विस्तृत खोजी

 
 
 
 
 
      

१७ खोजी नतिजाहरु

निर्णय नं. १०९३० - अदालतको अवहेलना

 फैसला मिति:२०७८/०८/१७  संयुक्त इजलास  १०६९
 पुनरावेदक/ प्रतिवादी : मकवानपुर जिल्ला, हेटौंडा नगरपालिका वडा नं.७ बस्ने अधिवक्ता ध्रुवप्रसाद चौलागाई बिरुद्ध विपक्षी/वादी : सम्माननीय प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबार, काठमाडौंसमेत

यातायात क्षेत्रमा पूर्वाधार निर्माण कार्य गर्दा कुन ठाउँमा सडक, कुन ठाउँमा रेल वा रोपवे र कुन ठाउँमा सुरूङ वा पुल बनाउने भन्ने विषय नितान्त प्राविधिक र नीतिगत विषय सार्वजनिक क्षेत्रका बहसका विषय भई सरकारलाई सुझाव दिने र सिफारिस गर्ने विषयवस्तु हुन सक्लान् तर अमुक ठाउँ नै तोकेर विकास निर्माणको कार्यमा यसो गर वा नगर भनी सरकारको नीतिगत प्राथमिकताको विषयमा न्यायिक प्रक्रियामार्फत आदेश जारी गर्ने विषय नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०९२९ - जबरजस्ती करणी

 फैसला मिति:२०७८/०९/२१  संयुक्त इजलास  १५१२
 पुनरावेदक/ प्रतिवादी : हिलालाल श्रेष्ठको छोरा साबिक गोरखा जिल्ला ध्यालचोक गा.वि.स. वडा नं.९ हाल ऐ. जिल्ला गण्डकी गाउँपालिका वडा नं.८ बस्ने महेन्द्र श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : चित्रकुमारीको जाहेरीले नेपाल सरकार

फौजदारी कसुरमा सत्यताको मूल्याङ्कनको लागि भनाइमा अधिकांशत: स्थिरता (consistency) को विद्यमानता हुनुपर्ने हुँदा जबरजस्ती करणीको वारदातमा पीडितले पीडाको आघात (trauma), सामाजिक लोकलाज र पीडितको आफ्नो अस्मितापूर्ण जीवनलाई पनि चुनौती दिएर आफू विरूद्धको कसुरमा सत्य तथ्य कुरा भन्ने साहस गरेको हुने र समयको अन्तरालमा केही कुरामा सामान्य विरोधाभाष आउन सक्ने स्थितिलाई नकार्न नसकिने । कुनै पनि व्यक्तिले एक पटक भनेको भनाइ बेहोरा पुनः अर्को पटक भन्नुपर्दा अक्षरसः जस्ताको तस्तै मिल्ने गरी भन्न नसकिने । केही सामान्य कुराहरू फरक पर्दैमा सम्पूर्ण भनाइको विश्वसनीयता नै समाप्त भई नहाल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०९२८ - लागु औषध खैरो हेरोइन

 फैसला मिति:२०७८/०३/०९  संयुक्त इजलास  ३६१०
 पुनरावेदक/ प्रतिवादी : प्र.ना.नि. दिलबहादुर महराको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : कृष्णबहादुर न्यौपानेको छोरा जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं.२ बस्ने सञ्जय न्यौपानेसमेत

सँगसँगै रहेको साथीसँग गैरकानूनी चिजवस्तु बरामद हुनु र सो वस्तुसँग अन्य सँगसाथका व्यक्तिहरूको संलग्नता हुनु भिन्न कुरा हुन् । कसैसँग सँगसँगै रहेको समूहमा पक्राउ परेकै भरमा थाहासम्म पनि नपाएको विषयमा कसुरदार ठहऱ्याउनु न्यायसङ्गत नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०९२७ - उत्प्रेषण

 फैसला मिति:२०७९/०२/३१  संयुक्त इजलास  १६०८
 पुनरावेदक/ प्रतिवादी : रूपन्देही जिल्ला सियारी गाउँपालिका वडा नं. २ स्थित अर्घाखाँची सिमेन्ट प्रा.लि. बिरुद्ध विपक्षी/वादी : ठुला करदाता कार्यालय, हरिहरभवन ललितपुर

