विस्तृत खोजी

 
 
 
 
 
      

२२ खोजी नतिजाहरु

निर्णय नं. १११२० - मोही नामसारी

 फैसला मिति:२०७९/०३/२२  संयुक्त इजलास  १५५२
 पुनरावेदक/ प्रतिवादी : अभयमान डंगोलको नाति, कान्छाभाइ डंगोलको छोरा, का.जि. का.म.न.पा. १२, ब्रह्मटोल बस्ने चन्द्रमान डंगोल बिरुद्ध विपक्षी/वादी : चन्द्रकान्त फुयालकी बुहारी ओमप्रसाद फुयालकी श्रीमती का.जि. का.म.न.पा. वडा नं. १४ बस्ने दुर्गा शर्मा

कुनै जग्गामा कुनै व्यक्ति मोही कायम भइसकेपछि निजलाई कानूनबमोजिम निष्काशन नगरेसम्म उक्त जग्गामा निजको मोही हक कायम रहेको मानिने । कुनै जग्गामा कुनै व्यक्ति मोही कायम हुनुको मतलब निजले त्यस्तो हक छोड्नै नपाउने भन्न नमिल्ने । मोहीले जग्गा छोडी भागेमा वा बेपत्ता भएमा वा कुत बाली नबुझाएमा पनि मोही हक कायम रहन्छ भन्न नमिल्ने । यस्तो स्थिति सिर्जना भएमा कुनै व्यक्तिलाई मोहियानी हकबाट वञ्चित गर्न वा हटाउन सकिने । कुनै व्यक्तिलाई प्राप्त मोही हकबाट वञ्चित गर्न कानूनबमोजिमको प्रक्रिया अवलम्बन गर्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११११९ - उत्प्रेषण

 फैसला मिति:२०७९/०३/०९  संयुक्त इजलास  ६८८
 पुनरावेदक/ प्रतिवादी : पदम साहकी नातिनी दिपेन्द्र साह र तारा देवी मल्लकी छोरी चितवन जिल्ला कालिका नगरपालिका वडा नं. ३ बस्ने वर्ष २५ की सरू शाह बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, गृह मन्त्रालयसमेत

सिफारिस वा सनाखतउपर शङ्का लागेमा वा नागरिकताको प्रमाणपत्र नै प्राप्त गरेपछि पनि कुनै गलत तवरले नभएको झुठा विवरण पेस गरी नागरिकताको प्रमाणपत्र प्राप्त गरेमा जुनसुकैबेला पनि कानूनबमोजिम कारबाही हुन सक्ने कुरा बेग्लै हो तर पेस भएको विवरणलाई झुठा हो पनि नभन्ने अनि नागरिकताको प्रमाणपत्र पनि दिन्न भन्दा कानूनले प्रत्याभूत गरेको नागरिकता पाउने अधिकारबाट गैरकानूनी रूपमा वञ्चित हुनुपर्ने अवस्था सिर्जना हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११११८ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०७९/०३/१६  संयुक्त इजलास  ७९६
 पुनरावेदक/ प्रतिवादी : परिवर्तित नाम ७१ लम्की ८० को हकमा सार्वजनिक प्रतिरक्षक समाज नेपाल (PDS-Nepal) सँग आवद्ध अधिवक्ता श्री नवलकिशोर साह बिरुद्ध विपक्षी/वादी : जिल्ला प्रहरी कार्यालय, कैलालीसमेत

बालबालिकाको हकमा अपरिपक्व र कैद वा सुधार गृहमा राख्ने कुरा अन्तिम विकल्प हो र सोपूर्व के गर्दा कानूनको द्वन्द्वमा परेको बालबालिकामा सुधार आउन सक्छ, भविष्यमा आपराधिक दुनियाँमा नपुगी राज्यको उपयोगी नागरिक (useful citizen) बन्न सक्छ भन्ने कुरालाई विशेष दृष्टि दिनुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११११७ - लिखत दर्ता बदर दर्ता

 फैसला मिति:२०७९/११/१४  संयुक्त इजलास  १२८९
 पुनरावेदक/ प्रतिवादी : विदेश भारत, पूर्वी चम्पारण जिल्ला, सिगौली थाना ग्राम राजलक्ष्मीपुर हाल परिवर्तित ग्राम पञ्चायत दक्षिणा मनसिंघा ग्राम (मधुमल्ती) जन्मघर भई हाल नेपाल सरहद, बारा जिल्ला, फत्तेपुर गा.वि.स., वडा नं. ९ वस्ने भागवतप्रसादको छोरा मुकेशप्रसाद यादवसमेत बिरुद्ध विपक्षी/वादी : बारा जिल्ला, पिप्रा सिमरा गा.वि.स., वडा नं. ३ बस्ने ओमकृष्ण कार्कीसमेत

एकासगोलको पैतृक सम्पत्ति कुनै अमुक अंशियारको नाममा दर्ता कायम रहे पनि उक्त सम्पत्तिमा कानूनतः अन्य अंशियारहरूसमेतको अंश भाग लाग्ने । एकासगोलको अंशियारका नाममा रहेको अंशियारहरूमा बन्डा लाग्ने सम्पत्तिमा अंशको समान हकदार अन्य अंशियारहरूको स्वीकृति मन्जुरीबेगर कुनै अंशियारले आफ्नो नाममा रहे भएकै आधारमा सुक्री बिक्री गरी निजले एकलौटी रूपमा फाइदा लिने कार्यलाई न्यायसङ्गत मान्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११११६ - उत्प्रेषणयुक्त परमादेशसमेत

 फैसला मिति:२०७८/०८/२६  संयुक्त इजलास  १०७५
 पुनरावेदक/ प्रतिवादी : टरू सुतिहारको छोरा, सप्तरी जिल्ला, बेली चपेना गाउँपालिका, वडा नं. ५ बस्ने रामनारायण शर्मासमेत बिरुद्ध विपक्षी/वादी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौँसमेत

आफ्नो हस्ताक्षरको दुरूपयोग भएको र निर्णयमा आफ्नो असहमति रहेको भनी कुनै सभा सदस्यले प्रश्न नउठाएको अवस्थामा तेस्रो व्यक्तिको रूपमा रहेका निवेदकहरूले विवाद उठाएकै भरमा कानूनबमोजिम स्थापित निकायले गरेको निर्णयलाई अन्यथा भन्न नमिल्ने । कुनै सार्वजनिक निकायले कानूनको दायरा नाघी वा आफूलाई नभएको अधिकार प्रयोग गरी निर्णय वा कामकारबाही गरेमा सो विषय न्यायिक निरूपणको विषय हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११११५ - सार्वजनिक जग्गा खिचोला मेटाई घर उठाई सार्वजनिक कायम गरिपाऊँ ।

 फैसला मिति:२०७६/१०/२२  संयुक्त इजलास  १३०१
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी, गा.वि.स. कटैया वडा नं. २ बस्ने दजाई अधिकारीको छोरा पुनदेव अधिकारीसमेत बिरुद्ध विपक्षी/वादी : जिल्ला सप्तरी, गा.वि.स. कटैया वडा नं. ४ बस्ने लालजी प्रमाणीको छोरा गेनालाल प्रमाणीसमेत

पोखरीको भाग भनेको पानी जमेको भाग जति मात्र पोखरीको भाग नभई त्यसले चर्चेको मानिस तथा पशुपन्छी आवतजावत गर्न मिल्ने जति क्षेत्र पनि पोखरीको भाग नै मान्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११११४ - परमादेश

 फैसला मिति:२०७८/०९/०९  संयुक्त इजलास  १५२२
 पुनरावेदक/ प्रतिवादी : रौतहट जिल्ला, विश्रामपुर गाउँ विकास समिति वडा नं. ३ स्थित श्री सरस्वती प्रा.वि. को राहत शिक्षक रामएकवाल प्रसाद यादव बिरुद्ध विपक्षी/वादी : रौतहट जिल्ला, विश्रामपुर गाउँ विकास समिति वडा नं. ६ स्थित श्री सरस्वती प्रा.वि. को विद्यालय व्यवस्थान समितिसमेत

कानूनबमोजिम अधिकारप्राप्त निकायले सोसम्बन्धी छानबिन तथा कारबाही नगर्ने तर शिक्षक छनौट प्रक्रियामा सम्मिलित भई प्रतिस्पर्धाबाट छनौट भएको व्यक्तिलाई विद्यालयमा नियमित कामकाज गरेको अवधिको समेत तलब भत्ता निकासा नदिएको कार्य न्यायोचित नदेखिने । आफूले काम गरेको अवधिको हाजिरीबमोजिमको तलब भत्ता पाउनुपर्ने श्रमसम्बन्धी कानून र श्रम विधिशास्त्रको आधारभूत मान्यतासमेत हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११११३ - दर्ता बदर दर्ता कायम घर उठाई पाऊँ

 फैसला मिति:२०७८/१२/०७  संयुक्त इजलास  १७९४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. १३ बस्ने पंखबहादुरको छोरा बद्रीबहादुर बुढाथोकी बिरुद्ध विपक्षी/वादी : मोरङ जिल्ला, विराटनगर उपमहानगरपालिका वडा नं. १२ बस्ने जमिर अहमद मरी मुद्दा सकार गर्ने निजको छोरा ऐ.ऐ. वडा नं. २१ बस्ने साहिद अली मिया भन्ने सहिद अली मियासमेत

सम्पत्तिसम्बन्धी विवादमा भोग र स्वामित्वलाई विशेष रूपमा हेरिनुपर्ने । सामान्यतया सम्पत्तिमा जसको भोग हुन्छ उसकै स्वामित्व रहेको (possession in nine-tenths of the law) मानिने विधिशास्त्रीय मान्यता रहेको भए तापनि विशेष परिस्थिति वा अवस्थामा कहिलेकाहीँ स्वामित्व नरहेको व्यक्तिको भोग स्थापित हुन सक्ने । यदि यस्तो भोग प्रचलित कानूनविपरीत रहे भएको भए अदालतले हस्तक्षेप गरी सम्बन्धित धनीलाई भोगाधिकार प्रचलन गराइदिन सक्ने । तर स्वामित्व रहेको व्यक्तिले आफ्नो अधिकारको प्रचलन गर्न गराउन समयमा नै कानूनी उपचार खोज्नुपर्ने । अन्यथा कहिलेकाहीँ अचल सम्पत्तिमा प्रतिकूल भोग (adverse possessions) को सिद्धान्त लागु हुन सक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११११२ - उत्प्रेषणसमेत

 फैसला मिति:२०७९/०२/१०  संयुक्त इजलास  ६२१
 पुनरावेदक/ प्रतिवादी : साबिक डोटी जिल्ला, जोरायल गा.वि.स., वडा नं.३ घर भई हाल भक्तपुर जिल्ला, महानगरीय प्रहरी प्रभाग दुवाकोट भक्तपुर प्र.ज. (सङ्केत नं. C-००११४८५५) (कम्प्युटर नं. ४०९१०७) सेवाबाट पदमुक्त गरिएको भक्तपुर महानगरपालिका बस्ने यज्ञराज अवस्थीको छोरा दिर्घराज अवस्थी बिरुद्ध विपक्षी/वादी : महानगरीय प्रहरी कार्यालय, कर्मचारी प्रशासन शाखा, रानीपोखरी काठमाडौंसमेत

अधिकारप्राप्त अधिकारीले प्रहरी सेवाको सानो पदको कर्मचारीउपर कारबाही गर्दा कानूनले तोकेको कार्यविधि वा कानूनद्वारा निश्चित गरिएका प्रक्रियाहरू अनुशरण नगर्ने तर जब अदालतमा कानूनी रीत पुर्‍याएको वा नपुर्‍याएको भन्ने सम्बन्धमा प्रश्न उठ्छ तब यो व्यक्तिले विगतमा यसो गरेको थियो भन्ने जस्ता कुराहरू गर्नु उचित नहुने । यस्ता कुराहरू न्यायका रोहमा स्वीकार्य नहुने । सेवाबाट हटाउने निर्णय वस्तुनिष्ठ कारणमा आधारित हुनुपर्ने र असर पर्ने व्यक्तिलाई आफ्नो सफाइ पेस गर्ने पर्याप्त अवसर प्रदान गरिनुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११११ - धर्मपुत्र लिखत बदर

 फैसला मिति:२०७९/०८/२०  संयुक्त इजलास  ९०९
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१२ ह्यूमत रामचन्द्रस्थान डेरा गरी बस्ने पुतलीनानी श्रेष्ठको धर्मपुत्र रत्न कपाली श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१२ ह्यूमत रामचन्द्रस्थान बस्ने रामदाश श्रेष्ठको छोरी कृष्णदाश श्रेष्ठको श्रीमती पुतलीनानी श्रेष्ठको स्वर्गारोहण भई शेषपछिको बकसपत्र लिने भनिएका ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं.१ कुपण्डोल बस्ने नारायण तण्डुकारको छोरा अर्जुन तण्डुकार

आफूलाई पालन पोषण गर्नुपर्ने अवस्थामा धर्मपुत्र राखेको छोटो समयमा नै बदरको लागि फिराद दिनुपर्ने कारण विचारणीय देखिने । धर्मपुत्रको लिखत बदर नै हुन नसक्ने, एक पटक लिखत पारित गरिदिएपछि प्राकृतिक सन्तानले प्राप्त गर्ने अधिकार जस्तो अटल रहने कागजात पनि होइन । धर्मपुत्र भइसकेपछि धर्मपुत्र बस्नेले आफ्ना धर्मपुत्र राख्ने आमा बाबुप्रतिको दायित्व र कर्तव्य पूर्ण रूपमा पूरा गरेमा निजले प्राकृतिक छोरासरह नै अधिकार प्राप्त गर्दछ, कानूनले समेत संरक्षण प्रदान गरेको धर्मपुत्रको लिखतभित्र अन्तरनिहित विषय सम्पत्तिको मोहभन्दा पनि धर्मपुत्र दिने व्यक्तिको हेरचाह, साहारा र सम्पत्तिको संरक्षणतर्फको विषय महत्त्वपूर्ण हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११११० - अंश

 फैसला मिति:२०७९/०७/२०  संयुक्त इजलास  ६७३
 पुनरावेदक/ प्रतिवादी : स्व. रामप्रगास मुराउको छोरा, जिल्ला बाँके, हिरमिनिया गाउँ विकास समिति, वडा नं.९ कालाबञ्जार बस्ने ओरीलाल मुराउ बिरुद्ध विपक्षी/वादी : स्व. रामप्रगास मुराउको छोरा, जिल्ला बाँके, हिरमिनिया गाउँ विकास समिति, वडा नं. ९ कालाबञ्जार बस्ने सियाराम मुराउ

धर्मपुत्र हुनेले आफूलाई जन्मदिने बाबुको सम्पत्तिमा दाबी गर्न नपाउने र धर्मपुत्र राख्नेको सम्पत्तिबाट अंश पाउने भनी स्पष्ट कानूनी व्यवस्था रहेको स्थितिमा अन्यथा प्रमाणित नभएसम्म सगोलमा हुँदाका अवस्थामा खरिद गरिएको जग्गालाई पुर्ख्यौली सम्पत्तिबाट बढे बढाएको वा खरिद गरेको मान्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११०९ - उत्प्रेषण

 फैसला मिति:२०७९/०४/२३  संयुक्त इजलास  २९३६
 पुनरावेदक/ प्रतिवादी : कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं.६ मा रजिस्टर्ड कार्यालय रहेको शान्ति मल्टिसर्भिस प्रा.लि. को तर्फबाट अख्तियार प्राप्त ऐ. का अध्यक्ष दिपक महत बिरुद्ध विपक्षी/वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंसमेत

फेवाताल किनाराको पर्यटकीय दृष्टिले अत्यन्त महत्त्वपूर्ण जग्गालाई, जे जसरी लिजमा दिइएको छ, सो किञ्चित रूपमा पनि उचित र सार्वजनिक हितअनुकूल नदेखिने । सरकार सार्वजनिक जग्गाको न्यासी (trustee) सम्म हुने, मालिक नहुने । कानूनको त्रुटि गरी कार्य भएको छ भने सो कुरा कुनै निकायले पनि औंल्याउन सक्छ । यस्तोमा गर्न खोजिएको कार्य अवैध र कानून विरूद्ध छ भने त्यो सदा कानून विरूद्ध र अवैध नै हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११०८ - तामेली निर्णय बदर बन्डाबमोजिमको कित्ताकाट नामसारी

 फैसला मिति:२०७९/०४/२५  संयुक्त इजलास  ५८२
 पुनरावेदक/ प्रतिवादी : भिमभक्तको नाति अनङ्गभक्त प्रधानाङ्गको छोरा काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २७ बस्ने केदारभक्त प्रधानाङ्ग बिरुद्ध विपक्षी/वादी : ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. ३ बखुण्डोल बस्ने बद्रीभक्त प्रधानाङ्ग

मुद्दाको विषयवस्तुबाट उक्त विषय फिरादपत्रको रोहबाट अदालत प्रवेश गर्नुपर्ने प्रकृतिको देखिएको र तदनुरूप सुरू जिल्ला अदालतमा फिरादपत्र दायर भएकोमा मालपोत कार्यालयबाट निर्णय हुँदा “तामेली” बेहोरा उल्लेख गरेको कारण प्रचलित कानूनबमोजिम दाबीको जग्गामा अंश हक कायम गराउन जिल्ला अदालतमा फिराद दायर गर्न नसकिने भन्ने देखिन आउँदैन । अंश र साम्पत्तिक हकको प्रश्न समावेश भएको निवेदनका विषयमा निर्णय गर्ने क्षेत्राधिकार मालपोत कार्यालयलाई नभएकोले त्यस्तो निवेदनलाई तामेलीमा राख्न गरेको निर्णयलाई कानून प्रतिकूल भनी मान्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११०७ - निर्णय बदर, हक कायम

 फैसला मिति:२०७९/०५/१४  संयुक्त इजलास  ६९९
 पुनरावेदक/ प्रतिवादी : ललितपुर जिल्ला, साबिक लुभु गा.वि.स. वडा नं. ९ हाल महालक्ष्मी नगरपालिका वडा नं. ८ बस्ने हर्षलाल भन्ने हरिलाल महर्जनको नाति कुमाचा भन्ने कुमारलाल महर्जनको छोरा हरिशरण महर्जन बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ३२ डिल्लीबजार बस्ने तेजमोहनको छोरा यादव मोहन पौडेल

मोहीले आफूले कमाएको जग्गामा घर निर्माण गरी भोगचलन गरेको कुराबाट नै जग्गाउपरको हक स्वामित्व स्थापित नहुने । आपसमा अंश मुद्दा गरी सो मुद्दाबाट अंशबन्डा लगाउने ठहर भएको कारणबाट नै वास्तविक जग्गाधनीको हक स्वामित्व समाप्त नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११०६ - उत्प्रेषण

 फैसला मिति:२०७९/१२/०३  संयुक्त इजलास  ७२३
 पुनरावेदक/ प्रतिवादी : आलेको नाति पहलेको छोरा गोरखा जिल्ला गोरखा हर्मी गा.वि.स. वडा नं.२ साबिक घर भई का.जि. विष्णु गाउँ गा.वि.स. वडा नं. ५ हाल परिवर्तित बुढानिलकण्ठ न.पा. वडा नं.४ बस्ने वर्ष ४७ को कमलबहादुर परियार बिरुद्ध विपक्षी/वादी : श्री गोरखा जिल्ला अदालतसमेत

हाल बसोबास गरिरहेको ठेगाना उल्लेख गरेकोमा उक्त ठेगानामा म्याद जारी नभई बसाइँसराइँ लिई छाडिसकेको स्थानमा जारी गरिएको म्याद र सोही वतनमा तामेल भएको उक्त म्याद रीतपूर्वक तामेल भएको मान्न नमिल्ने । यसरी बेरितसँग जारी गरी बेरित तवरबाट नै तामेल गरिएको म्यादलाई मान्यता प्रदान गरी भएका काम कारबाही तथा फैसलालाई कानूनअनुकूल भएको भनी मान्न नमिल्ने । कुनै व्यक्ति विरूद्ध लगाइएको आरोपको कानूनबमोजिम प्रतिरक्षा गर्न पाउने निजको संवैधानिक अधिकार हुने । कसैलाई पनि स्वच्छ सुनुवाइको हकबाट वञ्चित गर्न नमिल्ने । सुनुवाइको मनासिब मौका नदिई सजाय हुने ठहर गर्दा स्वच्छ सुनुवाइसम्बन्धी हकमा आघात पर्न जाने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११०५ - उत्प्रेषणसमेत

 फैसला मिति:२०७९/०७/२७  संयुक्त इजलास  ८७९
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला कागेश्वरी मनोहरा न.पा. वडा नं. ८ बस्ने जगतकृष्ण श्रेष्ठसमेत बिरुद्ध विपक्षी/वादी : काभ्रे जिल्ला उग्रतारा गा.वि.स. वडा नं. १ जन्म भई हाल काठमाडौं जिल्ला मनोहरा न.पा. वडा नं. ८ बस्ने राम श्रेष्ठसमेत

रिट क्षेत्राधिकारबाट साधारण एवं नियमित अधिकारक्षेत्रअन्तर्गत कारबाहीयुक्त अवस्थामा रहेको मुद्दाको तथ्य एवं औचित्यमा प्रवेश गर्नु मनासिब नदेखिने । मातहत अदालतमा विचाराधीन मुद्दालाई प्रभावित हुने गरी र न्याय निरूपणमा प्रभाव पार्ने गरी रिट जारी गर्नु मनासिब नहुने एवं साधारण अधिकार क्षेत्रअन्तर्गत मातहत जिल्ला अदालतबाट मुद्दाको कारबाहीको सिलसिलामा भए गरेका काम कारबाहीलाई रिट क्षेत्रबाट हस्तक्षेप गर्नु मनासिब नहुने । प्रमाण बुझ्नेसम्बन्धी कारबाहीको विषयमा अदालतको असाधारण अधिकार क्षेत्र आकर्षित हुन सामान्यतया वाञ्छनीय नहुने । जिल्ला अदालतको फैसलाउपर परेको पुनरावेदनको रोहबाट पनि हेर्न सकिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११०४ - अंश दर्ता

 फैसला मिति:२०७९/०६/३१  संयुक्त इजलास  १०७२
 पुनरावेदक/ प्रतिवादी : दिनानाथ दाहालको पत्नी जिल्ला सुनसरी इटहरी उपम.न.पा. वडा नं. ४ बस्ने अप्सरा भन्ने धनमाया दाहालसमेत बिरुद्ध विपक्षी/वादी : जिल्ला सुनसरी इटहरी उपम.न.पा. वडा नं. ४ बस्ने रेखा नेपाल (दाहाल)

एक विवाहिता नारीलाई निजको सहमति मन्जुरी नलिई निजले दिएको अंश मुद्दालाई प्रभावित पार्ने गरी पतिले सगोलको सम्पत्तिबाट कानूनबमोजिम नरम करमको अंश नलिई अन्य आंशियारलाई छोडी नाम मात्रको अंश लिएर बन्डापत्रको कागज गर्नु न्यायसङ्गत मान्न नसकिने । कसैले आफ्नो हक परित्याग गर्दैमा अन्य अंशियारको अंश हक पनि गुमेको अर्थ गर्न नमिल्ने । व्यक्तिको कानूनी हकलाई निष्क्रिय वा सङ्कुचित गरी हक अधिकारबाट वञ्चित गराउनका लागि भएको बन्डापत्रलाई कानूनी मान्यता दिनु उपयुक्त नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११०३ - कर्तव्य ज्यान

 फैसला मिति:२०७९/१०/०९  संयुक्त इजलास  २९१२
 पुनरावेदक/ प्रतिवादी : ओखलढुङ्गा जिल्ला, पोकली गा.वि.स., वडा नं. २ बस्ने पुष्कर गौतम बिरुद्ध विपक्षी/वादी : गणेशकुमार श्रेष्ठको जाहेरीले नेपाल सरकार

प्रमाण पुर्‍याउने भार अभियोक्तामा रहने, निर्दोषिताको अनुमान अभियुक्तको पक्षमा जाने तथा शंकाको सुविधा अभियुक्तले पाउने जस्ता फौजदारी न्यायका सर्वमान्य सिद्धान्तबमोजिम शंका जतिसुकै बलियो भए पनि त्यसले निर्णायक प्रमाणको स्थान लिन नसक्ने हुँदा प्रतिवादीले कसुर गरे होलान् भन्ने शंकात्मक अवस्थाको आधारमा प्रतिवादीलाई कसुरदार ठहर गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११०२ - कालो बजार तथा अन्य केही सामाजिक अपराध

 फैसला मिति:२०७९/०९/२४  संयुक्त इजलास  १०९८
 पुनरावेदक/ प्रतिवादी : झापा जिल्ला, भद्रपुर न.पा.वडा नं.४ स्थित मित्तल सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.का सञ्चालक सुरेशकुमार मित्तल (अग्रवाल) बिरुद्ध विपक्षी/वादी : जिल्ला प्रशासन कार्यालय, झापाको पत्र जाहेरीले नेपाल सरकार

सिमेन्टको गुणस्तर परीक्षण गर्ने साधिकार निकाय गुणस्तर तथा नापतौल विभागले गरेको नमुना परीक्षणमा अविश्वास गर्नुपर्ने देखिँदैन । मुद्दा हेर्ने अधिकारीले नमुनाको पुनः परीक्षण गर्नुपर्ने आवश्यक ठानी आदेश गरेको अवस्थामा बाहेक पुनः परीक्षण गर्न नपर्ने । नमुना परीक्षण गर्दा व्यक्तिको स्वविवेकले जाँच प्रतिवेदन तयार गर्ने नभई विज्ञान र सिद्धान्तको आधारमा प्रतिवेदन तयार गरिने भएकाले उक्त प्रतिवेदन गलत भएको भनी साक्षीले भनेको आधारमा मात्र प्रमाणमा लिन नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११०१ - जबरजस्ती करणी

 फैसला मिति:२०७९/०८/१९  संयुक्त इजलास  २३७९
 पुनरावेदक/ प्रतिवादी : मिनबहादुर वि.क.को छोरा सल्यान जिल्ला, सेजुवाल टाकुरा गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार शाखा, कास्की थुनामा रहेका स्याने भन्ने सरोज वि.सी. बिरुद्ध विपक्षी/वादी : परिवर्तित नाम रूकुम ११ को जाहेरीले नेपाल सरकार

एउटा महिलाको पारिवारिक, सामाजिक तथा सांस्कृतिक परिवेशसमेतका कारण निजको प्रतिष्ठामा आँच आउने, कलङ्कित (Stigmatized) हुने डर तथा वारदातपश्चात् पीडितमा पर्न गएको शारीरिक र मानसिक विक्षिप्तताका साथै समाजले पुर्‍याउन सक्ने थप पीडाको डरका बाबजुद जबरजस्ती करणी कसुरको पीडित स्वयंले निजमाथि घटेको घटनाको सम्बन्धमा जाहेरी दिई उक्त जाहेरी बेहोरालाई समर्थन गरी अदालतमा समेत सनाखत बकपत्र गरेमा उक्त प्रमाणलाई अन्यथा प्रमाणित नभएसम्म न्यायको रोहमा सर्वश्रेष्ठ र अकाट्य प्रमाणको रूपमा लिनुपर्ने । महिलाको शरीर र अस्मिता विरूद्ध हुने जघन्य अपराधमा पीडितको भनाइलाई अदालतले अत्यन्त गम्भीरताको साथ लिनुपर्ने । जबरजस्ती करणी मुद्दामा पीडितको भनाइ र जाहेरीले सर्वाधिक महत्त्व राख्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु