निर्णय नं. १०९२८ - लागु औषध खैरो हेरोइन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
फैसला मिति : २०७८।३।९
०७७-CR-०१३६
मुद्दा:- लागु औषध खैरो हेरोइन
पुनरावेदक / वादी : प्र.ना.नि. दिलबहादुर महराको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : कृष्णबहादुर न्यौपानेको छोरा जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं.२ बस्ने सञ्जय न्यौपानेसमेत
सँगसँगै रहेको साथीसँग गैरकानूनी चिजवस्तु बरामद हुनु र सो वस्तुसँग अन्य सँगसाथका व्यक्तिहरूको संलग्नता हुनु भिन्न कुरा हुन् । कसैसँग सँगसँगै रहेको समूहमा पक्राउ परेकै भरमा थाहासम्म पनि नपाएको विषयमा कसुरदार ठहऱ्याउनु न्यायसङ्गत नहुने ।
(प्रकरण नं.३)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०६८, अङ्क १२, नि.नं.८७४३
सम्बद्ध कानून :
लागु औषध नियन्त्रण ऐन, २०३३
सुरू तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री विष्णुप्रसाद अर्याल
कैलाली जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री कुमारप्रसाद पोखरेल
माननीय न्यायाधीश श्री राजकुमार वन
उच्च अदालत दिपायल
फैसला
न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं.२ मिलनचौकस्थित पूर्वमा सञ्जय न्यौपानेको पक्की घर, पश्चिममा उपेन्द्र घिमिरेको पक्की घर र उत्तर-दक्षिण ट्राफिक चौराहादेखि त्रिनगर भन्सार जाने मूल सडकखण्ड यति चार किल्लाभित्र रहेको स्थानमा सन्तोष भट्ट, सञ्जय न्यौपाने, सरोज भट्ट र सुरेन्द्र भट्टसँग लागुऔषध हुन सक्ने शङ्का लागेर शरीर खानतलासी गर्दा सन्तोष भट्टले लगाई राखेको पाइन्टको खल्तीमा एक फायल (१५ ट्याब्लेट) नाइट्रोभेट, प्रतिवादी सुरेन्द्र भट्टले बोकेको कालो झोलाभित्र २ फायल (३० ट्याब्लेट) नाइट्रोभेट, ८ ट्याब्लेट स्पास्मो प्रोक्सिभन, ४ सिसि डाइलक्स लेखिएको झोल पदार्थ र सरोज भट्टले लगाई राखेको पाइन्टको खल्तीमा प्लाष्टिकभित्र २ पुडिया बनाई राखेको प्लाष्टिकसहितको तौल गर्दा १६ ग्राम, खुद तौल गर्दा १४ ग्राम खैरो हेरोइन र सिक्का थान १ फेला परेको भन्नेसमेत बेहोराको बरामदी तथा खानतलासी मुचुल्का ।
मिति २०७३।१२।३ गते बेलुकी १९.०० बजेको समयमा जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं. २ मिलनचौक एरियामा मसमेतको टोली आवश्यक सूचना सङ्कलन, वस्तुस्थिति बुझ्नेसमेतको कार्यको लागि खटिएको अवस्थामा मिलनचौकस्थित सडक किनारामा सन्तोष भट्टमाथि शङ्का भई निजको शरीर खानतलासी गर्दा एक फायल (१५ ट्याब्लेट) नाइट्रोभेट फेला पारी बरामद गर्न लाग्दा निज सन्तोष भट्टले विभिन्न प्रलोभनका कुरा गरिरहँदा सोही बरामदी स्थाननजिक सञ्जय न्यौपाने, सरोज भट्ट, सुरेन्द्र भट्टसमेत आई सन्तोष भट्टको पक्षमा कुरा गरेपछि निजहरूको समेत शरीरको खानतलासी गर्दा प्रतिवादी सुरेन्द्र भट्टले बोकेको कालो रङ्गको पिठ्युँमा बोक्ने झोलाभित्र २ फायल (३० ट्याब्लेट) नाइट्रोभेट, ८ ट्याब्लेट स्पास्मोप्रोक्सिभन, ४ सिसि डाइलक्स लेखिएको झोल पदार्थ र सरोज भट्टले लगाएको पाइन्टको खल्तीमा प्लाष्टिकभित्र २ पुडिया बनाई राखेको प्लाष्टिकसहितको तौल गर्दा १६ ग्राम खुद तौल गर्दा १४ ग्राम खैरो हेरोइन र सिक्का थान १ फेला पारी बरामद गरी आवश्यक कारबाहीको लागि दाखिला गरेको भन्नेसमेत बेहोराको प्रहरी नायब निरीक्षक दिलबहादुर महराको प्रतिवेदन जाहेरी ।
म विगत १५/२० वर्ष अगाडिदेखि लागुऔषध सेवन गर्ने लतमा परी एकपटक प्रहरीले पक्राउ गरी ४२ दिन कैद र रू.५,०००।– जरिवाना भई ३ महिना सुधारगृहमा बसी आएको हुँ । सोपश्चात् मैले लागुऔषध (चरेस) मात्र सेवन गर्दै आएको
थिएँ । लागुऔषध सेवन गर्दै आएको अवस्थामा प्रतिवादी सन्तोष भट्ट, सरोज भट्ट र सुरेन्द्र भट्टसँग चिनजान भई भेटघाटका क्रममा लागुऔषध खैरो हिरोइनसमेत सेवन गर्ने गरेको थिएँ । मिति २०७३।१२।२ गतेका दिन यसै मुद्दाका प्रतिवादी सरोज भट्टले मलाई फोन गरी म धनगढी आएको छु । मेरो झोला तपाइँको घर कोठामा राखेको छु भनी फोनमार्फत मलाई जानकारी दिएको
थियो । सो समयमा म घरमा थिइनँ । भोलिपल्ट वारदात मितिका दिन मलाई प्रतिवादी सरोज भट्टले फोन गरी म झोला लैजान आएको छु, कहाँ हुनुहुन्छ ? भनेपछि म घरमा गएको थिएँ । घरमा पुग्दा प्रतिवादी सन्तोष भट्ट र सरोज भट्ट मेरो घर आँगनमा उभिएका थिए । केही समयपश्चात् अर्का प्रतिवादी सुरेन्द्र भट्टसमेत सो स्थानमा आउँदा प्रतिवादी सरोज भट्टले मेरो घर कोठामा राखेको झोला निकाली प्रतिवादी सुरेन्द्र भट्टलाई समात्न दिएका थिए । सोपश्चात् सबैजना आ–आफ्नो घरतर्फ जान लाग्दा प्रतिवादी सन्तोष भट्टलाई सादा पोशाकमा आएका प्रतिवेदकसमेतको टोलीले सोधपुछ एवं शरीरको खानतलासी गर्न लाग्दा मसमेत सो स्थानमा गई प्रतिवादी सन्तोष भट्टको पक्ष लागी प्रहरी टोलीसँग कुरा गर्न खोज्दा मसमेतको शरीरको खानतलासी प्रतिवादी सन्तोष भट्टको साथबाट एक फायल नाइट्रोभेट (१५ ट्याब्लेट), प्रतिवादी सुरेन्द्र भट्टले बोकेको झोलाभित्र २ फायल (३० ट्याब्लेट) नाइट्रोभेट, ८ ट्याब्लेट स्पास्मोप्रोक्सिभन, ४ सिसि डाइलक्स लेखिएको झोल पदार्थ र सरोज भट्टले लगाई राखेको पाइन्टको खल्तीमा प्लाष्टिकभित्र २ पुडिया बनाई राखेको प्लाष्टिकसहितको तौल गर्दा १६ ग्राम, खुद तौल गर्दा १४ ग्राम खैरो हिरोइन र सिक्का थान १ समेत फेला पारी बरामद गरेको हो । बरामद लागुऔषध प्रतिवादी सरोज भट्टले भारतबाट खरिद गरी ल्याई आफ्नो साथमा तथा अन्य प्रतिवादीहरूलाई राख्न दिएको अवस्थामा बरामद भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी सञ्जय न्यौपानेले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
मिति २०७३।१२।१ गतेका दिन म जग्गा जमिनको काम विशेषले डडेल्धुराबाट धनगढी आएको थिएँ । म लागुऔषध सेवनकर्ता भई भारततर्फ गई लागुऔषध खरिद गरी ल्याउने सोच राखी प्रतिवादी सञ्जय न्यौपानेलाई फोन सम्पर्क गरी निजलाई भेट गर्न गएको थिएँ । सोपश्चात् भारतीय पूर्वचिनजान भएका नागरिकलाई फोन गरी मलाई २० ग्राम खैरो हेरोइन ल्याइदिनु भनी निजले भारतको पलियासम्म आउनु भनेपश्चात् म भारतको पलिया गई भारतीय नागरिकबाट २० ग्राम खैरो हेरोइन रू. ५,०००।- मा खरिद गरी सोही स्थानमा रहेको मेडिकलबाट रू.२०००।– मा ४५ ट्याब्लेट नाइट्रोभेट, ८ ट्याब्लेट स्पास्मोप्रोक्सिभन, ४ सिसि डाइलक्स लेखेको सिसी खरिद गरी अन्दाजी ६ ग्राम जति लागुऔषध सोही स्थानमा सेवन गरेको हुँ । बाँकी रहेको लागुऔषध साथमा ल्याई झोलामा राखेको थिएँ । खैरो हेरोइन मैले आफ्नो साथमा राखेको
थिएँ । दिउँसो घर जान भनी सञ्जय न्यौपानेको घरमा भएको अवस्थामा मैले मेरो सहोदर भाइ प्रतिवादी सुरेन्द्र भट्टलाई फोन गरी सो स्थानमा बोलाएको थिएँ । सोही समयमा प्रतिवादी सञ्जय न्यौपाने र सन्तोष भट्ट पनि पुगेका थिए । सन्तोष भट्टले केही सामान छैन भनेपश्चात् मैले एक फायल लागुऔषध नाइट्रोभेट निजलाई समेत दिएको थिए । भाइ सुरेन्द्र भट्ट सो स्थानमा आएपश्चात् मेरो साथमा भएको झोला भाइलाई समात्न दिई जान लागेको अवस्थामा सादा पोसाकमा आएका प्रहरी टोलीले प्रतिवादी सन्तोष भट्टलाई सोधपुछ एवं शरीरको खानतलासी गर्न लाग्दा मसमेत सो स्थानमा गई प्रतिवादी सन्तोष भट्टको पक्षमा लागी कुरा गर्न खोजेपछि मेरोसमेत शरीरको खानतलासी भयो । मेरो साथबाट प्लाष्टिकभित्र २ पुडिया बनाई राखेको प्लाष्टिकसहितको तौल गर्दा १६ ग्राम, खुद तौल गर्दा १४ ग्राम खैरो हेरोइन र सिक्का थान १, प्रतिवादी सुरेन्द्र भट्टले बोकेको कालो रङ्गको पिठ्युँमा बोक्ने झोलाभित्र २ फायल (३० ट्याब्लेट) नाइटोभेट, ८ ट्याब्लेट स्पास्मोप्रोक्सिभन, ४ सिसि डाइलक्स लेखिएको झोल पदार्थ, प्रतिवादी सन्तोष भट्टको साथबाट एक फायल नाइट्रोभेट (१५ ट्याब्लेट) फेला पारेर बरामद गरी हामी चार जनालाई पक्राउ गरेको हो । बरामद लागुऔषध मैले खरिद गरी ल्याएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी सरोज भट्टको अनुसन्धान अधिकृतसमक्षको बयान ।
मिति २०७३।१२।१ गतेका दिन मसमेत प्रतिवादी सरोज भट्ट मेरो सहोदर दाजु जग्गा खरिद गर्न भनी धनगढी आएका थियौं । जग्गा जमिनको काम सकिएपश्चात् म आमालाई बसपार्कसम्म ल्याई अत्तरिया पठाइरहेको अवस्थामा मेरो दाजु सरोज भट्टले म भन्सार रोडमा छु, मलाई लैजान आऊ भनेपश्चात् म सो स्थानमा गएको थिएँ । सो स्थानमा जाँदा मलाई मेरो दाजुले कालो रङ्गको झोला समात्न दिएका थिए । सो स्थानमा प्रतिवादी सन्तोष भट्ट, सञ्जय न्यौपानेसमेत थिए । निज प्रतिवादीहरूलाई दाजुमार्फत चिनेको थिएँ । मैले लागुऔषध सेवन गर्ने गरेको छैन । कहिलेकाहीँ कोरेक्ससम्म सेवन गर्ने गरेको थिएँ । सो दिनसमेत कोरेक्स सेवन गरेको थिएँ । मलाई दाजुले झोला समात्न दिई घरतर्फ आउन लाग्दाको अवस्थामा प्रतिवादी सन्तोष भट्टलाई सादा पोशाकमा आएका प्रहरी टोलीले सोधपुछ गर्न लाग्दा मसमेत सो स्थानमा गएको अवस्थामा हामीहरूको समेत शरीरको खानतलासी गर्दा मेरो साथमा भएको कालो रङ्गको पिठ्युँमा बोक्ने झोलाभित्र २ फायल (३० ट्याब्लेट) नाइट्रोभेट, ८ ट्याब्लेट स्पास्मोप्रोक्सिभन, ४ सिसि डाइलक्स लेखिएको झोल पदार्थ, दाजु सरोज भट्टको साथबाट प्लाष्टिकभित्र २ पुडिया बनाई राखेको प्लाष्टिकसहितको तौल गर्दा १६ ग्राम खुद तौल गर्दा १४ ग्राम खैरो हेरोइन र सन्तोष भट्टको साथमा १५ ट्याब्लेट नाइट्रोभेट बरामद भएको हो । मलाईसमेत सोही स्थानबाट पक्राउ गरी ल्याएको हो । बरामद लागुऔषध दाजु सरोज भट्टले भारतबाट खरिद गरी ल्याएको हो । निजले पहिलादेखि नै लागुऔषध सेवन गर्दै आएको थियो भन्नेसमेत बेहोराको सुरेन्द्र भट्टले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
प्रतिवादी सरोज भट्ट, सुरेन्द्र भट्ट र सञ्जय न्यौपाने मेरो पूर्वचिनजानका साथी हुन् । प्रतिवादी सञ्जय न्यौपानेले भारततर्फ जाने गाडीको टिकट काट्ने मान्छे खोज्ने काम गर्दै आएको थियो । वारदात मितिको दिन प्रतिवादी सञ्जय न्यौपानेलाई मैले फोन गरी गाडीको बारेमा कुराकानी गर्दा निजले आफू भएको स्थानमा आउन भनेपश्चात् म जिल्ला कैलाली धनगढी २ भन्सार रोड आएको थिएँ । सो स्थानमा प्रतिवादी सञ्जय न्यौपानेसहित प्रतिवादी सरोज भट्ट, सुरेन्द्र भट्टसँग भेट भएको थियो । मैले सरोज भट्टसँग लागुऔषध नाइट्रोभेट कहाँ पाउँछ भनी सोधपुछ गर्दा निजले मसँग छ भनी एक फायल १५ ट्याब्लेट नाइट्रोभेट मलाई दिएको थियो । सो लागुऔषध मैले आफ्नो साथमा राखी घरतर्फ जान लाग्दाको अवस्थामा प्रहरी टोलीले मलाई रोकी सोधपुछ एवं शरीरको खानतलासी गर्दा मेरो साथबाट १५ चक्की नाइट्रोभेट फेला पारेको अवस्थामा अन्य प्रतिवादीसमेत सो स्थानमा आई मेरो पक्ष लागी कुरा गर्दा निजहरूको शरीरको खानतलासी गर्दा सुरेन्द्र भट्टको साथमा भएको कालो रंगको पिठ्युमा बोक्ने झोलाभित्र २ फायल (३० ट्याब्लेट) नाइट्रोभेट, ८ ट्याब्लेट स्पास्मोप्रोक्सिभन, ४ सिसि डाइलक्स लेखिएको झोल पदार्थ, दाजु सरोज भट्टको साथबाट प्लाष्टिकभित्र २ पुडिया बनाई राखेको प्लाष्टिकसहितको तौल गर्दा १६ ग्राम खुद तौल गर्दा १४ ग्राम खैरो हेरोइन बरामद गरी मसमेतलाई पक्राउ गरेको हो । बरामद लागुऔषध प्रतिवादी सरोज भट्टले भारतबाट खरिद गरी ल्याएको हो भन्नेसमेत बेहोराको प्रतिवादी सन्तोष भट्टको अनुसन्धान अधिकृतसमक्षको बयान ।
जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं.२ स्थित पूर्वमा सन्तोष न्यौपानेको खेतबारी, पश्चिममा धनगढी चौराहदेखि त्रिनगर भन्सारतर्फ जाने सडक खण्ड, उत्तरमा जीवननाथको पक्की घर, दक्षिणमा वीरबहादुर थापाको पक्की घर यति चार किल्लाभित्र रहेको सञ्जय न्यौपानेको ३ कोठे १ भान्सासहितको पश्चिम मोहडा भएको पक्की घर रहेको सो घरको पूर्वतर्फ रहेको सञ्जय न्यौपानेको बस्ने कोठामा प्रवेश गरी हेर्दा कुनै किसिमको लागुऔषध फेला नपरेको भन्नेसमेत बेहोराको बरामदी तथा खानतलासी मुचुल्का ।
मिति २०७३।१२।३ गतेका दिन म बरामदी स्थाननजिकै आफ्नो पसलमा नै थिएँ । सो स्थानमा मैले किराना पसल सञ्चालन गरी बसेको छु । सो दिन सादा पोसाकमा खटिएका प्रहरी गस्ती टोलीले प्रतिवादी सञ्जय न्यौपानेको घर आँगनबाट निजसमेतका ४ जनालाई लागुऔषधसहित फेला पारी बरामद गरी पक्राउ गरेको हो । प्रतिवादी सञ्जय न्यौपानेलाई म राम्ररी चिन्दछु । अन्य प्रतिवादीहरूलाई म चिन्दैन । प्रतिवादीहरू चार जनाको साथबाट बरामदी मुचुल्का र प्रतिवेदन जाहेरीमा उल्लेख भएबमोजिमको १४ ग्राम खैरो हेरोइन, ४५ ट्याब्लेट नाइट्रोभेट, ८ ट्याब्लेट स्पास्मोप्रोक्सिभन र ४ सिसि डाइलक्स फेला पारी प्रहरीले लागुऔषध बरामद गरी पक्राउ गरेको भन्ने कुरा थाहा पाएको हुँ । निज प्रतिवादीहरूले बरामद लागुऔषध के, कहाँबाट, को, कसले ल्याएको हो थाहा भएन । प्रतिवादी सञ्जय न्यौपानेले लागुऔषध (चरेस) सेवन गर्ने गरेको थाहा थियो । अन्य लागुऔषध सेवन गरेको मैले थाहा पाइन । अन्य प्रतिवादीहरूसँग चिनजान नभएका कारण के, कुन लागुऔषध सेवन गरे मलाई थाहा भएन भन्नेसमेत बेहोराको रमेश चौधरीको कागज ।
मिति २०७३।१२।३ गतेका दिन म स्थानीय धनगढी बजारमा नै अटो रिक्सा चलाइरहेको थिएँ । प्रतिवादी सञ्जय न्यौपाने मेरो मामाको छोरा भएकोले भाइ नाता पर्छ । अन्य प्रतिवादीहरूलाई म चिन्दिनँ । सो दिन प्रतिवादी सन्तोष भट्टसमेत के-कहाँ थिए मलाई थाहा भएन, वारदात मितिको बेलुकी अन्दाजी १७.०० बजेको समयमा मलाई टोल छिमेकीका मानिसहरूले सञ्जय न्यौपानेसमेत चार जनालाई प्रहरीले पक्राउ गरी लगेको छ भन्ने जानकारी फोनमार्फत सुनी थाहा पाएको हुँ । सोपश्चात् तत्कालै म घरमा जाँदा प्रतिवादीहरूलाई मैले देखिनँ । म घरमा पुगेपश्चात् टोलछिमेकका मानिसहरूलाई के भयो ? किन प्रहरीले सञ्जय न्यौपानेसमेतलाई पक्राउ गरी लगेको हो भनी सोधपुछ गर्दा निजहरूले लागुऔषध सेवन गरेको र साथमा समेत लागुऔषध फेला पारी पक्राउ गरी लगेका हुन् भन्ने कुरा थाहा पाएको हुँ । प्रतिवादीहरू चार जनाको साथबाट बरामदी मुचुल्कामा उल्लेख भएबमोजिमको १४ ग्राम खैरो हेरोइन, ४५ ट्याब्लेट नाइट्रोभेट, ८ ट्याब्लेट स्पास्मोप्रोक्सिभन र ४ सिसि डाइलक्स फेला पारी प्रहरीले लागुऔषध बरामद गरी पक्राउ गरेको भन्ने कुरा थाहा पाएको हुँ । निज प्रतिवादीहरूले बरामद लागुऔषध के, कहाँबाट, को, कसले ल्याएको हो थाहा भएन भन्नेसमेत बेहोराको सन्तोष न्यौपानेको कागज ।
मिति २०७३।१२।०३ गतेका दिन म धनगढी बजारमा नै इलेक्ट्रोनिक अटो रिक्सा चलाइरहेको थिएँ । सो दिन प्रतिवादी सन्तोष भट्टसमेत के-कहाँ थिए मलाई थाहा भएन । प्रतिवादीहरूमध्ये सञ्जय न्यौपानेलाई म राम्ररी चिन्दछु । निज हाम्रै गाउँटोलमा बस्ने छिमेकी हो । अन्य प्रतिवादीहरूलाई चिन्दिनँ । वारदात मितिको बेलुकी अन्दाजी १७:०० बजेको समयमा मलाई टोल छिमेकीका मानिसहरूले सञ्जय न्यौपानेसमेत चार जनालाई प्रहरीले पक्राउ गरी लगेको छ भन्ने जानकारी सुनी थाहा पाएको हुँ । सोपश्चात् तत्कालै म घरमा जाँदा प्रतिवादीहरूलाई मैले देखिनँ । म घरमा पुगिसकेपश्चात् टोल छिमेकका मानिसहरूलाई के-भयो ? किन प्रहरीले सञ्जय न्यौपानेसमेतलाई पक्राउ गरी लगेको हो ? भनी सोधपुछ गर्दा निजहरूले लागुऔषध सेवन गरेको र साथमा समेत लागुऔषध फेला पारी पक्राउ गरी लगेका हुन् भन्ने कुरा थाहा पाएको हुँ । प्रतिवादीहरू चार जनाको साथबाट बरामदी मुचुल्का र प्रतिवेदन जाहेरीमा उल्लेख भएबमोजिमको १४ ग्राम खैरो हेरोइन, ४५ ट्याब्लेट नाइट्रोभेट, ८ ट्याब्लेट स्पास्मोप्रोक्सिभन र ४ सिसि डाइलक्स फेला पारी प्रहरीले लागुऔषध बरामद गरी पक्राउ गरेको भन्ने कुरा थाहा पाएको हुँ । निज प्रतिवादीहरूले बरामद लागुऔषध के, कहाँबाट, को, कसले ल्याएको हो भन्ने थाहा भएन भन्नेसमेत बेहोराको गोपाल भुजेलको कागज ।
वारदात मिति र समयमा हामी आफ्नै घरमा नै थियौँ । प्रतिवादीहरूमध्ये सन्तोष भट्टलाई पहिलादेखि नै चिनेका थियौँ । अन्य प्रतिवादीहरूलाई हाल आएर चिनेका हौँ । वारदात मितिमा प्रहरी प्रतिवेदकसमेतको टोलीले प्रतिवादी सन्तोष भट्टसमेतको साथबाट बरामदी मुचुल्कामा उल्लिखित लागु औषधसहित फेला पारी पक्राउ गरेको हो भन्ने कुरा सुनी थाहा पाएका हौँ । हाल आएर उक्त लागुऔषध के-कहाँबाट को-कसले ल्याएको हो भनी सोधपुछ गर्दा पक्राउ भएका प्रतिवादीहरूमध्ये सरोज भट्टले बरामद लागुऔषध भारतबाट खरिद गरी ल्याई अन्य प्रतिवादीहरूलाई समेत राख्न दिएको अवस्थामा फेला पारी बरामद गरेको हो भन्ने थाहा पाएका हौँ भन्नेसमेत बेहोराको लोकबहादुर बस्नेतसमेत जना ३ ले गरिदिएको वस्तुस्थिति मुचुल्का ।
परीक्षणको लागि पठाएको भौतिक सबुत नं.१ मा हेरोइन पाइएको, भौतिक सबुत नं.२ मा नाइट्राजेपाम पाइएको, भौतिक सबुत नं.३ मा कोडिन पाइएको भन्नेसमेत बेहोराको परीक्षण प्रतिवेदन ।
प्रहरी प्रतिवेदन, बरामदी खानतलासी मुचुल्का, बरामद लागुऔषध नमुना, प्रतिवादीहरूको बयान, बरामद लागुऔषध परीक्षण प्रतिवेदन, बुझिएका तथा वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूले बकी लेखाइदिएको मिसिल संलग्न आधार प्रमाणहरूबाट प्रतिवादी सरोज भट्टले बरामद लागुऔषध भारतको पलियाबाट खरिद गरी ल्याई प्रतिवादीहरू सन्तोष भट्ट, सुरेन्द्र भट्ट र सञ्जय न्यौपानेसमेतका चारै जना मिति २०७३।१२।३ गते प्रतिवादी सञ्जय न्यौपानेको घरमा भेला भई एकआपसमा सल्लाह, मिलोमतो गरी बरामद लागुऔषध खैरो हेरोइनसमेत खरिद, सञ्चय गरी बिक्री, वितरण, ओसार पसारको लागि आफूसाथ राखी जि.कै.ध.उ.म.नं.पा. वडा नं.२ मिलनचोकस्थित सडक किनारामा रहेको अवस्थामा प्रतिवादीहरू सरोज भट्टको साथबाट १४ ग्राम लागुऔषध खैरो हेरोइन, सुरेन्द्र भट्टको साथबाट ३० ट्याब्लेट नाइट्रोभेट, ८ स्पास्मो प्रोक्सिभन, ४ सिसी डाइलक्स झोल तथा सन्तोष भट्टको साथबाट १५ ट्याब्लेट नाइट्रोभेट लागुऔषधसमेत बरामद भएको देखिएको र अर्का प्रतिवादी सञ्जय न्यौपानेसमेतले सो बरामद लागुऔषध खरिदबिक्री, सञ्चय ओसारपसारमा संलग्न रही अन्य प्रतिवादीहरूसँगै संलग्न रहेको देखिएको र बरामद खैरो हेरोइनसमेत परीक्षण हुँदा लागुऔषध खैरो हेरोइन नै भएको भन्ने परीक्षण प्रतिवेदनबाट समेत देखिँदा निज प्रतिवादीहरू सरोज भट्ट, सन्तोष भट्ट, सुरेन्द्र भट्ट र सञ्जय न्यौपानेको उक्त कार्य लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ), (ङ) र (च) बमोजिमको कसुर अपराध गरेको पुष्टि हुन आएकाले निज प्रतिवादीहरू सरोज भट्ट, सन्तोष भट्ट, सुरेन्द्र भट्ट र सञ्जय न्यौपानेलाई सोही ऐनको दफा १४(१)(छ)(१) र सोही ऐनको दफा १४(१)(झ) बमोजिम समेत सजाय हुन मागदाबी लिइएको छ । प्रतिवादी सञ्जय न्यौपानेका हकमा कैलाली जिल्ला अदालतबाट लागुऔषध चरेस मुद्दामा यसअघि ३ महिना कैद र रू.५०००।- जरिवाना हुने गरी मिति २०६८।१२।२१ गते फैसला भएको र अर्का प्रतिवादी सरोज भट्टलाई डडेल्धुरा जिल्ला अदालतबाट लागुऔषध खैरो हेरोइन मुद्दामा मिति २०७३।२।५ गते एक महिना कैद सजाय हुने गरी फैसला भएको देखिँदा प्रस्तुत मुद्दामा निज प्रतिवादी सञ्जय न्यौपाने र सरोज भट्टलाई सोही ऐनको दफा १६ बमोजिम थप सजाय हुन मागदाबीसहितको अभियोगपत्र ।
मिति २०७२।१२।३ गते सञ्जय न्यौपानेलाई भेट्नको लागि धनगढी उपमहानगरपालिका वडा नं.२ स्थित मिलनचोकमा आएको थिएँ । मलाई दिल्ली जानुपर्ने भएको र सञ्जय न्यौपाने टिकट काउन्टरमा काम गर्ने भएकोले धनगढीबाट दिल्लीको बसको टिकट भाडा कति छ भनी बुझ्नको लागि सञ्जयलाई फोन गर्दा निजले मिलनचोकमा छु भनेकोले निजलाई भेट्नका लागि मिलनचोकमा आइरहेको अवस्थामा सञ्जय न्यौपाने, सुरेन्द्र भट्ट र सरोज भट्टसँग भेट भएको र त्यही समयमा सादा पोसाकका प्रहरी गस्ती टोलीले हामीहरूको खानतलास गर्दा मबाट १ फायल (१५ ट्याब्लेट) नाइट्रोभेट भेटिएको हो । म ३/४ महिना अगाडिदेखि नाइट्रोभेट युजर भएको र भारतको वनगाउँबाट ल्याई आफ्नो खल्तीमा राखेको १५ ट्याब्लेट नाइट्रोभेट प्रहरीले मबाट बरामद गरेको हो । अन्य लागुऔषध सरोज भट्ट र सुरेन्द्र भट्टबाट बरामद भएको हो । परिणाम के-कति हो थाहा छैन । खैरो हेरोइन मबाट बरामद भएको नभई सरोज भट्टबाट बरामद भएको र अन्य ट्याब्लेटहरू सुरेन्द्र भट्टबाट बरामद भएको हो । सञ्जय न्यौपानेबाट कुनै पनि लागुऔषध बरामद भएको होइन भन्ने प्रतिवादी सन्तोष भट्टले सुरू अदालतसमक्ष गरेको बयान ।
मिति २०७३।१२।३ गते सन्तोष भट्टले २ बजेतिर फोन गरी म दिल्ली जादैँछु । तिमी टिकट काट्ने मान्छे, दिल्ली गाडी कहिले जान्छ ? साँझ मलाई मिलनचोकमा भेट्नु भनेकोले म मिलनचोकमा आएको थिएँ । मिलनचोकमा आउँदा सरोज भट्टले २ दिन अगाडि भारत जान्छु, मेरो झोला राखिदेऊ भनी मेरो घरमा राख्न दिएका थिए । हामी चारै जना एकै ठाउँमा भएको अवस्थामा सादा पोशाकका प्रहरीले सन्तोष भट्टलाई खानतलासी गर्दा निजबाट १ फायल (१५ ट्याब्लेट) नाइट्रोभेट बरामद भएको र प्र. सुरेन्द्र भट्टको झोलाबाट २ फायल (३० ट्याब्लेट ) नाइट्रोभेट र ८ ट्याब्लेट स्पास्मोप्रोक्सिभन र ४ सिसि डाइलोक्स बरामद भएको र सरोज भट्टको खल्तीबाट खैरो हिरोइन बरामद भएको हो । मबाट कुनै पनि किसिमको लागुऔषध बरामद भएको होइन । पहिलेको लागुऔषध मुद्दामा मलाई कैलाली जिल्ला अदालतबाट भएको ३ महिना कैद र जरिवाना रू. ५०००।- मैले भुक्तान गरिसकेको हुनाले यस मुद्दामा मलाई सजाय हुनुपर्ने होइन । सुरेन्द्र भट्टले बोकेको झोलाबाट लागुऔषध भेटिए पनि उक्त झोला निजको दाजु सरोज भट्टले बोक्न दिएको थियो । बरामदी मुचुल्कामा उल्लिखित लागुऔषध मबाट बरामद भएको नभई सरोज भट्टले मेरो घरमा झोला राखेको र सोही झोलाबाट लागुऔषध भेटिएकाले मात्र मलाई प्रतिवादी बनाइएको हो भन्ने प्रतिवादी सञ्जय न्यौपानेले सुरू अदालतसमक्ष गरेको बयान ।
म डडेलधुराबाट धनगढी जग्गा खरिद गर्नका लागि जग्गा प्लट हेर्न भनी आएकोमा मिति २०७३।१२।३ गते मेरो सहोदर दाजु सरोज भट्टले म भारतबाट आउँदै छु । मलाई लिन मिलनचोकसम्म आई हाल भनेकोले सोही साँझतिर धनगढी उपमहानगरपालिका वडा नं.२ स्थित मिलनचोकमा गएको र सोही समयमा दाजु सरोज भट्टले मलाई झोला बोक भनी झोला दिनुभयो । मैले झोला बोकी आउने क्रममा सादा पोसाकमा प्रहरीले गस्ती गर्दै आई हामीहरूलाई खानतलासी गर्दा मैले बोकेको झोलाबाट २ वटा पत्ता, ३० ट्याब्लेट नाइट्रोभेट, ८ ट्याब्लेट स्पास्मोप्रोक्सिभन र ४ सिसी डाइलोक्स नामक लागुऔषध बरामद भएको हो ।
अन्य लागुऔषध को को बाट बरामद भएको हो थाहा छैन । मेरो दाजुले दिनुभएको झोलामा लागुऔषध छ भन्ने कुरा मलाई थाहा थिएन । दाजु सरोज भट्टले कहाँबाट ल्याई झोलामा राख्नु भएको हो सोबारेमा मलाई थाहा छैन भन्ने प्रतिवादी सुरेन्द्र भट्टले सुरू अदालतसमक्ष गरेको बयान ।
मिति २०७३।१२।१ गते म घर डडेल्धुराबाट होली पर्व मनाउन भनी धनगढीस्थित मेरो ससुरालीमा आई ऐ. फाल्गुन २ गते मैले आफ्नो साथमा रहेको झोला प्रतिवादीमध्येको सञ्जय न्यौपानेको घरमा राखी म एक्लै लागुऔषध ल्याउन भनी भारतको पलिया भन्ने स्थानमा गएको थिएँ । म पहिलेदेखि नै आफू लागुऔषध सेवन गर्ने भएकोले पलियामा चिनजान भएका एक जना व्यक्तिसँग रू.५०००।- मा १४ ग्राम खैरो हिरोइन खरिद गरी आफ्नो पाइन्टको खल्तीमा राखी धनगढीस्थित मेरो ससुराली घर धनगढी उपमहानगरपालिका वडा नं.१४ धनगढी फर्की ऐ. फाल्गुन ३ गते सञ्जय न्यौपानेको घरमा राखेको आफ्नो झोला लिन भनी जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं.२ स्थित मिलनचोक भन्ने स्थानमा जाँदा निज प्रतिवादी सञ्जय न्यौपाने घरमा थिएन । त्यसपछि म निज प्रतिवादी भन्सारस्थित काउन्टरमा बसको टिकट काट्ने भएकोले निज काम गर्ने टिकट काउन्टरमा पुगी निजलाई भेटी म तपाइँको घरबाट अस्ति राखेको मेरो झोला लिएर जान्छु भनी निजको घरमा पुनः आई घरबाट आफ्नो झोला लिएर आउँदै गर्दा सादा पोसाकमा आएका प्रहरीले मलाई चेक जाँच गर्दा मेरो पाइन्टको खल्तीबाट १४ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरेका हुन् । सोही समयमा मैले मेरो भाइ सुरेन्द्र भट्टलाई मलाई लिन आउ भनी फोन गरी बोलाएको र मेरो भाइ सुरेन्द्र भट्ट, सन्तोष भट्ट र सञ्जय न्यौपानेसमेत म भएको स्थानमा आइपुग्दा निजहरूलाई चेक जाँच गर्ने क्रममा सन्तोष भट्टले लगाएको पाइन्टको खल्तीबाट १५ ट्याब्लेट नाइट्रोभेट, प्रतिवादी सञ्जय न्यौपानेबाट सानो टुक्रा चरेस र प्रतिवादी सुरेन्द्र भट्टलाई मैले बोक्न दिएको झोलाबाट ३० ट्याब्लेट नाइट्रोभेट, ८ ट्याब्लेट स्पास्मोप्रोक्सिभन, ४ सिसि डाइलक्ससमेत बरामद भएको हो । मलाई डाक्टरले लागुऔषध खैरो हेरोइन वा सो नभएमा नाइट्रोभेट डाइलक्स सेवन गर्नुपर्छ भनेकाले मैले उक्त लागुऔषध सेवन गर्दै आएको
थिएँ । भाइ सुरेन्द्र भट्टलाई मेरो झोलाभित्र उक्त लागुऔषध राखिएको भन्ने जानकारी थिएन । मैले पलियामा परिचित १ जनाबाट १४ ग्राम लागुऔषध खैरो हेरोइन खरिद गरी पलियास्थित एउटा मेडिकलबाट ४ सिसी डाइलक्स ३० गोली नाइट्रोभेट, ८ स्पास्मोसमेत खरिद गरी धनगढी फर्की सञ्जय न्यौपानेको घरमा रहेको मेरो झोलामा राखेको र सोमध्येको १४ ग्राम खैरो हेरोइन आफ्नो पाइन्टको खल्तीमा राखेको थिएँ भन्ने प्रतिवादी सरोज भट्टले सुरू अदालतसमक्ष गरेको
बयान ।
मिति २०७३।१२।३ गते मेरो कमान्डमा टोल एरियाको वस्तुस्थिति बुझ्ने क्रममा धनगढी उपमहानगरपालिका वडा नं.२ मा बेलुका ७ बजेतिरको समयमा घुमफिर गर्दै गर्दा सन्तोष भट्ट नाम बताउने केटा नसाले लठ्ठ परी हिँडिरहेको जस्तो देखिएकोले निजलाई सोधपुछ गर्दा निजले मलाई छोडिदिनुहोस्, मसँग केही छैन म पैसा दिन्छु भनेकोले मलाई झन् शङ्का लागी निजको शरीर खानतलास गर्दा निजको साथबाट नाइट्रोभेट एक फाइल अर्थात् १५ ट्याब्लेट बरामद भएको र सो विषयमा निज प्रतिवादी र मबिच कुराकानी हुँदै गर्दा सञ्जय न्यौपानेलगायतका ३ जना अरू आई यी सन्तोष भट्ट हाम्रा मान्छे हुन् । तपाइँ किन त्यस्तो गर्दै हुनुहुन्छ भनी सन्तोष भट्टकै पक्ष लिई कुरा गरेकोले निज सञ्जय न्यौपाने, सरोज भट्ट र सुरेन्द्र भट्टसहितका तीनै जनाप्रति शङ्का लागी निजहरूको समेत खानतलास गर्दा सरोज भट्टको पाइन्टको खल्तीबाट २ वटा प्लाष्टिकका पोका भेट्टिएपछि तौल गरी हेर्दा प्लाष्टिकसहितको पोकाको तौल १६ ग्राम र उक्त प्लाष्टिकका पोकाहरू खोली सोभित्र रहेको खैरो रङको पाउडरको तौल गर्दा १४ ग्राम भएको
थियो । सुरेन्द्र भट्टले बोकेको झोला खोली हेर्दा नाइट्रोभेट लेखिएका २ फाइल अर्थात् ३० ट्याब्लेट र डाइलोक्स लेखिएको ४ सिसि बरामद भएकोले लागुऔषध हुन सक्ने शङ्का लागी जिल्ला प्रहरी कार्यालय कैलालीमा सम्पर्क गरी आवश्यक अनुसन्धानका लागी बुझाएका हौँ भन्ने जाहेरी प्रतिवेदक दिलबहादुर महराले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
प्रतिवादी सुरेन्द्र भट्ट लागुऔषध सेवन तथा कारोबार गर्ने मान्छे होइन । अर्को प्रतिवादी सरोज भट्ट ब्राउन सुगर सेवन गर्ने मानिस हुन् । निज प्रतिवादी सरोज भट्टले लागुऔषध सेवन गरे तापनि निजले लागुऔषध बिक्री वितरण गर्दैनन् । मिति २०७३/१२/०३ गते साँझ प्रतिवादी सरोज भट्टले आफूले सेवन गर्ने लागुऔषध झोलामा राखी उक्त झोला आफ्नो सहोदर भाइ सुरेन्द्र भट्टलाई बोक्न लगाई धनगढी मिलनचोकबाट सरोज भट्ट र सुरेन्द्र भट्ट पहाड घर डडेल्धुरा जाने क्रममा धनगढीकै मिलनचोकमा लागु औषधसहित पक्राउ परेका हुन् । सुरेन्द्र भट्टले दाजुको आज्ञाबमोजिम झोला बोकेका हुन् । उक्त झोलामा लागुऔषध थियो भन्ने कुरा प्रतिवादी सुरेन्द्र भट्टलाई पक्राउ पर्नुअगाडिसम्म थाहा थिएन भन्ने प्रतिवादी सरोज भट्ट र सुरेन्द्र भट्टका साक्षी रोशन थापाले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
निज प्रतिवादी सन्तोष भट्ट विगत ३ वर्षदेखि प्रेसर, सुगर र छारे रोगसम्बन्धी बिरामी भई औषधी सेवन गर्दै आइरहेको र सामान्य किसिमको खानपिन गर्दै आएकाले निज प्रतिवादीले खैरो हेरोइनसमेतको लागुऔषध ओसारपसार गरेको र सेवन गरेको भन्ने कुरामा मलाई विश्वास लाग्दैन । उक्त अभियोग दाबी झुठ्ठा हो । अभियोग मागदाबीबमोजिम प्रतिवादी सन्तोष भट्टले कसुर गरेका होइनन् भन्ने प्रतिवादी सन्तोष भट्टका साक्षी सरोज भट्टले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
उक्त दिन मैले आफ्नो अटोरिक्सा चलाइरहेको थिएँ । नाइट्रोभेट १५ ट्याब्लेट, स्पास्मोप्रोक्सिन ८ ट्याब्लेट र ४ सिसि डाइलेक्स झोल पदार्थ प्रतिवादी सञ्जय न्यौपानेसँग नभेटिई प्रतिवादी सरोज भट्टसँग भेटिएको हो भन्ने प्रतिवादी सञ्जय न्यौपानेका साक्षी सन्तोष न्यौपानेले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
प्रतिवादीहरूमध्येका सञ्जय न्यौपानेले अभियोग मागदाबीबाट सफाइ पाउने र प्रतिवादी सरोज भट्टलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(छ)(१) बमोजिम ७ (सात) वर्ष कैद र रू.१५,०००।- (पन्ध्र हजार) जरिवाना तथा सोही लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १६ बमोजिम थप १ (एक) वर्ष कैद र रू.३५,०००।- (पैंतिस हजार) जरिवाना हुने ठहर्छ । प्रतिवादी सुरेन्द्र भट्टलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(झ) बमोजिम २ (दुई) वर्ष कैद र रू.१,००,०००।- (एक लाख) जरिवाना हुने हुने
ठहर्छ । प्रतिवादी सन्तोष भट्टलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(ज) बमोजिम २ (दुई) महिना कैद र रू.२०००।- (दुई हजार) जरिवाना हुने ठहर्छ । त्यसैगरी प्रतिवादीमध्येका सञ्जय न्यौपानेको हकमा यी प्रतिवादीलाई कसुरदार ठहर्याई सजाय गर्न मिल्ने अवस्था विद्यमान नदेखिँदा यी प्रतिवादीले अभियोग मागदाबीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू कैलाली जिल्ला अदालतको मिति २०७५।८।६ को फैसला ।
कैलाली जिल्ला अदालतको मिति २०७५।८।६।५ मा म सरोज भट्टलाई ८ वर्ष कैद र रू.५०,०००।- जरिवाना र म सुरेन्द्र भट्टलाई २ वर्ष कैद र रू.१,००,०००।- जरिवाना हुने गरी गरेको फैसला प्रमाण ऐन, २०३१ को दफा २५, ५४ तथा सम्मानित सर्वोच्च अदालतबाट लागुऔषध मुद्दामा प्रतिवादीलाई सफाइ दिएका नजिर सिद्धान्तसमेतको प्रतिकूल देखिएको हुँदा म सरोज भट्टले डाक्टरको सल्लाहअनुसार जिउ ज्यान बचाउनका लागि मेरो स्वास्थ्यको लागि आवश्यक न्यून लागुऔषध सेवन गर्न मात्र प्रयोग गर्ने गरेको हुँदा र म सुरेन्द्र भट्टले अभियोग मागदाबीबमोजिमको लागुऔषधसम्बन्धीको कुनै कसुर नगरेको हुँदा हामी दुवै जना प्रतिवादीलाई सजाय गरेको उक्त फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको निज सरोज भट्ट र सुरेन्द्र भट्टको ०७५-CS-०१५७ को पुनरावेदन ।
लागुऔषधसम्बन्धी अपराध निरपेक्ष दायित्वअन्तर्गत पर्ने अपराध भएको हुनाले समूहमा पक्राउ परेको देखिएपछि लागु औषधको कारोबार गर्न सँगै हिँडेको अवस्थामा कसैबाट मात्र लागुऔषध बरामद हुनु र अन्य साथका व्यक्तिहरूबाट बरामद नहुनुले खास असर नपर्ने भनी सम्मानित सर्वोच्च अदालतको (ने.का.प.२०६८, चैत्र, पृष्ठ नं.१९८१, नि.नं.८७२८) प्रतिपादित सिद्धान्तविपरीत भएको उक्त फैसला त्रुटिपूर्ण भई बदरभागी हुँदा प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको ०७५-CS-०२७२ को वादी नेपाल सरकारको पुनरावेदन ।
यसमा वादी नेपाल सरकार र प्रतिवादीमध्येका सरोज भट्ट र सुरेन्द्र भट्टको पुनरावेदन परेको देखिँदा सुरू कैलाली जिल्ला अदालतबाट मिति २०७५।८।६ मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा विचारणीय देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४० (३) तथा उच्च अदालत नियमावली, २०७३ (संशोधित) को नियम ६४(४) र ११२ को प्रयोजनार्थ दुवै थरीको पुनरावेदन परस्परमा रीतपूर्वकको जानकारी गराई प्रतिवादी सन्तोष भट्ट र सञ्जय न्यौपानेलाई आदेश तथा पुनरावेदनपत्रको प्रतिलिपिसमेत साथै राखी म्याद जारी गरी झिकाई उपस्थित भए वा उपस्थित हुने अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत दिपायलबाट भएको मिति २०७६।५।१०।३ को आदेश ।
सुरू जिल्ला अदालतले प्रतिवादीमध्येका सञ्जय न्यौपानेलाई सफाइ दिने र प्रतिवादी सुरेन्द्र भट्टलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(झ) बमोजिम कैद वर्ष २ (दुई) र जरिवाना रू.१,००,०००।- (एक लाख) को सजाय गर्ने तथा प्रतिवादी सन्तोष भट्टलाई ऐ.१४(१)(ज) बमोजिम २ (दुई) महिना कैद र रू.२,०००।- (दुई हजार) जरिवाना गर्ने तथा प्रतिवादी सरोज भट्टले ऐ.ऐनको दफा ४ को देहाय (ङ) र (च) बमोजिम लागुऔषध खरिद गरी पैठारी गरी राख्ने कसुर गरेको तथा दफा १६ बमोजिम पटकेसमेत कायम गरेको सुरू कैलाली जिल्ला अदालतको मिति २०७५।८।६ गतेको फैसला मिलेकै देखिँदा सदर हुन्छ तर प्रतिवादी सरोज भट्टले खरिद गरी ल्याएको लागुऔषधको निर्माण तथा तयारी गरेको वा सो लागुऔषध अन्य कसैलाई बिक्री वितरण गरेको जस्ता कसुर गरेको नदेखिएको, मौकामा अधिकारप्राप्त अधिकारी र अदालतमा गरेको बयानबाट समेत निजले लागुऔषध सेवन गर्ने उद्देश्यले मात्र खरिद गरी ल्याएको भन्ने देखिँदा निजलाई ऐ.दफा १४(१)(घ)(१) बमोजिम कैद वर्ष ५ (पाँच) को सजाय गर्दा पनि ऐनको मक्सद पूरा हुने हुँदा सो हदसम्म फैसला संशोधन गरिएको छ । प्रतिवादीमध्येका सञ्जय न्यौपाने, सुरेन्द्र भट्ट, सन्तोष भट्टसमेतलाई अभियोगपत्रअनुसार सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको र अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी सरोज भट्ट र सुरेन्द्र भट्टको पुनरावेदन जिकिर पुग्न नसक्नेसमेत ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत दिपायलबाट भएको मिति २०७६।८।४।४ को फैसला ।
प्रतिवादीमध्येका सरोज भट्टको हकमा जिल्ला अदालतको फैसला उल्टी गरी ५ वर्ष कैद सजाय भएको फैसला त्रुटिपूर्ण छ । प्रतिवादी सरोज भट्ट पहिला पनि लागुऔषधमा सजाय पाइसकेका व्यक्ति हुन् भन्ने कुरामा अदालत सहमत भइसकेको
पाइन्छ । निज प्रतिवादी लागुऔषध खैरो हेरोइनमा डडेल्धुरा जिल्ला अदालतबाट एकपटक सजाय पाइसकेको भन्ने देखिन्छ । निजले लागुऔषध खैरो हेरोइनको मात्र कारोबार गरेको नभई नाइट्रोभेट नामक पदार्थसमेतको कारोबार गरेको अनुसन्धान अधिकारीसमेतको बयानको सवाल जवाफ नं. ८ मा खुलाइदिएको अवस्थामा प्रतिवादीले विभिन्न प्रकृतिको लागुऔषधको कारोबार गरेको देखिँदा अपराधको मात्राको स्पष्टीकरण खण्डमा लागु औषधको प्रकृति भन्ने उल्लेख भएको र यी प्रतिवादीले विभिहरू किसिमको प्रकृतिको कारोबारअनुसार पनि सजायको मात्रा बढ्नुपर्नेमा जिल्ला अदालतको फैसला उल्टी गरेको मिलेको छैन । साथै निजको हकमा दाबी लिइएको १४(१)(झ) समेतको मागदाबी लिइएकोमा पटकेतर्फको सजायको गरेमा केही उल्लेख नगरी भएको फैसला त्रुटिपूर्ण रहेकोले बदरभागी छ ।
अन्य प्रतिवादी एवं लागुऔषधको कारोबारमा संलग्न रहेको देखिँदादेखिँदै कसैको साथबाट परिमाण घटी बरामद हुनु कसैको साथबाट केही पनि बरामद नहुनले खासै महत्त्व राख्दैन । मुख्य कुरो यी प्रतिवादी लागुऔषधका कारोबारी हुन् वा होइनन् भन्ने विषयमा हेर्नुपर्ने हो । प्रतिवादीमध्येको सञ्जय न्यौपाने पहिलो पटक लागुऔषधमा सजाय पाइसकेका व्यक्ति हुन् निजको घरमा राखेको झोलामा लागुऔषध राखेको छ भनी प्रतिवादी सरोज भट्टले बयान गरेको देखिँदा सञ्जय न्यौपानेलाई सफाइ दिएको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ ।
प्रतिवादीहरू ४ जना नै मिली लागुऔषधको कारोबारमा हिँडिरहेको अवस्थामा सबैलाई समान सजाय हुनुपर्नेमा फरकफरक सजाय गरेको अवस्था
छ । लागुऔषधसम्बन्धी अपराध निरपेक्ष दायित्वअन्तर्गत पर्ने अपराध भएको हुनाले समूहगत रूपमा कारोबार गर्दाको अवस्थामा पक्राउ परेको देखिएको अवस्थामा कोही कसैबाट लागुऔषध बरामद हुनु र अन्यसँग साथका व्यक्तित्वबाट बरामद नहुनुले खास असर नपर्ने (ने.का.प.२०६८ चैत्र, पृष्ठ १९८१ नि.नं.८७२८) भनी सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत भई बदरभागी छ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा दायर हुन आएको पुनरावेदनपत्र ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मीले प्रतिवादीमध्येका सरोज भट्टको हकमा जिल्ला अदालतको फैसला उल्टी गरी ५ वर्ष कैद सजाय भएको फैसला त्रुटिपूर्ण छ । प्रतिवादी सरोज भट्ट पहिला पनि लागुऔषधमा सजाय पाइसकेका व्यक्ति हुन् भन्ने कुरामा अदालत सहमत भइसकेको
पाइन्छ । निजले लागुऔषध खैरो हेरोइनको मात्र कारोबार गरेको नभई नाइट्रोभेट नामक पदार्थसमेतको कारोवार गरेको अनुसन्धान अधिकारीसमेतको बयानको सवाल जवाफ नं. ८ मा खुलाइदिएकोले प्रतिवादीले विभिन्न प्रकृतिको लागुऔषधको कारोबार गरेको देखिन्छ । अन्य प्रतिवादी लागुऔषधको कारोबारमा संलग्न रहेको देखिँदादेखिँदै कसैको साथबाट परिमाण घटी बरामद हुनु कसैको साथबाट केही पनि बरामद नहुनले खासै महत्त्व राख्दैन । मुख्य कुरो यी प्रतिवादी लागुऔषधका कारोबारी हुन् वा होइनन् भन्ने विषयमा हेर्नुपर्ने हो । प्रतिवादीमध्येको सञ्जय न्यौपाने लागुऔषधमा सजाय पाइसकेका व्यक्ति हुन् । सञ्जय न्यौपानेलाई सफाइ दिएको फैसला त्रुटिपूर्ण छ । प्रतिवादीहरू ४ जना नै मिली लागुऔषधको कारोबारमा हिँडिरहेको अवस्थामा सबैलाई समान सजाय हुनुपर्नेमा फरकफरक सजाय गरेको अवस्था छ । सुरू जिल्ला अदालतले गरेको फैसलामा समेत सजाय कम हुने गरी उच्च अदालतले गरेको फैसला उल्टी गरी अभियोग दाबीबमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
अब, सुरू जिल्ला अदालतले प्रतिवादीमध्येका सञ्जय न्यौपानेलाई सफाइ दिने र प्रतिवादी सुरेन्द्र भट्टलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(झ) बमोजिम २ वर्ष कैद र जरिवाना रू.१,००,०००।- सजाय तथा प्रतिवादी सन्तोष भट्टलाई ऐ.१४(१)(ज) बमोजिम २ महिना कैद र रू.२,०००।- जरिवाना गर्ने तथा प्रतिवादी सरोज भट्टले ऐ.ऐनको दफा ४ को देहाय (ङ) र (च) बमोजिम लागुऔषध खरिद गरी पैठारी गर्ने कसुर गरेको तथा दफा १६ बमोजिम पटकेसमेत कायम गरेको सुरू कैलाली जिल्ला अदालतको मिति २०७५।८।६ गतेको फैसला सदर गर्ने गरी तथा प्रतिवादी सरोज भट्टलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(छ)(१) बमोजिम ७(सात) वर्ष कैद र रू.१५,०००।- जरिवाना तथा सोही लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १६ बमोजिम थप १ वर्ष कैद र रू. ३५०००।- जरिवाना हुने गरी सुरू कैलाली जिल्ला अदालतले मिति २०७५।८।६ गतेको फैसला केही उल्टी गरी उच्च अदालत दिपायलबाट मिति २०७६।८।४।४ मा गरेको फैसलामा चित्त नबुझी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परेको देखिन्छ । यसमा उच्च अदालत दिपायलबाट भएको मिति २०७६।८।४।४ मा भएको फैसला मिलेको छ छैन ? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।
निर्णयतर्फ विचार गर्दा, प्रतिवादीमध्येका सरोज भट्टको हकमा जिल्ला अदालतको फैसला उल्टी गरी ५ वर्ष कैद सजाय भएको र यी प्रतिवादीले विभिन्न प्रकृतिको कारोबारअनुसार पनि सजायको मात्रा बढ्नुपर्नेमा जिल्ला अदालतको फैसला उल्टी गरेको मिलेको छैन । फैसला त्रुटिपूर्ण छ । प्रतिवादी सरोज भट्ट पहिला पनि लागुऔषधमा सजाय पाइसकेका व्यक्ति हुन् भन्ने कुरामा अदालत सहमत भइसकेको पाइन्छ । प्रतिवादीमध्येको सञ्जय न्यौपाने पहिलो पटक लागुऔषधमा सजाय पाइसकेका व्यक्ति हुन् । निजको घरमा राखेको झोलामा लागुऔषध राखेको छ भनी प्रतिवादी सरोज भट्टले बयान गरेको देखिँदा सञ्जय न्यौपानेलाई सफाइ दिएको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ । प्रतिवादी सुरेन्द्र भट्टलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(झ) बमोजिम २ वर्ष कैद र जरिवाना रू.१,००,०००।- सजाय तथा प्रतिवादी सन्तोष भट्टलाई ऐ.१४(१)(ज) बमोजिम २ महिना कैद र रू.२,०००।- जरिवाना गर्ने तथा प्रतिवादी सरोज भट्टले ऐ.ऐनको दफा ४ को देहाय (ङ) र (च) बमोजिम लागुऔषध खरिद गरी पैठारी गरी राख्ने कसुर गरेको तथा दफा १६ बमोजिम पटकेसमेत कायम गरेको सुरू कैलाली जिल्ला अदालतको मिति २०७५।८।६ गतेको फैसला सदर गर्ने गरी उच्च अदालत दिपायलबाट भएको मिति २०७६।८।४।४ मा भएको फैसला उल्टी गरी यी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको पाइयो ।
वादी नेपाल सरकारको पुनरावेदन दाबी हेर्दा, अन्य प्रतिवादी एवं लागुऔषधको कारोबारमा संलग्न रहेको देखिँदादेखिँदै कसैको साथबाट परिमाण घटी बरामद हुनु कसैको साथबाट केही पनि बरामद नहुनले खासै महत्त्व राख्दैन । मुख्य कुरो यी प्रतिवादी लागुऔषधका कारोबारी हुन् वा होइनन् भन्ने विषयमा हेर्नुपर्ने हो । प्रतिवादीलाई सुरू मागदाबीबमोजिम सजाय गर्नुपर्नेमा सुरू फैसला उल्टी गरी उच्च अदालत दिपायलबाट भएको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला बदर गरी प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको मागदाबी लिई वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा जिकिर लिएको पाइयो ।
अब, वादी नेपाल सरकारको जिकिरबमोजिम प्रत्यर्थी प्रतिवादीहरूलाई अभियोग दाबीअनुसार प्रतिवादीहरूले कसुर गरेका हुन् होइनन् र दाबीअनुसार प्रतिवादीहरूलाई सजाय हुने हो, होइन भन्ने विषयमा निर्णय गर्नुपर्ने भर्इ त्यसतर्फ हेर्दा, प्रत्यर्थी प्रतिवादीहरू उच्च अदालत दिपायलबाट मिति २०७६।८।४।४ मा भएको फैसलाउपर पुनरावेदन नगरी बसेको अवस्था देखिन्छ ।
२. अब वादी नेपाल सरकारको पुनरावेदन जिकिरबमोजिम प्रतिवादीहरूमध्ये सञ्जय न्यौपानेका हकमा विचार गर्दा, यी प्रतिवादीका साथबाट कुनै पनि प्रकारको लागुऔषध बरामद भएको देखिँदैन । यी प्रतिवादी आफ्नो घरमा नभएको अवस्थामा आएका अन्य प्रतिवादीहरू सरोज भट्ट, सुरेन्द्र भट्ट र सन्तोष भट्ट घरबाट निस्किएर गइसकेपछि सर्वप्रथम सन्तोष भट्टलाई प्रहरीले पक्राउ गरेकोमा निजको बचाउ गर्न गएका दुई दाजु-भाइ सरोज भट्ट र सुरेन्द्र भट्टको शरीर एवं झोला चेक-जाँच गर्ने क्रममा तीनै जना प्रतिवादीका साथबाट विभिन्न प्रकारका लागुऔषध बरामद भएका छन् । यी प्रतिवादी सञ्जय न्यौपानेलाई अन्य प्रतिवादीहरूका साथमा लागुऔषध थियो भन्ने कुरा पहिला नै थाहा भएको कुरा मिसिलबाट देखिँदैन । जुन कुराको बारेमा निजलाई जानकारी नै थिएन, त्यो कार्यमा दोषी करार गरिनु जायज मान्न सकिँदैन । यी प्रतिवादीले पहिला लागुऔषध सेवन गरेको कसुरमा सजाय पाएका हुँदा यस मुद्दामा पनि निजको संलग्नता थियो नै भन्न सकिँदैन । वादी नेपाल सरकारको पुनरावेदनको हकमा यो मुद्दालाई पहिलेका घटनासँग जोडेर दोषी नै हो भन्न मिल्दैन । पहिला गरेको कसुरका हकमा अघि नै सजाय भोगिसकेका यी प्रतिवादीलाई पूर्वकार्यकै आधारमा पछि अर्थात् यस वारदातमा पनि संलग्न छ भनी कसुरदार कायम गरी सजायको भागी अनन्तकालसम्म गराइराख्नु न्यायको दृष्टिबाट उचित मान्न सकिँदैन । अभियोग लागेको यस वारदातमा निजको संलग्नता पुष्टि भएको छैन । आफ्ना घरमा आएर फर्किएका साथीहरूको पक्षमा लागि प्रहरीसँग विवाद गर्दा अन्य प्रतिवादीहरूसँगै पक्राउ परेको अवस्थालाई लागुऔषध बरामद भएका व्यक्तिहरूकै समूहमा लागेको भनी मान्न मिल्ने देखिएन । मूलतः प्रतिवादी सञ्जय न्यौपानेसँग लागुऔषध बरामद नभएको, मौकामा अनुसन्धान अधिकारीसमक्ष र अदालतमा समेत इन्कार रहेको र अन्य सहअभियुक्तले पनि कसुरमा पोल नगरेको अवस्थामा आरोप लागेको कसुर यी प्रतिवादी सञ्जय न्यौपानेले गरेको भन्ने तथ्य पुष्टि नभएकाले निजलाई सफाइ दिने गरी भएको फैसला मिलेकै देखियो ।
३. अर्का प्रतिवादी सन्तोष भट्टका सम्बन्धमा विचार गर्दा, निजका साथबाट १५ ट्याब्लेट (१ फाइल) नाइट्रोभेट (Nitrovet-१०) बरामद भएको छ । यसमा Nitrozepam पाइएको भन्ने Center polic Forensie Science Laboratory को मिति २०७३।१२।३० को पत्रसाथ Report ले देखिएको छ । मिति २०५१।२।२ को राजपत्रले Nitrozepam मनोद्दीपक पदार्थ (Psychotropic Substance) मात्र हो । साबिकमा पनि यही लागुऔषध सेवन गरी हिँडेको अवस्थामा पक्राउ पर्दा निजलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(ज) बमोजिम सजाय भएको छ । लागुऔषध सेवन गरी लठ्ठिएर हिँडेको अवस्थामा लागुऔषधसहित पक्राउ पर्दा बरामद भएको लागुऔषध सेवन गर्नेबाहेक अन्य प्रयोजनका लागि बोकेको भन्ने देखिन आउँदैन । बरामदी लागुऔषधको मात्रा पनि बढी छैन र प्रतिवादीले पनि उक्त बरामदी लागुऔषध सेवन गर्ने प्रयोजनका लागि खरिद गरेको हो भन्छ भने सोलाई अन्यथा मान्न नपर्ने देखिँदा सो आधारमा सुरू अदालतले गरेको फैसला अन्यथा मान्न मिलेन । अब ब्राउन सुगर जुन Morphine Group को हो, सो लागुऔषध अर्को साथी प्रतिवादीका साथबाट बरामद भएको छ । प्रतिवादी सरोज भट्टको सँगसाथमा यी प्रतिवादी सन्तोष भट्ट पनि रहेकोले निज प्रतिवादी सन्तोष पनि पक्राउ परेका छन् । सोही आधारमा निजलाई पनि अभियोग मागदाबीअनुसारै सजाय हुनुपर्ने हो भन्ने नेपाल सरकारको पुनरावेदन जिकिर रहेको
छ । सँगसँगै रहेको साथीसँग गैरकानूनी चिजवस्तु बरामद हुनु र सो वस्तुसँग अन्य सँगसाथका व्यक्तिहरूको संलग्नता हुनु भिन्न कुरा हुन् । यी प्रतिवादी सन्तोष भट्टलाई ब्राउन सुगर बोक्ने प्रतिवादी सरोज भट्टसँग सो लागुऔषध छ भन्ने कुराको जानकारीसम्म थियो भन्ने कुरा पनि मिसिलबाट कतै देखिँदैन । प्रतिवादी सरोज आफूसँग ब्राउनसुगर लागुऔषध रहेको तथ्यको जानकारी अन्य प्रतिवादी सन्तोष भट्टसमेतलाई दिएका थिए वा निज प्रतिवादी सन्तोष भट्टसमेतले अन्य तवरबाट पनि सो तथ्य थाहा पाएका थिए भन्ने पनि नदेखिएको अवस्थामा सो लागुऔषधको कसुरको सम्बन्धमा यी प्रतिवादी सन्तोष भट्टको समेत संलग्नता थियो भन्न सकिँदैन । कसैसँग सँगसँगै रहेको समूहमा पक्राउ परेकै भरमा थाहासम्म पनि नपाएको विषयमा कसुरदार ठहऱ्याउनु न्यायसङ्गत हुन सक्दैन । तसर्थ वादी नेपाल सरकारले पुनरावेदन पत्रमा उल्लेख गरेको नजिर यस तथ्यसँग मेल खाने नदेखिँदा आकर्षित हुन सक्ने देखिएन । प्रतिवादी सन्तोष भट्टसँग नाइट्रोभेट ट्याब्लेट १५ थान बरामद भएकोमा सोको कसुरमा मात्र लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(ज) बमोजिम २ महिना कैद र रू.२,०००।- जरिवाना गर्ने गरी कैलाली जिल्ला अदालतको मिति २०७५।८।६ गतेको फैसला सदर गर्ने गरी उच्च अदालत दिपायलबाट मिति २०७६।८।४।४ मा भएको फैसलालाई अन्यथा गरिरहनु परेन ।
४. अर्का प्रतिवादी सुरेन्द्र भट्टका सम्बन्धमा विचार गर्दा, निजले बोकेको झोलाबाट ३० ट्याब्लेट Nitrovet, ८ ट्याब्लेट Sposimo-proxiron plus, ४ सिसि Dialex-DC नाम गरेको झोल बरामद भएको देखिन्छ । ती लागुऔषध मनोद्दीपक पदार्थका
देखिन्छन् । मात्रा हेर्दा पनि धेरै छैन । उक्त लागुऔषध खरिद बिक्री गर्ने प्रयोजनका लागि कसैलाई बोलाएको र ऊ निजको सँगसाथमा खरिद गर्न भनी आएको अवस्था पनि छैन । लागुऔषधको सेवन गर्नेबाहेक अन्य कुनै कारोबार गरेको नदेखिएको हुँदा र निजले बोकेको र बरामद भएको लागुऔषधका प्रकृति र मात्रासमेतलाई विचार गर्दा निजलाई पनि ऐ. ऐनको १४(१)(छ)(१) बमोजिमसमेत सजाय हुनुपर्दछ भन्ने नेपाल सरकारको पुनरावेदन सम्बन्धमा विचार गर्दा यी प्रतिवादी सुरेन्द्र भट्टका साथबाट उक्त ब्राउन सुगर लागुऔषध बरामद नहुनुको साथै सो लागुऔषध ब्राउन सुगर प्रतिवादी सरोज भट्टसँग छ भनी पक्राउ पर्नुपूर्व जानकारी पाएको वा प्र. सरोज भट्टले त्यसबारे यी प्रतिवादी सुरेन्द्र भट्टलाई भनेको भन्ने तथ्य कतैबाट देखिएको पनि
छैन । निजसँग लागुऔषध ब्राउन सुगर बरामद पनि भएको छैन । सो खरिद गर्न निजले पैसा दिएका पनि छैनन् । तसर्थ, निज प्रतिवादी सुरेन्द्र भट्टले अर्का प्रतिवादी सरोज भट्टसँग लागुऔषध ब्राउन सुगर रहेको तथ्य थाहै नपाएको विषयका सम्बन्धमा प्रतिवादी सुरेन्द्र भट्ट र प्रतिवादी सरोज भट्टसँगै रहेको अवस्थामा सँगसँगै पक्राउ परेको भन्ने एक मात्र आधारमा निजको पनि सो ब्राउन सुगरको कारोबारको वारदातमा संलग्नता थियो भनी अनुमान गरी कसुरदार ठहऱ्याउनु न्यायसङ्गत हुँदैन । यस मुद्दामा प्र.सरोज भट्टका साथमा ब्राउन सुगर थियो भन्ने तथ्यको जानकारी यी प्रतिवादी सुरेन्द्र भट्टसमेतलाई थियो भन्ने देखिएको छैन । जसबाट जुन मात्रामा लागुऔषध बरामद भएको हो सोही आधारमा सोही व्यक्तिलाई मात्र सजाय हुनुपर्दछ भन्ने नेपाल कानून पत्रिका २०६८, अङ्क १२, निर्णय नं. ८७४३ मा सिद्धान्तसमेत प्रतिपादित भएको छ । उक्त नजिरको सन्दर्भमा हेर्दा यी प्रतिवादी सुरेन्द्र भट्ट पनि निजसँग जेजति जे जस्तो प्रकृतिको लागुऔषध बरामद भएको छ निज सोही प्रकृतिको लागुऔषधको कसुरसँग मात्र कानूनतः जिम्मेवार हुने हुन्छन् । यी प्रतिवादीसँग Nitrovet, Sposimo-proxiron plus र Dialex-DC नाम गरेका मनोद्दीपक प्रकृतिको लागु लागुऔषध केही मात्रामा बरामद भएको हुँदा निजलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४ (च ) बमोजिम कसुर अपराध गरेको भन्नेसम्म मिसिल संलग्न प्रमाण कागजबाट पुष्टी हुन आएको देखिँदा निज प्रतिवादी सुरेन्द्र भट्टसँग बरामदित लागुऔषधको प्रकृति र परिमाणको आधारमा निजलाई सोही ऐनको दफा १४(१)(झ) बमोजिम २ वर्ष कैद सजाय र रू. १,००,०००।- (एक लाख रूपैयाँ) जरिवाना हुने गरी भएको सुरू जिल्ला अदालतको फैसला र सोलाई सदर गर्ने गरी उच्च अदालत दिपायलबाट भएको मिति २०७६।८।४ को फैसला मिलेकै देखिन आउँछ ।
५. प्रतिवादी सरोज भट्टका हकमा विचार गर्दा, निजका साथबाट १४ ग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको छ । सो कुरा निजले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमा गरेको बयानमा पनि स्वीकार गरेका छन् । ब्राउन सुगरलाई उच्च कोटीको लागुऔषध मान्ने गरिन्छ । यति बढी मात्राको लागुऔषधलाई निज आफूले सेवन गर्न खरिद गरेको र लिएको भन्न सकिने अवस्था देखिँदैन । १४ ग्राम लागुऔषध हेरोइन निजको साथबाट बरामद भएको अवस्थामा निजलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(छ)(१) बमोजिम ५ वर्ष कैद र रू.५०,०००।- जरिवाना हुने सजाय गर्ने गरी फैसला हुन गएको छ । निजबाट बरामद भएको लागुऔषधको मात्रालाई विचार गर्दा सेवनतर्फको कसुर कायम गरिपाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । यी प्रतिवादी सरोज भट्टलाई ऐ. दफा १४(१)(छ)(१) बमोजिम ७ वर्ष कैद गर्ने गरी भएको सुरू फैसला सम्बन्धमा विचार गर्दा, यी प्रतिवादीले खरिद गरी ल्याएको लागुऔषध कसैलाई बिक्री गरेको भन्ने देखिएको छैन । निजले उक्त लागुऔषध कसैलाई बोलाएर बिक्री गर्न लाग्दा र लागुऔषध तौल गर्ने सानो तराजुसहित पक्राउ नपरेको अवस्थाले निजको उक्त लागुऔषध बिक्री गर्ने मनसाय/उद्देश्य थियो भन्ने पनि कतैबाट प्रस्ट हुन सकेको देखिँदैन । मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमा गरेको बयान बेहोराबाट समेत सेवन गर्ने उद्देश्यले मात्र सो लागुऔषध खरिद गरी ल्याएको भन्ने देखिए पनि लागुऔषधको प्रकृति र बरामदी परिणामका आधारमा त्यसैलाई नै पत्यार मानी हाल्ने अवस्था भने देखिएन । निजका साथबाट लागुऔषध सेवन गर्दा प्रयोग गर्ने सिक्कासमेत बरामद भए पनि १४/१४ ग्राम ब्राउन सुगरजस्तो लागुऔषधको कसुरलाई सेवनको कसुरसम्म सीमित गर्न मिल्ने देखिन
आउँदैन । उच्च अदालत दिपायलबाट मिति २०७६।८।४ मा लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(छ)(१) बमोजिम ५ वर्ष कैदको सजाय हुने गरी फैसला भएको देखिन्छ । निज प्रतिवादीलाई ऐ. दफा १४(१)(छ)(१) बमोजिम ५ वर्ष कैदको सजाय गर्दा पनि बिक्री गर्न लागेको नदेखिएको जस्तो वारदातको पृष्ठभूमि र प्रकृतिको आधारमा ऐनको मक्सद पूरा हुने हुँदा जिल्ला अदालतले निजलाई ऐ. ऐनको दफा १४(१)(छ)(१) बमोजिम ७ वर्ष कैदको सजाय हुने गरी गरेको फैसलालाई सो हदसम्म उल्टी गरी उच्च अदालत दिपायलबाट प्रतिवादी सरोज भट्टलाई सोही दफाबमोजिम ५ वर्ष कैदको सजाय हुने गरी भएको फैसला मिलेकै देखिन आउँछ ।
६. तसर्थ, माथि विवेचित आधार, प्रमाण र कारण हेर्दा, प्रतिवादीमध्येको सञ्जय न्यौपानेको साथबाट कुनै पनि प्रकारको लागुऔषध बरामद नभएको कारणले निजले कसुर गरेको तथ्य पुष्टि नभएकाले निजलाई सफाइ दिने गरी तथा प्रतिवादी सन्तोष भट्टसँग नाइट्रोभेट ट्याब्लेट १५ थान बरामद भएको आधारमा निजलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(ज) बमोजिम २ महिना कैद र रू.२,०००।- जरिवाना गर्ने गरी र अर्का प्रतिवादी सुरेन्द्र भट्टबाट नाइट्रोभेट ट्याब्लेट ३० थान, Sposimo-proxiron plus ४ सिसि र Dialex-DC नाम गरेको झोल बरामद भएको आधारमा निजलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४ (च) बमोजिमको कसुर अपराध गरेको भन्नेसम्म मिसिल संलग्न प्रमाण कागजबाट पुष्टि हुन आएको देखिँदा कसुरको प्रकृति र बरामदित लागुऔषधको परिमाणको आधारमा निजलाई सोही ऐनको दफा १४(१)(झ) बमोजिम २ वर्ष कैद सजाय र रू. १,००,०००।- (एक लाख रूपैयाँ) जरिवाना हुने गरी र प्रतिवादी सरोज भट्टको साथबाट १४ ग्राम ब्राउन सुगर लागुऔषध फेला परेको, बिक्री गर्ने मनसाय तथा उद्देश्य थियो भन्ने पनि कतैबाट नदेखिएको र मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमा गरेको बयान बेहोराबाट समेत सेवन गर्ने उद्देश्यले मात्र खरिद गरी ल्याएको भनी उल्लेख भए पनि सोलाई नै पत्यार मान्ने अवस्था नदेखिँदा बरामदी मात्राको आधारमा प्रतिवादी सरोज भट्टलाई उच्च अदालत दिपायलबाट ५ वर्ष कैदको सजाय हुने गरी भएको फैसला मिलेकै देखिँदा सदर नै हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसला विद्युतीय प्रणालीमा अपलोड गरी फैसलाको प्रतिलिपिसहित फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयमा र प्रतिवादीसमेतलाई दिनू । दायरीको लगत कट्टा गरी मिसिल नियानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.टंकबहादुर मोक्तान
इजलास अधिकृत : मधुसुदन पन्थी
इति संवत् २०७८ साल असार ९ गते रोज ४ शुभम् ।