कानूनी उपचार भए तापनि केही अपवादात्मक अवस्थामा जस्तै उपचार अपर्याप्त भएमा, वा त्यस्तो उपचार प्रदान गर्दा पक्षलाई सुनुवाइको हकबाट वञ्चित गरेको भएमा, वा त्यस्तो निर्णय अधिकारक्षेत्रविहीन निकायबाट भएको देखिएमा वा जुन कानूनको प्रयोग गरिएको हो त्यस्तो कानून नै संविधानसम्मत नरहेको देखिएमा रिट क्षेत्राधिकार आकर्षित हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०९२६ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०७८/०३/११  संयुक्त इजलास  ८७८
 पुनरावेदक/ प्रतिवादी : मंगल वि.क.को नाति तकमान वि.क.को छोरा जिल्ला रोल्पा, साबिक सेरम गा.वि.स. वडा नं. ६ हाल सुनछहारी गाउँपालिका वडा नं. १ घर भई हाल कारागार कार्यालय घोराही दाङमा गैरकानूनी थुनामा रहेका राजु वि.क.को हकमा निजको एकासगोलको दाजु नाता पर्ने मंगल वि.क.को नाति चन्द्रमान वि.क.को छोरा जिल्ला रोल्पा, सुनछहारी गाउँपालिका वडा नं.१ बस्ने विरेन्द्र वि.क. बिरुद्ध विपक्षी/वादी : दाङ जिल्ला अदालतसमेत

बन्दीप्रत्यक्षीकरणको आदेशबाट न्यायिक उपचार प्रदान गर्ने सन्दर्भमा यसको सीमा, परिधि र यस अदालतले लामो समयदेखि अवलम्बन गर्दै आएको न्यायिक मान्यता र अभ्याससमेतलाई विचार गर्दा विषम परिस्थितिकै कारण बन्दीप्रत्यक्षीकरणजस्तो यस अदालतको असाधारण अधिकारक्षेत्रको प्रयोगलाई अपवादको स्थितिमा बाहेक सामान्यत: पुनरावेदकीय अधिकारक्षेत्रजस्तो गरी साधारण क्षेत्राधिकारको विकल्पको रूपमा हेर्न र प्रयोग गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०९२५ - जग्गा खिचोला

 फैसला मिति:२०७८/०८/२८  संयुक्त इजलास  १२३०
 पुनरावेदक/ प्रतिवादी : जिल्ला रौतहट, गौर नगरपालिका वडा नं. २ बस्ने नगिनाप्रसाद चौधरी कलवार बिरुद्ध विपक्षी/वादी : जिल्ला रौतहट, गौर नगरपालिका वडा नं. २ बस्ने सनझरिया कुमारी साह

नेपाल सरकारको नाममा कायम रहेको तथा नक्सामा सार्वजनिक बाटो कायम देखिएको जग्गामा कानूनबमोजिम बाहेक कुनै पनि व्यक्तिले निर्माण कार्य गरी भोगचलन गर्न तथा बसोबास गर्न नपाउने । सार्वजनिक जग्गा मिची निर्माण भएको घर भत्काई खिचोला मेटाउन हदम्यादको प्रश्न बाधक नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०९२४ - फैसला मिलापत्र बदर

 फैसला मिति:२०७८/१२/१५  संयुक्त इजलास  ८८६
 पुनरावेदक/ प्रतिवादी : सर्लाही जिल्ला, हरिपूर्वा गाउँ विकास समिति वडा नं.५ मा बस्ने मोला साहको छोरा बद्री साह कानु बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने रामनन्दन राय

गुठी जग्गाको स्वरूप वा प्रकृति समाप्‍त हुने गरी भएको निर्णय जहिलेसुकै बदर गर्न मिल्ने कानूनी व्यवस्था रहे भएको स्थिति हुँदा भूमिसुधार कार्यालयबाट कुनै निर्णय भएको भरमा वा त्यसउपर पुनरावेदन वा उजुरी नपरेकै आधारमा वा निर्णय बदरको आडमा हदम्यादभित्र नपरेको भन्ने आधारमा यस्ता काम कारबाहीलाई सदर गर्दै जाने हो भने गुठी जस्तो सार्वजनिक उद्देश्यका लागि राखिएका जग्गा कपट वा मिलेमतोमा समाप्त हुँदै जाने अवस्था सिर्जना हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०९२३ - उत्प्रेषणसहितको परमादेश

 फैसला मिति:२०७७/१२/०६  संयुक्त इजलास  ३४९४
 पुनरावेदक/ प्रतिवादी : स्याङ्जा जिल्ला साबिक सातुपसल गा.वि.स. वडा नं. ८ को परिवर्तित पुतलीबजार नगरपालिका वडा नं.१३ स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३२ बस्ने अधिवक्ता प्रकाश नेपाली बिरुद्ध विपक्षी/वादी : व्यवस्थापिका संसद् सचिवालय, सिंहदरबार, काठमाडौंसमेत

संविधानप्रदत्त हकहरूको प्रचलनमार्फत जनतालाई न्यायको अनुभूति गराउनु अदालतको प्रमुख कर्तव्य हो । अदालतको फैसलामार्फत स्थापित अधिकारहरूको कार्यान्वयन हुँदा नै समाजमा न्याय सुनिश्‍चित हुने । अदालतहरूले कानूनको औचित्यमा प्रश्न नउठाए पनि उपयुक्त विधायिकी नीति यस्तो हुनु वाञ्छनीय हुन्छ भन्न सक्ने । संविधानले अङ्गीकार गरेको नीतिअनुरूप कानून बनेको छैन भने न्यूनतमरूपमा पनि यी सर्तहरू पूरा गर्ने कानून बनाउनु भनी निर्देश गर्नु संविधानको अभिभावकको नाताले अदालतको कर्तव्य हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०९२२ - उत्प्रेषण

 फैसला मिति:२०७८/०८/२१  संयुक्त इजलास  २२७२
 पुनरावेदक/ प्रतिवादी : मानबहादुरको छोरा, पाँचथर जिल्ला, मिकलजुङ गाउँपालिका, वडा नं. ५, लिम्बा घर भई हाल ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका, वडा नं. ७ बस्ने वेदबहादुर लावतीसमेत बिरुद्ध विपक्षी/वादी : राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, केन्द्रीय कार्यालय, सिंहदरबार प्लाजा, काठमाडौंसमेत

स्वीकृत अवकाश कोषका हकमा योगदानमा आधारित वा हितबाट भएको दुवै आयलाई आय गणनाको एउटै प्रक्रियाले समेटेको स्थितिमा आयकर ऐन, २०५८ को दफा ६५ को उपदफा (१) मा प्रयुक्त अवकाश भुक्तानीको व्यवस्थामा आर्थिक ऐन, २०७५ ले योगदानमा आधारित भन्ने वाक्यांश थप गरेको भए तापनि स्वीकृत अवकाश कोषका हकमा योगदानमा आधारित वा हितबाट भएको लाभका हकमा समेत उक्त व्यवस्था समान रूपमा आकर्षित हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०९२१ - उत्प्रेषण

 फैसला मिति:२०७८/०९/१३  संयुक्त इजलास  ७५३
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला, बागबजार स्थित त्रिभुवन विश्वविद्यालय, पद्मकन्या बहुमुखी क्याम्पसमा कार्यरत उपप्राध्यापक सुरेश आचार्य बिरुद्ध विपक्षी/वादी : त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्, कीर्तिपुर काठमाडौंसमेत

सार्वजनिक संस्थामा कार्यरत पदाधिकारी वा कर्मचारीहरूका लागि निर्धारित पदीय आचरणअनुकूल अनुशासन कायम गराउने कुराको उत्तरदायित्व पनि सो संस्थामा रहने । सामान्य व्यवस्थापकीय काम कारबाहीको विषयलाई लिएर रिट क्षेत्राधिकारको विषय बनाउनु उचित नहुने । अधिकारक्षेत्रात्मक त्रुटि, गम्भीर अन्यायको अवस्था जस्ता आधारभूत कारणहरू विद्यमान रहेको नदेखिएसम्म संस्थागत रूपमा थालनी गरिएको स्पष्टीकरण सोध्नेसम्मको सामान्य अनुशासनात्मक कारबाहीको विषयलाई लिएर पुनरावेदन आयोगमा पुनरावेदन दिन सकिने प्रभावकारी वैकल्पिक उपचारको व्यवस्था समेत कायम रहेको अवस्थामा अदालतको असाधारण क्षेत्राधिकारबाट हस्तक्षेप गर्नु मनासिब नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०९२० - मूल्य अभिवृद्धि कर (०६२।०६३)

 फैसला मिति:२०७८/१२/२८  संयुक्त इजलास  २२१७
 पुनरावेदक/ प्रतिवादी : आन्तरिक राजस्व कार्यालय, ललितपुरको तर्फबाट ऐ.कार्यालयका प्रमुख कर अधिकृत पदमकुमार श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : एसिया प्यासिफिक कम्युनिकेसन्स एसोसिएट्स नेपाल प्रा.लि., अनामनगर

हाम्रो देशमा करदाताले आफ्नो भएको कारोबारको सम्बन्धमा स्वयंले नै कर स्व-घोषणा गरी सम्बन्धित निकायमा कर बुझाउने भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । करदाताले बुझाएको कर विवरणमा कुनै कैफियत देखिएको अवस्थामा मात्र कर कार्यालयबाट सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी कर निर्धारण गर्न सक्ने । कर निर्धारण गर्दा करदाताले बुझाएको कर विवरणउपरको कैफियत प्रमाणित गर्ने भार कर अधिकृतमा नै रहने । कर अधिकृतले त्यसरी कर निर्धारण गर्दा कानूनले तोकेको समय सीमाभित्र कर निर्धारण गरिसक्नुपर्ने । अन्यथा करदाताले बुझाएको कर विवरण नै अन्तिम भई सोही विवरणले मान्यता पाउने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०९१९ - उत्प्रेषणयुक्त परमादेश

 फैसला मिति:२०७८/११/१५  संयुक्त इजलास  ५९६
 पुनरावेदक/ प्रतिवादी : सिराहा जिल्ला, लक्ष्मीपुर गा.वि.स. वडा नं.६ परिवर्तित हाल लक्ष्मीपुर गा.पा. वडा नं.४ बस्ने बिनाकुमारी मण्डल बिरुद्ध विपक्षी/वादी : नेपाल खानेपानी संस्थान, प्रधान कार्यालय, त्रिपुरेश्‍वर, काठमाडौंसमेत

देवानी दायित्व बुझाउन नसकेबापत कैदमा रहेको बखत परीक्षा दिन र नियुक्ति पत्र बुझ्न दिने तर सो कैदमुक्त भएपछि हाजिर हुन आउने निवेदन तथा काबुबाहिरको परिस्थितिलार्इ समेत बेवास्ता गरी हाजिर हुने सम्बन्धमा सम्पर्क नै नराखेको भनी निवेदकको नाम योग्यताक्रमबाट नै हटाउने गरी सूचना प्रकाशित गरेकोलाई कानून र न्यायसङ्गत कार्य मान्‍न नसकिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०९१८ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७७/१०/१३  संयुक्त इजलास  ९०३
 पुनरावेदक/ प्रतिवादी : दाङ जिल्ला, तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ घर भई मिति २०६६।१२।२६ देखि ज्येष्ठता कायम हुने गरी नेपाल परराष्ट्र सेवा, रा.प.द्वितीय श्रेणीको उपसचिव पदमा बढुवा नियुक्ति पाई हाल परराष्ट्र मन्त्रालयमा सोही पदमा कार्यरत धनबहादुर वलीसमेत बिरुद्ध विपक्षी/वादी : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत

वृत्ति विकासले निजामती कर्मचारीको सेवासँग मात्र सम्बन्ध राख्‍ने नभई समग्र निजामती कर्मचारीको सङ्गठनको संरचनासँग पनि सम्बन्ध राख्दछ । कानूनसम्मत वृत्ति विकास भन्‍ने कुरा सेवारत राष्ट्र सेवकको अधिकार पनि हो । कानूनबमोजिमबाहेक अन्य अवस्थामा यदि वृत्ति विकासमा रोक लगाइन्छ अथवा वृत्ति विकासबाट कसैलाई गैरकानूनी तवरले वञ्‍चित गरिन्छ भने त्यस अवस्थामा गैरकानूनी तवरले मर्का पर्ने गरी गरिएको निर्णयउपर प्रभावित राष्ट्रसेवकले उपचारको सहारा लिन सक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०९१७ - कर्तव्य ज्यान

 फैसला मिति:२०७७/१०/२०  संयुक्त इजलास  ११८२
 पुनरावेदक/ प्रतिवादी : नगेन्द्र चौधरीको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : रूपन्देही जिल्ला मधवलिया गा.वि.स. वडा नं. ७ घर भई हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेका विनोद कुँवर थारू

भवितव्यमा कर्ताको कार्य सामान्यतः कानूनद्वारा वर्जित नगरेको र निज कर्ताको कार्यबाट कुनै व्यक्तिको हत्या नै हुन पुग्छ भन्नेसमेत आशंका नहुने । मृतकको कारणबाट प्रतिवादीले आत्मसंयम गुमाई तत्कालै अगाडिबाट मृतकलाई प्रहार भई मृत्यु हुन पुगेको र त्यस अवस्थामा कुनै जोखिमी हतियारसमेत प्रयोग नभएको देखिएको हुँदा निज प्रतिवादीको कार्य भवितव्य नभई आवेशप्रेरित हत्या भएको भनी मान्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०९१६ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०७८/०८/०६  संयुक्त इजलास  ११७०
 पुनरावेदक/ प्रतिवादी : माइला नेपालीको नाति सार्की नेपाली र राममाया नेपालीको छोरा काभ्रेपलाञ्चोक जिल्ला साबिक बोल्देफेदिचे गा.वि.स. वडा नं.१ परिवर्तित पनौती न.पा. वडा नं. ८ मा स्थायी घर भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.७ हनुमानघाटमा अस्थायी बसोबास भई हाल मुद्दा पुर्पक्षका लागि गैरकानूनी रूपमा कारागार कार्यालय डिल्लीबजारमा राखिएका रमेश नेपाली (परिवर्तित नाम भक्तपुर जगाती २७(G२) को हकमा अधिवक्ता नवल किशोर साह बिरुद्ध विपक्षी/वादी : भक्तपुर जिल्ला अदालत, भक्तपुर

उमेरको गणना गर्ने सम्बन्धमा विभिन्‍न देश, समाज र संस्कृतिमा भिन्‍न तरिकाहरू विद्यमान भए तापनि नेपालमा सरकारको कामकाज वा कार्यालयको प्रयोजनका लागिसमेत बालबालिकाको जन्म भएको मितिदेखि अर्को वर्षको जन्मदिनलाई एक वर्ष मानी अर्थात् जन्मदिनलाई एक दिन पूरा भएको गणना गरी एक वर्षको ३६५ दिन मान्दा सामान्यतया १८ वर्षको ६,५७० दिन पूरा गरेको व्यक्तिलाई विद्यमान कानूनी प्रणालीभित्र वयस्क व्यक्ति मान्‍नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०९१५ - गैंडा मारी खाग बिक्री व्यवसाय

 फैसला मिति:२०७७/१२/१९  संयुक्त इजलास  २५७३
 पुनरावेदक/ प्रतिवादी : प्रहरी अनुसन्धान ब्युरोको जाहेरी प्रतिवेदनले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : चितवन जिल्ला, पदमपुर, गा.वि.स. वडा नं. १ बस्ने गोपाल प्रजासमेत

कसुरदारको सहयोगी वा मतियारले गरेको कार्यको गाम्भीर्य, वारदात सम्पन्न हुनुपूर्व वा वारदातपछिको निजको संलग्नताको अवस्था वा कसुरको परिमाण (मात्रा) एवम् यसरी सहयोगी कार्य गर्दाको अवस्थामा निजको आपराधिक मनसायलगायतको सम्बन्धमा प्राप्त प्रमाणको मूल्याङ्कनको आधारमा निजको सजाय तोकिनु वाञ्छनीय हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०९१४ - उत्प्रेषण

 फैसला मिति:२०७९/०१/१५  पूर्ण इजलास  ७०३
 पुनरावेदक/ प्रतिवादी : मीनबहादुरको छोरा इलाम जिल्ला साबिक कन्याम गा.वि.स. घर भई राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, केन्द्रीय कार्यालय काठमाडौंमा प्रशासन सहायक (सहायक प्रथम) पदमा कार्यरत थिरबहादुर कटुवाल बिरुद्ध विपक्षी/वादी : राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, केन्द्रीय कार्यालय, काठमाडौंसमेत

बढुवा प्रयोजनका लागि कुनै कानूनमा अस्थायी सेवाको निश्चित अवधि स्थायी सेवामा गणना गर्ने प्रयोजनका लागि निर्मित कानूनी व्यवस्थालाई सोही प्रयोजनको लागि मात्र हो भनी बुझ्नुपर्ने । बढुवा प्रयोजनको लागि अस्थायी सेवाको निश्चित अवधिलाई स्थायीसरह मानी जोडिने प्रावधानलाई अवकाश प्रयोजनको लागि पनि हो भनी व्याख्या गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु