । केहीबेरपछि नारायण लिम्बूसमेतका मानिसहरू आई उपचारको लागि परमानन्दलाई अस्पताल लगे । निजको उपचारको क्रममा मृत्यु भएको रहेछ भन्ने नोखई कुँवर थारूको कागज ।

विनोद कुँवर थारूले परमानन्दलाई कुटेको भन्ने थाहा पाएको हुँ । यसरी मानिसलाई मार्ने गरी कुटपिट गर्ने प्रतिवादीलाई कानूनबमोजिम कडा कारबाही हुनुपर्छ भन्ने बेहोराको वस्तुस्थिति मुचुल्का ।

प्रतिवादी विनोद कुँवर थारूले मृतक परमानन्द थारूलाई पूर्वरिसइवीको कारण, मार्ने मनसायले कुटपिट गरी कर्तव्य गरी मारी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) नं. को कसुर गरेकोले सो कसुरमा प्रतिवादी विनोद कुँवर थारूलाई सोही महलको ऐ. १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गरिपाउँ भन्ने बेहोराको अभियोग मागदाबी ।

जाहेरवाला नगेन्द्र चौधरी तथा मृतक परमानन्द चौधरीलाई मैले चिन्दिनँ । रिसइवी पनि थिएन । मिति ०६८।१०।१६ गते दिउँसो जिल्ला रूपन्देही मधवलिया गा.वि.स. वडा नं. ९ स्थित कत्था कम्पनीमा काम गर्न गएको र साँझ ७:३० बजेतिर सोही ठाउँको पर्सहवाको पसलमा भोला किन्न भनी गएको थिएँ । सोही अवस्थामा परमानन्दसँग पहिलो पटक भेट भएको थियो । मैले भोला किन्न लाग्दा परमानन्दले मलाई गाली गरेका थिए । रक्सीले मातिएकाले म केही नबोली घरतिर गएँ । निजले मान्छे लगाएर मिटाइदिन्छु भनेका पनि थिए । त्यसपछि म अघि अघि घरतिर निज पछि पछि गाली गर्दै आइरहेका थिए । म आफ्नो घरतिर गएँ । निजलाई कसले कुटपिट गरेको हो, मैले 

देखिनँ । मसँग झगडा भई हात हालाहाल भएको होइन । मैले परमानन्दलाई कुटपिट गरेको होइन । मलाई सम्झाउन आउँदा म छलिएपछि निज बाटोमा ढलेका हुन् । अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत प्रतिवादी विनोद कुँवर थारूले अदालतसमक्ष गरेको बयान । 

मेरा दाजु परमानन्द चौधरी मंगलापुरबाट काम गरी फर्कने क्रममा मिति २०६८।१०।१६ गते अ. ७:३० बजे साँझको समयमा पर्सहवाको रक्सी खाने पसलमा नास्ता गर्न पसेको र प्रतिवादी विनोद कुँवर थारूसँग सामान्य भनाभन भएको र निज प्रतिवादीले कुटपिट गरी फरार भएको भनी सुनेको हुँ । म घटनास्थल पुग्दा दाजु उत्तानो परेर लडेको देखेको हुँ । मेरो दाजुको दुईवटै आँखा सुन्निएको र मुख र कानबाट रगत आएको देखेको हुँ । यसपछि उपचारको क्रममा मृत्यु भएको भन्नेसमेत बेहोराको जाहेरवाला नगेन्द्र चौधरीले अदालतसमक्ष गरेको बयान । 

मेरो पसलमा घटना भएको दिन मृतक परमानन्द चौधरी र नोखिया चौधरी आई मासु रक्सी खाए, त्यसपछि प्रतिवादी विनोद कुँवर थारू पसलमा आई २ वटा भोला (गुट्खा) किनेर गएका हुन् । परमानन्दले विनोद कुँवर थारूलाई एकछिन पख भनेको सुनेको थिएँ, मैले के भएछ भन्ने लागेको थियो । मृतक परमानन्द र प्रतिवादीबिच हात हालाहाल भएको होइन भन्ने बेहोराको घटना विवरण कागज गर्ने केशरी गाहाले अदालतसमक्ष गरेको बयान । 

प्रतिवादीले गुट्खा किन्न आएको अवस्थामा पसलमा झगडा भएको र पछि कुटपिट भई परमानन्दको मृत्यु भएको हो भन्ने बेहोराको घटना विवरण कागज गर्ने नोखई कुँवर थारू र दिपनारायण चौधरीले अदालतसमक्ष गरेको बयान । 

घटना भएको दिन मन्दिर गएर फर्किंदा निज मृतक रक्सी खाई बाटोमा पल्टेको देखेको त्यसको दस-बाह्र दिनपछि निजको मृत्यु भएको थाहा पाएको हुँ । विनोद कुँवर थारूले परमानन्दलाई कर्तव्य गरी मारेका होइनन् भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी पुरन श्रेष्ठले अदालतसमक्ष गरेको बकपत्र ।

प्रस्तुत वारदातको प्रकृतिलाई हेर्दा प्रतिवादी विनोद कुँवरले परमानन्द चौधरीलाई मार्ने मनसाय नराखेको, ज्यानै लिनुपर्नेसम्मको पुरानो वा तात्कालिक रिसइवी रहेको नदेखिएको, लुकीचोरी हानेको नदेखिई पछिपछि गाली गर्दै आएका परमानन्दले विनोद कुँवरको घेच्रोमा पछाडिबाट हानेकोले विनोद कुँवरले रिस थाम्न नसकी "फनक्क फर्की परमानन्दको मुखमा एक पन्च हिर्काएको” भन्ने देखिएको, जोखमी प्रकृतिको वा कुनै हतियार लाठा ढुङ्गासम्म पनि प्रयोग नभई मुक्का प्रहार गरेकोसम्मको अवस्था रहेको, रक्सी खाएका परमानन्द चौधरी उक्त मुक्का प्रहारबाट पिच सडकमा लडी टाउकोमा चोट पर्न गएको, उपचारको क्रममा मृत्यु भएको भन्ने देखिएको, अन्य व्यक्तिसमेत भई कुटपिट गरेको भन्न मिल्ने अवस्था देखिन नआएकोले उल्लिखित ज्यानसम्बन्धी महलको १४ नं. को कानूनी व्यवस्थाले निर्देश गरेअनुसारको आवेशप्रेरित हत्याको आधारभूत तत्त्वहरू विद्यमान रहेको देखिन आएको हुँदा प्रतिवादी विनोद कुँवर थारूले उपर्युक्त कानूनी व्यवस्थानुसारको कसुरसम्म गरेको देखिई सोही कानूनअनुरूपको दायित्व निर्वाह गर्नुपर्ने देखियो । अतः माथि लेखिएका तथ्य, प्रमाण र सोको विवेचनाबाट देखिएको निष्कर्षका आधारमा प्रतिवादी विनोद कुँवर थारूले परमानन्द चौधरीलाई मार्नुपर्नेसम्मको मनसाय तथा रिसइवी नरहेको, तत्कालै उठेको रिस थाम्न नसकी मुक्का प्रहार गरेको, सोही कारणबाट उपचारको क्रममा परमानन्द चौधरीको मृत्यु भएको देखिँदा ज्यानसम्बन्धी महलको १४ नं. बमोजिमको अवस्था देखिँदा प्रतिवादी विनोद कुँवरलाई उक्त १४ नं. बमोजिम दश वर्ष कैद हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू रूपन्देही जिल्ला अदालतबाट मिति २०६९।८।१९ मा भएको फैसला ।

मृतक परमानन्दको मृत्युको कारण Head injury देखिन्छ । मृतकले  मृत्यु हुनुभन्दा पूर्व धेरै मादक पदार्थ सेवन गरेको भन्ने मिसिल प्रमाणबाट स्थापित भएको छ । रक्सी सेवनका कारण पिच बाटोमा ढली टाउकोमा चोट लागी मृत्यु भएको कारणलार्इ आवेशमा आर्इ हानेर मृत्यु भएको भनी संज्ञा गर्दै मलार्इ सजाय गरेको, होटल सञ्चालिका केशरी गाहाले अदालतमा बकपत्र गर्दा मृतक र प्रतिवादीबिच हात हालाहाल भएको मैले देखिनँ भनी बकपत्र गर्नुभएको छ । निज केशरी गाहा प्रस्तुत मुद्दामा प्रत्यक्षदर्शी साक्षी हुन्, उनले बाटोमा परमानन्द चौधरी पल्टेको देखेको, मैले हात नहालेको भनी उल्लेख गरेको अवस्थामा मलार्इ सजाय गरेको एवं प्रस्तुत मुद्दाका प्रत्यक्षदर्शी साक्षी नोखर्इ कुँवर थारू देखिन्छ । निज होटलदेखि परमानन्द बाटोमा ढलेसम्म मृतकको साथमा रहेको देखिन्छ । निजले बकपत्रको स.ज. ८ मा मैले कुटपिट गर्ने मानिस चिनिनँ भनेका छन् । यसरी घटनामा मृतक होसमा हुँदा मेरो नाम किटानी गरी कुनै कागज नगरेको अवस्थामा मलार्इ सजाय गर्दा अन्यायमा परेको छु । मेरो पुनरावेदन जिकिर एवं प्रमाणको मूल्याङ्कन गरी रूपन्देही जिल्ला अदालतको मिति २०६९।८१९ को फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी विनोद कुँवर थारूको पुनरावेदनपत्र ।

प्रतिवादीले पहिलेदेखिकै रिसइवीको कारणले परमानन्द चौधरीलार्इ बक्सिङले कुटपिट गरी मर्‍यो भनी घटनास्थलमा छाडी फरार भएकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने जाहेरी, अनुसन्धानको क्रममा बुझिएका नोखर्इ कुँवर थारूले केशरी गाहाको पसलमा नास्ता खार्इ हिँड्न लागेको अवस्थामा विनोद कुँवर थारू आर्इ गुट्खा मागेको बेला परमानन्द र विनोदबिच विवाद भएको, पसलवालीले बाहिर निकालिदिएपछि परमानन्दले गाली गर्दा विनोदले पछाडिबाट झम्टिएको र मैले नहान भन्दाभन्दै विनोदले हिर्काएपछि परमानन्द भुइँमा ढलेको अवस्था छ । त्यसैगरी तिलबहादुर थारू, दीपनारायण चौधरीसमेतले मृतकलार्इ विनोदले कुटपिट गरेकोमा उपचारको क्रममा निजको मृत्यु भएको हो भनी भनेका, घटना विवरण कागज गर्ने मानिसहरूले समेत अदालतमा आर्इ उक्त वारदातमा प्रतिवादीको संलग्नतालार्इ पुष्टि हुने गरी बकपत्र गरेको एवं लासजाँच मुचुल्कामा उल्लिखित चोटको प्रकृतिबाट निर्मम र निर्घात रूपमा कुटपिट भएको तथ्य पुष्टि हुँदाहुँदै मार्नुपर्नेसम्मको मनसाय नखुलेको रिसइवी नभएको भनी १३(३) नं. बमोजिम सजायको अभियोग दाबी पुग्न नसक्ने आवेशप्रेरित हत्याको श्रेणीमा राखी प्रतिवादीउपर ज्यानसम्बन्धी महलको १४ नं. आकृष्ट हुने भनी गरिएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी निज प्रतिवादीलार्इ अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत बुटवलमा पर्न आएको पुनरावेदनपत्र ।

यसमा नेपाल सरकार र प्रतिवादीको पुनरावेदन पर्न आएको देखिँदा उक्त पुनरावेदनहरूको जानकारी परस्पर गरार्इ नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत बुटवलको मिति २०७०।६।१४ को आदेश ।

मृतकले वारदातको दिन रक्सी खाएको र यी प्रतिवादीसँग झगडा गरेको भन्नेसमेत मिसिलबाट देखिँदा तत्कालै उठेको रिसले मृतक परमानन्द चौधरीलार्इ एक पन्च हानेकोमा मृतक सडकमा लडेको, मृतकलार्इ मार्नुपर्नेसम्मको कारण र पूर्वरिसइवी नरहेकोमा यसरी रिसको आवेगमा ‍आर्इ प्रतिवादी विनोद कुँवर थारूले मृतकलार्इ एक पन्च हिर्काउँदा मृतक पिच सडकमा लडी निजको टाउकोमा लाग्न गर्इ उपचारको क्रममा मृत्यु भएको अवस्थामा सुरू अदालतले फैसला गर्दा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैदको सजाय गर्ने गरेको मिति २०६९।८।१९ को फैसला नमिलेको हुँदा केही उल्टी हुने ठहर्छ । अब प्रतिवादीले गरेको कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं. बमोजिमको कसुर भएको पुष्टि हुन आएको देखिँदा निज प्रतिवादी विनोद कुँवर थारूलार्इ ज्यानसम्बन्धी महलको ६(२) नं. बमोजिम २(दुर्इ) वर्ष कैदको सजाय हुने ठहर्छ भन्‍ने बेहोराको पुनरावेदन अदालत बुटवलबाट मिति २०७०।९।३० मा भएको फैसला ।

प्रस्तुत मुद्दामा प्रतिवादीको कुटपिट चोट प्रहारबाट मृतकको मृत्यु भएको तथ्य पुनरावेदन अदालतको फैसलासमेतबाट स्थापित भएको छ । घटनाका प्रत्यक्षदर्शी नोखई कुँवर थारूले केशरी गाहाको पसलमा गुट्खा किन्ने क्रममा प्रतिवादी र मृतक परमानन्द भेट भई दुवैबिच पसलभित्रै विवाद भएकोमा झगडा नगर भन्दै पसलबाहिर जान भनेकी र निजहरू पसलबाहिर गइसकेपछि निज प्रतिवादी विनोद कुँवर थारू र अरू २ जनासमेत जम्मा भई मृतक परमानन्द चौधरीलाई कुटपिट गरी सडकमा ढालेपछि भागेका हुन् भनी निजले अदालतसमक्ष गरेको बकपत्रमा उल्लेख गरेका छन् । प्रतिवादी र मृतकबिच पूर्वरिसइवी रहेको भन्ने जाहेरीबाट प्रस्ट देखिएको छ । मृतकको घटनास्थल तथा लास प्रकृतिबाट आँखा निलो भई सुन्‍निएका तथा मुख र कानबाट रगत आएको अवस्था देखिएको छ । लासजाँच प्रकृति मुचुल्कामा बायाँ कानमाथि काटेको (अपरेसन गर्दा) ‘C’ आकारमा १८ वटा टाँका लगाएको, बायाँपट्टि निधारबाट कानसम्म ‘C’ आकारमा २२ वटा टाँका लगाएको र दुवै आँखा निलो भएको भन्ने उल्लेख छ । यस्तै, लासजाँच प्रतिवेदनमा Consequences of Head injury (Epidural Hematoma) भन्ने उल्लेख भएबाट टाउकाको चोटको कारण मृत्यु भएको पुष्टि भएको छ । यसरी सङ्कलित प्रमाणबाट प्रतिवादी विनोद कुँवर थारूले पूर्वरिसइवीका कारण विवाद निकाली मृतकको टाउकोसमेत नाक मुखमा पटकपटक गम्भीर रूपमा चोट प्रहार गरी सडकमा ढलिसकेपछि मर्‍यो भनी भागेको तथ्य निर्विवाद रूपमा पुष्टि भएको छ । तसर्थ, यी प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत कसुर गरेकोले सोही ऐन महलको १३(३) नं. बमोजिम सजाय गर्नुपर्नेमा कानूनी व्यवस्थाको गलत व्याख्या गरी भवितव्य ठहर गरिएको पुनरावेदन अदालत बुटवलको फैसला कानूनी रूपमा नै गम्भीर रूपमा त्रुटिपूर्ण हुँदा बदरभागी छ भन्‍ने बेहोराको पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

यसमा प्रतिवादीले मृतकलाई प्रहार गरेको मुक्‍काबाट निजको मृत्यु भएको तथ्य देखिएको अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धीको ५ नं. बमोजिम कसुर ठहर्‍याएको पुनरावेदन अदालत बुटवलको फैसलामा ज्यानसम्बन्धीको ५, ६, १३ र १४ नं. को व्याख्यात्मक प्रश्‍न समावेश भई फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको २०२ नं. बमोजिम छलफलको लागि प्रत्यर्थी झिकाई नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७३।१२।७ मा भएको आदेश ।

यस अदालतको ठहर

नियमबमोजिम पेसी सूचीमा इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ सहन्यायाधिवक्ता श्री ईश्वरीप्रसाद ढकालले घटनाका प्रत्यक्षदर्शी रहेका केशरी गाहाले मृतक र प्रतिवादीबिच आफ्नो पसलमा विवाद भएको र मृतक बाटोमा जाँदै गर्दा प्रतिवादीसमेत दुई जनाले मृतकउपर कुटपिट भएको भनी अदालतमा गरेको बकपत्रमा उल्लेख गरेको तथा निज मृतकको लासजाँच मुचुल्कामा मृतकको बायाँपट्टि कानमाथि र निधारसम्म चोट भई धेरैवटा टाँका लगाएको देखिएको तथा शव परीक्षण प्रतिवेदनमा मृत्यु टाउकोको गम्भीर चोटका कारणले भएकोसमेतका कागज प्रमाणबाट मृतक परमानन्दको मृत्यु प्रतिवादी विनोद कुँवर थारूले कुटपिट गरेबाट मृत्यु भएको पुष्टि भएकाले पुनरावेदन अदालत बुटवलले गरेको फैसला कानूनी व्याख्यामा त्रुटिपूर्ण रहेको हुँदा निज प्रतिवादीलार्इ अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो । 

यसमा विद्वान्‌ सहन्यायाधिवक्ताको बहस जिकिरसमेत सुनी पुनरावेदन पत्रसहितको मिसिल अध्ययन गर्दा, तत्कालीन पुनरावेदन अदालत, बुटवलको फैसला मिलेको छ, छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन भनी निर्णय दिनुपर्ने देखियो ।

२. अब निर्णयतर्फ विचार गर्दा, प्रतिवादी विनोद कुँवर थारूले मृतक परमानन्द चौधरीलार्इ पूर्वरिसइवीको कारण मार्ने मनसायले कुटपिट गरी मारेकाले निजलार्इ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) नं. को कसुरमा सोही १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी रहेको देखियो । सुरू रूपन्देही जिल्ला अदालतबाट निज प्रतिवादीलार्इ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम दश वर्ष कैद हुने र ज्यानसम्बन्धी महलको १३(३) नं. को कसुरमा सजाय हुनुपर्ने भन्नेसम्मको वादी दाबी पुग्न नसक्ने ठहर भई सुरू रूपन्देही जिल्ला अदालतबाट फैसला भएको पाइयो । उक्त फैसलाउपर चित्त नबुझी प्रतिवादी विनोद कुँवर थारूले अभियोग मागदाबीबाट सफाइ पाउँ भनी र वादी नेपाल सरकारले अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी दोहोरो पुनरावेदन परेको देखियो । पुनरावेदन अदालत बुटवलबाट प्रतिवादीले तत्कालै उठेको रिसले मृतक परमानन्द चौधरीलार्इ एक पन्च हानेकोमा मृतक सडकमा लडेको मृतकलार्इ मार्नुपर्नेसम्मको कारण र पूर्वरिसइवी नरहेको भनी सुरू अदालतको फैसला उल्टी गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं. बमोजिमको कसुरमा सोही महलको ६(२) नं. बमोजिम २(दुर्इ) वर्ष कैदको सजाय हुने ठहरी फैसला भएको देखिन्छ । उक्त फैसलामा कानूनी व्याख्यामा त्रुटि भएको हुँदा प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने जिकिर लिई वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परेको देखियो ।

३. प्रस्तुत मुद्दामा मिसिल अध्ययन गर्दा, जाहेरी दरखास्त, लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन तथा बुझिएका व्यक्तिहरूको भनाइसमेतका कागजातबाट मृतक परमानन्द चौधरीको मृत्यु भएको कुरामा कुनै विवाद देखिएन । नोखर्इ चौधरी र मृतक परमानन्द चौधरी मिति २०६८।१०।१६ गते १८:३० बजेतिर मेरो होटलमा आर्इ मासु रक्सी खाँदै थिए । सोही समयमा प्रतिवादी विनोद कुँवर थारू पसलमा आर्इ भोला मागी लिर्इ पसलबाट बाहिर निस्केपछि परमानन्द र नोखर्इ कुँवर थारू पनि पछिपछि गर्इ हात हालाहाल भर्इ परमानन्द भुइँमा लडेका हुन् भनी केशरी गाहाले मौकामा कागज गरेको  देखिन्छ । प्रतिवादी विनोद कुँवर थारूले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मिति २०६८।१०।१६ मा परमानन्द चौधरीको मुखमा १ पन्च हिर्काएकोमा निजले रक्सी खाएको हुँदा पिच सडकमा पछारिएकाले मलार्इ डर लागी त्यहाँबाट भागी फरार भएको हुँ भनी बयान गरेको देखिन्छ भने निज प्रतिवादीले अदालतमा कसुरमा इन्कारी बयान गरेको देखिन्छ । तथापि निज प्रतिवादीले मृतक परमानन्दसँग घटना भएको दिन मिति २०६८।१०।१६ गते साँझ भेट भएको र भोला (गुट्खा) किन्‍न लाग्दा परमानन्दले गाली गरे पनि निज रक्सीले मातेकाले केही नबोली घरतर्फ गएको भनी बयान गरेको पाइन्छ । प्रतिवादीको उक्त बयान, घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का, मौकामा बुझिएका व्यक्तिहरूको भनाइसमेतका आधार प्रमाणहरूबाट यी प्रतिवादी विनोद कुँवर थारूको घटनास्थलमा उपस्थिति रहेको कुरालाई थप पुष्टि गरेको देखियो । 

४. घटनास्थल तथा लास प्रकृतिबाट मृतकको आँखा निलो भई सुन्निएको, मुख र कानबाट रगत आएको र मृतकको बायाँ कानमाथि काटेको कारण निधारबाट कानसम्म २२ वटा टाँका लगाएको भनी उल्लेख भएको देखिन्छ । मृतक परमानन्दको शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण Consequences of Head Injury भनी उल्लेख भएको देखिन्छ । प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मृतकले आफूलार्इ हिर्काएकोले आफूलार्इ रिस उठी आफूले पनि एक पन्च हिर्काएकोमा मृतक सडकमा पछारिन गएको हो भनी उल्लेख गरेको पाइन्छ । मौकैमा पर्न आएको जाहेरी दरखास्त केशरी गाहा, नारायण चौधरी, नोखर्इ कुँवर थारू, नगेन्द्र चौधरीसमेतको मौकाको कागज तथा अदालतमा भएको बकपत्रसमेतबाट मृतक परमानन्दलाई प्रतिवादी विनोद कुँवरले कुटपिट हुँदा निज सडकमा पछारिन गएको सोही चोटका कारणबाट मृत्यु भएको रहेछ भन्ने कुरा पुष्टि हुन आयो । यस अवस्थामा यी प्रतिवादीको कर्तव्यका कारण परमानन्दको मृत्यु भएको भन्ने देखिन आयो ।

५. अब, यी प्रतिवादीबाट मृतकलाई कर्तव्य गरी मारेको कसुरमा निज प्रतिवादीलाई हुने सजायको सम्बन्धमा विचार गर्दा, मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. मा "ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इवी पनि रहेनछ, लुकी चोरीकन पनि हानेको रहेनछ, उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादि हान्दा सोही चोट, पीरले ऐनका म्यादभित्र मरेमा दस वर्ष कैद गर्नुपर्ने" व्यवस्था रहेको देखिन्छ । यस व्यवस्थाले पीडकको पीडितलाई मार्ने मनसाय नरहे पनि पीडितले उत्तेजित पारेको अवस्थामा उक्त रिस थाम्न नसकी साधारण लाठा, लात, मुक्का आदिले हान्दा सोही चोटका कारण ऐनका म्यादभित्र मरेमा दस वर्ष कैद सजाय हुने व्यवस्था गरेको देखिन्छ । यस्तै, मुलुकी ऐन ज्यानसम्बन्धी महलको ५ नं. मा कानूनी व्यवस्था हेर्दा, "ज्यान लिने इविलाग नभई कसैले आफूले गरेको कर्तव्यबाट मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै कामकुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएमा भवितव्य ठहर्छ” भन्ने 

देखिन्छ । साथै, सोही महलको ६(२) नं. को व्यवस्थामा "होस नपुर्‍याई वा हेलचेक्र्याईं गरी कुनै काम गर्दा भवितव्य परेमा पाँच सय रूपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने" उल्लेख भएको देखिन्छ । यस व्यवस्थाबमोजिम भवितव्य ठहर्न पीडकको मार्ने मनसाय नभएको, आफूले गरेको कामबाट कोही मर्छ भन्नेसमेत आङ्कलन नगरिएको तर कर्ताको असावधानी वा हेलचेक्र्याईंका कारण मानिस मर्न गएको हुनुपर्ने देखिन्छ । यसरी घटनापूर्व पीडक र पीडितको सम्बन्धबारे एकआपसमा जानकार वा आमनेसामने नभए तापनि कर्ताले आफ्नो कार्यमा आवश्यक सावधानी नगरेको वा हेलचेक्र्याईं भएको कारणबाट कुनै व्यक्तिको मृत्यु भएको अवस्थामा भवितव्य मानिने गरी कानूनमा स्पष्ट व्यवस्था गरेको देखिन्छ । यसर्थ भवितव्यमा कर्ताको कार्य सामान्यतः कानूनद्वारा वर्जित नगरेको र निज कर्ताको कार्यबाट कुनै व्यक्तिको हत्या नै हुन पुग्छ भन्नेसमेत आशंका हुँदैन । तथापि कर्ताले आफ्नो कार्यमा उचित सावधानी अपनाउन नसकेका कारण कुनै व्यक्तिको हत्या हुन जाने स्थितिलाई भवितव्य हत्या मान्नुपर्ने गरी कानूनी व्यवस्था रहेको बुझ्नुपर्ने देखियो ।

६. प्रस्तुत मुद्दामा प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा मृतक परमानन्दले आफूलाई पछाडिबाट टाउकोमा हानेको र सोका कारण रिस उठी थाम्न नसकी मृतकको अगाडितिर मुखमा हानेको भनी लेखाएको देखिन्छ । यसरी मृतकले प्रतिवादीलाई उत्तेजित गरेको कारणबाट निज प्रतिवादी आवेशमा आई सोही बखत सिधै मुखमा हानेको र मृतक सडकमा ढल्न गएको देखिन्छ ।  मृतक सडकमा ढलेको अवस्थामा निजको टाउकोमा गहिरो चोट लागेको र सोही चोटका कारण उपचारको क्रममा मृत्यु भएको देखियो । प्रतिवादीको मृतकप्रति पूर्वरिसइवी रहेको र निज मृतकलाई मार्नेसम्मको योजना रहेको भन्नेसमेत मिसिलबाट देखिँदैन । यसरी प्रतिवादीको मृतकलाई मार्ने मनसाय नभए तापनि मृतकको कारणबाट प्रतिवादीले रिस थाम्न नसकी मृतकको मुखमा मुक्का प्रहार गरेको र निजको सोही मुक्का प्रहारको कारणबाट मृतक परमानन्दको मृत्यु भएको अवस्था देखिन आयो । यसरी मृतकको कारणबाट प्रतिवादीले आत्मसंयम गुमाई तत्कालै अगाडिबाट मृतकलाई प्रहार भई मृत्यु हुन पुगेको र त्यस अवस्थामा कुनै जोखिमी हतियारसमेत प्रयोग नभएको देखिएको हुँदा निज प्रतिवादीको कार्य भवितव्य नभई आवेशप्रेरित हत्या भएको भनी मान्नुपर्ने अवस्था देखिन आयो । यस अवस्थाबाट पुनरावेदन अदालत बुटवलले प्रतिवादीको कार्यलाई भवितव्य ठहर्‍याई गरेको सजाय न्यायको रोहमा मिलेको नदेखिँदा उल्टी हुने देखियो । साथै, प्रतिवादीले मृतकलाई मार्नेसम्मको कुनै योजना बनाएको नदेखिएको र निजलाई अन्यले सहयोग गरेको भनी लिएको जिकिर पुष्टि हुने गरी ठोस प्रमाणसमेत पेस हुन नसकेको हुँदा प्रतिवादीको कार्य मनसाय प्रेरित हत्या भनी मान्न मिल्ने नदेखिँदा वादी नेपाल सरकारको पुनरावेदन जिकिरसमेत पुग्न सक्ने देखिएन । 

७. अतः माथि विवेचित आधार र कारणबाट प्रतिवादी विनोद कुँवर थारूले मृतक परमानन्द चौधरीलार्इ कुटपिट गरी मारेकाले निजलार्इ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) नं. को कसुरमा सोही १३(३) नं. बमोजिम सजायको अभियोगदाबी रहेकोमा सुरू रूपन्देही जिल्ला अदालतबाट निज प्रतिवादीलार्इ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम दश वर्ष कैद हुने गरी मिति २०६८।८।१९ मा फैसला भएकोमा पुनरावेदन अदालत बुटवलबाट फैसला केही उल्टी गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं. बमोजिमको कसुरमा निज प्रतिवादीलार्इ ज्यानसम्बन्धी महलको ६(२) नं. बमोजिम २(दुर्इ) वर्ष कैदको सजाय ठहरी मिति २०७०।९।३० मा भएको फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । निज प्रतिवादीलार्इ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम दश वर्ष कैद सजाय हुने ठहर्छ । यस फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई फैसलाको विद्युतीय प्रति अपलोड गरी प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी नियमानुसार मिसिल अभिलेख शाखामा बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या.डा.मनोजकुमार शर्मा

 

इजलास अधिकृत : शिवबहादुर थापा

इति संवत् २०७७ साल माघ २० गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु