विस्तृत खोजी

 
 
 
 
 
      

१६ खोजी नतिजाहरु

निर्णय नं. ११३२३ - बेनिस्सा जग्गा दर्ता बदर

 फैसला मिति:२०८०/१०/०२  संयुक्त इजलास  ३७५
 पुनरावेदक/ प्रतिवादी : सूर्य प्रताप राणाकी बुहारी किशोर प्रताप राणाकी श्रीमती भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. ४ थालाछे बस्ने उषा विष्ट राणा बिरुद्ध विपक्षी/वादी : मेन मानको नाति विकुलालको छोरा काभ्रेपालाञ्‍चोक जिल्ला सागा नासिकास्थान गा.वि.स. वडा नं.३ बस्ने जनकलाल बनमाली

दुवै पक्षले दाबीको जग्गा आफूले देखाएको स्रोतबाट कायम हुन आउने भनी साबिक स्रोत पोता लगत आदि देखाउन सकेको अवस्थामा मात्र दोहोरो प्रमाणको विद्यमानता भई तेरो मेरोको स्थिति उत्पन्‍न हुने र हक कायममा सुनाउनुपर्ने स्थिति रहने । बेनिस्सा दर्ता कारबाहीमा प्रकाशित सूचनामा कुनै विश्‍वसनीय स्रोत प्रमाण नदेखाई उजुरी गरेकोमा त्यस्तो उजुरीकै आधारमा मालपोत कार्यालयले यान्‍त्रिकरूपमा हक बेहकमा सुनाउनुपर्ने आवश्यकता नरहने । दुवै पक्षले विधिसम्मत तरिकाले प्रमाण पेस गरेको र त्यस्तो प्रमाणको मूल्याङ्कन गरी निर्णय गर्नुपर्ने अवस्था भएमा मात्र औचित्यको आधारमा हक बेहकमा सुनाउनुपर्ने । जहाँ प्रमाण मूल्याङ्कनको प्रश्‍न नै खडा भएको हुँदैन त्यस्तो स्थितिमा हक बेहकमा सुनाउनुपर्ने औचित्यसमेत नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३२२ - उत्प्रेषणसमेत

 फैसला मिति:२०८०/११/१७  संयुक्त इजलास  १५४५
 पुनरावेदक/ प्रतिवादी : कञ्चनजङ्घा तामाङ ज्वाइन्ट भेन्चर, बसुन्धारा काठमाडौं नेपालका तर्फबाट अधिकारप्राप्त तामाङ कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक केशव थोकर बिरुद्ध विपक्षी/वादी : पुनरावेदन अदालत पाटन, ललितपुरसमेत

मध्यस्थता ऐन, २०५५ को मूलभूत उद्देश्य मध्यस्थताद्वारा विवादको समाधान वैकल्पिक प्रक्रियाबाट गर्ने रहेको देखिने । विवादहरूको वैकल्पिक रूपमा समाधान गर्दा स्वयम् पक्षहरूले मध्यस्थ चयन गर्ने हुँदा मध्यस्थको निर्णयमा गम्भीर कानूनी त्रुटि भएको अवस्थामा बाहेक त्यस्तो निर्णयहरू पक्षहरूका लागि बाध्यकारी हुने । मध्यस्थले गरेको निर्णय चित्त नबुझ्ने पक्षले सोउपर तत्कालीन पुनरावेदन अदालतमा निवेदन दिन सक्ने व्यवस्था मध्यस्थता ऐन, २०५५ को दफा ३० ले गरेकोमा तत्कालीन पुनरावेदन अदालतले मध्यस्थको निर्णय बदर गर्दा वा पुनः निर्णय गर्न आदेश गर्दा मध्यस्थता ऐनको दफा ३०(१) मा उल्लिखित कानूनी व्यवस्थाको प्रस्ट उल्लेखन गर्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३२१ - उत्प्रेषण

 फैसला मिति:२०८०/०९/१७  संयुक्त इजलास  २६१
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. १० स्थित केन्द्रीय कार्यालय रहेको परियार सेवा समाजको अख्तियार प्राप्त ऐ. को महासचिव जिल्ला सोलुखुम्बु दुधकुण्ड न.पा. वडा नं.१ बस्ने बलबहादुर दर्जीको छोरा धर्मबहादुर दर्जी बिरुद्ध विपक्षी/वादी : जिल्ला प्रशासन कार्यालय काठमाडौंसमेत

सामाजिक कार्य गर्ने संस्थाको गतिविधि प्रभावकारी तथा पारदर्शी हुनुपर्ने । समाज सेवाका नाउँमा सीमित व्यक्ति र समूहले स्रोतमाथि कब्जा गर्ने र लक्षित समुदाय र संस्थाको उद्देश्यप्रति कुनै जवाफदेही नहुने हो भने संस्थाले जनविश्वास गुमाउँदै जाने । यस्तो प्रवृत्तिलाई रोक्न र कानूनी शासन कायम राख्न नियामक निकाय जिल्ला प्रशासन कार्यालयले निर्देशन दिन सक्ने । यसरी संस्थालाई गतिशील बनाई घोषित उदेश्यअनुरूप कार्य गर्न गराउन नियामक निकायले कानूनबमोजिम दिएको निर्देशनलाई कानूनी अधिकार नै नभएको भनी मान्न नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३२० - कर्तव्य ज्यान

 फैसला मिति:२०८०/०५/०४  संयुक्त इजलास  ६५५
 पुनरावेदक/ प्रतिवादी : खोटाङ जिल्ला, बासपानी गा.वि.स. वडा नं.५ बस्ने लछुराम राईको छोरा असिम राई बिरुद्ध विपक्षी/वादी : खोटाङ जिल्ला, फेदी गा.वि.स. वडा नं.३ बस्ने बमबहादुर राईको छोरा हर्कराज राईको जाहेरीले नेपाल सरकार

सामान्यतयाः कुनै कसुरको अभियोग लागेको व्यक्ति कसुरमा इन्कार रहनुलाई अस्वाभाविक मान्न नसकिने । आफूले कसुर स्वीकार गर्दा बेहोर्नुपर्ने फौजदारी दायित्वबाट उन्मुक्तिका लागि इन्कार रहनु स्वाभाविकै हुने । तर यही स्वाभाविकताका बिचमा पनि कुनै व्यक्ति निजलाई लगाइएको अभियोगमा साबित हुन्छ भने त्यो पक्ष विचारणीय हुन्छ र अन्यथा प्रमाणित नभएसम्म यस्तो साबितीलाई मूल्यवान् प्रमाणको रूपमा लिनुपर्ने । किनभने यहाँनिर साँचो नभई आफैँउपर फौजदारी दायित्व आइपर्ने गरी कोही पनि साबित हुँदैन भन्ने मान्यता राख्ने गरिने । यसैले साबितीलाई प्रमाणमा लिने व्यवस्था गरिनुको पछाडि पनि साबित भयो भन्ने तथ्य महत्त्वपूर्ण नभएर त्यस्तो साबिती साँचो हुन्छ भन्ने तथ्य महत्त्वपूर्ण रहने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३१९ - परमादेश

 फैसला मिति:२०७९/११/१२  संयुक्त इजलास  २७३
 पुनरावेदक/ प्रतिवादी : हर सिंह धामीको छोरा जिल्ला दार्चुला साबिक भगवती गा.वि.स. वडा नं. ४ हाल मालिकार्जुन गाउँपालिका वडा नं. २ घर भई रानीस्थान आधारभूत विद्यालयको कार्यालय सहयोगी वर्ष ४० को माधव सिंह धामी बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत

गाउँपालिकाको शिक्षा नियमावलीमा स्पष्ट रूपमा कर्मचारी छनौट गर्दा अपनाउनुपर्ने कार्यविधि र छनौट समितिको व्यवस्था भएकोमा सोही व्यवस्थाअनुरूप कर्मचारी नियुक्ति गरिनुपर्ने अन्यथा त्यस्तो नियुक्तिले वैधता पाउन नसक्ने । कानूनले निर्दिष्ट गरेको व्यवस्थालाई पालना नगरी वा अनदेखा गरी निहित उद्देश्यले आफूले इच्छाएका व्यक्तिहरू मात्र उपस्थित गराई गरेको नियुक्ति कानूनसम्मत भएको भनी मान्न नसकिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३१८ - लेनदेन

 फैसला मिति:२०८०/०६/०९  संयुक्त इजलास  ११७४
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.१२ स्थित भन्सार मार्ग, टेकु काठमाडौंमा कार्यालय रहेको पचली बहुउद्देश्यीय सहकारी संस्था लि. को सञ्‍चालक समितिबाट अख्तियारप्राप्‍त प्रबन्धक पदमा कार्यरत काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.१० मा बस्ने भरतबहादुर प्रधान बिरुद्ध विपक्षी/वादी : सर्वज्ञमान मल्लको नाति दुर्गेशमान मल्लको छोरा काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.१ बस्ने रविन्द्रमान मल्ल

सहकारी संस्थाले सदस्यहरूबिच विश्‍वास र आवश्‍यकताका आधारमा प्रदान गरिएको ऋणबाहेक अन्य ठुला प्रकृतिका ऋणहरूमा सामान्यतया धितोले खाम्ने गरी मात्र ऋण प्रवाह गर्नुपर्ने र राखिएको धितोबाट लिलामी गरी सोहीबाट ऋण असुली गर्नुपर्ने । धितोले नखामेमा जुन व्यवसाय गरिएको हो सोहीबाट वा अन्य जायजेथाबाट उक्त ऋण असुली हुन सक्ने भए सोही प्रक्रियामा जानुपर्ने । सहकारीमा जायजेथा राखिएको सम्पत्तिबाट ऋण असुली नभएमा ऋण असुली न्यायाधिकरणको प्रक्रियाबाट वा अन्य त्यस्तै प्रक्रियाबाट असुलउपर गर्ने व्यवस्था नभएकाले अन्य सामान्य कानूनी प्रक्रिया अवलम्बन गर्न सक्ने । यस्तो अवस्थामा लेनदेन व्यवहारअन्तर्गत नियमित अदालत प्रवेश गर्ने कार्य अन्तिम उपाय हुने । यस्तो अन्तिम उपायअन्तर्गत लेनदेनसम्बन्धी कानून र क्षेत्राधिकार प्रयोग गरी अदालत प्रवेश गरेको अवस्थामा निर्णय गर्ने अदालतले सम्बन्धित कानूनले तोकेको प्रतिशतभन्दा बढी ब्याज भराउन नसक्ने । जुन कानून जुन प्रयोजनको निम्ति बनेको हो, त्यस कानूनले सो प्रयोजनभन्दा बढी गरी वादी दाबीबमोजिम निजको सुविधामा निर्णय गर्न नसक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३१७ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७९/०२/०९  संयुक्त इजलास  २८९
 पुनरावेदक/ प्रतिवादी : बलबहादुर के.सी. को नाति, भरतबहादुर के.सी. को छोरा ललितपुर जिल्ला, साबिक छम्पी गा.वि.स. वडा नं. ६ को परिवर्तित कार्यविनायक न.पा. वडा नं. १६ बस्ने वर्ष ६० को समिर गौतम के.सी. बिरुद्ध विपक्षी/वादी : काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड ललितपुरसमेत

अवकाश हुँदाको अवस्थामा संस्थाको सञ्चालक समितिको अध्यक्षले हस्ताक्षर गरिदिएको कदर पत्रमा सेवा अवधिको एउटा मिति कायम गरेकोमा निजलाई अवकाशबापत पाउनुपर्ने सेवा सुविधा प्रदान गर्ने समयमा अर्को मिति कायम गरी विपक्षीहरूले गरेको निर्णयलाई कानूनसम्मत मान्न नसकिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३१६ - अंश दर्ता

 फैसला मिति:२०७९/०१/१९  संयुक्त इजलास  ७०९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला बारा, गन्जभवानीपुर गाउँ विकास समिति वडा नं.७ बस्ने नेसारूलहक अन्सारीसमेत बिरुद्ध विपक्षी/वादी : जिल्ला बारा, गाउँ विकास समिति गन्जभवानीपुर वडा नं.७ बस्ने मैमुलहक अन्सारीसमेत

अंशबन्डा हुनु र मानो छुट्टिई अलग अलग व्यवहार गरी बस्नु फरक विषय हो । मानो छुट्टिई अलग अलग व्यवहार गरी बस्दै आए पनि अंशबन्डा नभएको अवस्थामा त्यस्ता अंशियार सगोलकै मान्‍नुपर्ने । सगोलमा रहेको भन्‍नु र एकासगोल भन्‍नु पनि फरक फरक अवस्था हो । "सगोल" शब्दले अंशियारहरूबिच बन्डा नभएको अवस्थालाई जनाउँछ, जुन अवस्थाले अंशियारहरू चुल्हो मानो छुट्टिई अलग रहेको अवस्थालाई समेत जनाउँछ भने "एकासगोल" भन्‍ने शब्दले अंशियारहरू चुल्हो मानो नछुट्टिई सँगसाथ रही भात भान्सा एउटै रहेको अवस्थालाई इङ्गित गर्दछ । भिन्‍न हुनु र अंश लिई भिन्‍न हुनु फरक अवस्था हो । अंशियारहरू आपसमा भिन्न मात्र हुनुले अंशियारहरूबिच बन्डा नभई सगोलमा रहेको मानिन्छ भने अंश लिई छुट्टिई भिन्न भएको अवस्थाले अंशियारहरूबिच अंशबन्डा भइसकेको अवस्थालाई बुझाउने हुन्छ र त्यस्ता अंशियारहरू सगोलमा रहेको भन्न नमिल्ने । मानो छुट्टिएको कारणले सगोलमा नरहेको भन्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३१५ - सिसौ बाली दिलाइपाऊँ

 फैसला मिति:२०८०/०६/१४  संयुक्त इजलास  २५३
 पुनरावेदक/ प्रतिवादी : सवुरलाल भगतको छोरा जिल्ला सप्तरी कुशाह गाउँ विकास समिति वडा नं.१ बस्ने बद्रीनारायण भगत बिरुद्ध विपक्षी/वादी : जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ४ को हाल परिवर्तित ऐ. वडा नं.३ बस्ने शुभनारायण भगतको पत्‍नी मीरा देवी भगत

वादीले अंशबापत जग्गा प्राप्‍त गर्दाको अवस्थामा सो जग्गामा रहेको सम्पत्तिको रूपमा रहेका रूखहरूसमेत यथावत् रहनु पर्नेमा यथावत् नरहेको अवस्थामा आफूले अंश हकबाट पाएको जग्गामा भएका रूखहरू प्राप्‍त गर्ने हकबाट वञ्चित हुन पुगेको देखिने । जग्गा प्राप्त गर्दाका अवस्थामा सो जग्गामा रहे भएको सम्पूर्ण रूखबिरूवा तथा अन्य चिजवस्तुहरूसमेत पाउनु वादीको अधिकारभित्र नै पर्ने । अंश हकबाट प्राप्त गरेको जग्गामा भएका रूखबिरूवाहरू जग्गावालाकै हुने र निज जग्गाधनीको मन्जुरीबेगर सो जग्गामा जडित रूखहरू कसैले काटी लैजान्छ र सो अवस्थामा जग्गाधनीले बिगो भराइपाउँ भनी नालिस गर्छ भने निजलाई मुद्दा गर्ने हक रहेको छैन भन्न न्यायोचित नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३१४ - जालसाज

 फैसला मिति:२०७९/०१/२८  संयुक्त इजलास  ५३१
 पुनरावेदक/ प्रतिवादी : बद्रीप्रसाद लामिछानेको नाति, हरिप्रसाद लामिछानेको छोरा, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १२ बस्ने पुरूषोत्तम लामिछाने बिरुद्ध विपक्षी/वादी : श्रीसम्पत्ति शाक्यको छोरा जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. १२ बस्ने प्रकाशमान शाक्य

प्रचलित कानूनले वादीलाई दुई वा सोभन्दा बढी उपचारका मार्ग (विकल्प) प्रशस्त गरेको अवस्था छ भने कुन मार्गबाट उपचारको खोजी गर्ने भन्ने वादीको छनोटको विषय हुने । अमुक कानूनी व्यवस्थाबमोजिम नै उपचार खोजी गर्नुपर्छ वा अमुक कानूनी व्यवस्थाबमोजिम दाबी गर्न मिल्दैन भनी प्रतिवादी वा यस अदालतले समेत बाध्य गर्नु उचित नहुने । यस स्थितिमा मुद्दाको तथ्यको रोहबाट प्रतिवादीको कार्य जालसाजपूर्ण देखिएको अवस्थामा वादीले लेनदेन व्यवहारको महलअन्तर्गत लिखत बदरतर्फ दाबी नगरी जालसाजी मुद्दाको फिराद दायर गर्न नसक्ने भन्ने प्रतिउत्तर तथा पुनरावेदन जिकिर कानून र न्यायको रोहमा मिल्दो नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३१३ - उत्प्रेषणयुक्त परमादेशसमेत

 फैसला मिति:२०८०/०६/२२  संयुक्त इजलास  २३१
 पुनरावेदक/ प्रतिवादी : कास्की जिल्ला, पोखरा महानगरपालिका, वडा नं. ८ को हाल काठमाडौं जिल्ला, टोखा नगरपालिका, ७ धापासी बसी कान्ति बाल अस्पतालमा व.क.पे.स. (दशौँ तह) मा कार्यरत विजय थापा बिरुद्ध विपक्षी/वादी : लोक सेवा आयोग, केन्द्रीय कार्यालय अनामनगर, काठमाडौंसमेत

एकै निकायमा उही कार्य गर्दा निजले प्राप्त गर्ने अनुभवमा भने फरक निकायबाट हुने नियुक्तिले फरक पर्ने अवस्था नदेखिने । विभिन्‍न कारणले एक वर्षभन्दा कम सेवा अवधि भएको अवस्थामा पनि पटकपटकको एकै प्रकृतिको सेवालाई गणना गरी एउटै निकायबाट एकमुष्ट सेवा अवधि प्रमाणित गरी ल्याएको अवस्थामा त्यस्तो एकमुष्ट सेवा अवधिलाई मान्यता दिने गरी लोक सेवा आयोगले गरेको निर्णय उचित र न्यायपूर्ण देखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३१२ - उत्प्रेषण / परमादेशसमेत

 फैसला मिति:२०७९/०३/२०  संयुक्त इजलास  २८३
 पुनरावेदक/ प्रतिवादी : पर्सा जिल्ला वीरगन्ज उपमहानगरपालिका वडा नं. ५ बस्ने सन्तोषकुमार चौरसियाकी छोरी वर्ष ८ की परिधि कुमारीसमेत बिरुद्ध विपक्षी/वादी : उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जसमेत

अदालतको फैसला र फैसला कार्यान्वयनबिच सकारात्मक सामञ्जस्यता हुन आवश्यक हुने । अदालतले घर जग्गा नै बन्डा हुने फैसला गरेपछि निर्विवादित रूपमा फैसला कार्यान्वयनको कार्यविधि पूरा गरी पक्षको सहमति भएमा मात्र केही नरमकरम मिलाउन सकिन्छ तर पक्षको अनुपस्थितिमा जबरजस्ती गरिएको बन्डा मुचुल्का विवादित हुन सक्ने सम्बन्धमा अदालत पनि सचेत हुन आवश्यक हुने । रिट निवेदकले बन्डा छुट्याउन निवेदन दिनुभन्दा पहिला प्रत्यर्थीले बन्डा छुट्याउन निवेदन दिएको भन्ने आधारमा फैसलाअनुसारको अंशभाग पाउनबाट वञ्चित गर्न कानूनसङ्गत नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३११ - उत्प्रेषणसमेत

 फैसला मिति:२०८०/०९/१३  संयुक्त इजलास  ३४८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नं.९ निवासी सशस्त्र द्वन्द्वकालमा हत्या गरिएका टिकाराज आरणको छोरा ज्ञानेन्द्रराज आरणसमेत बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौंसमेत

द्वन्द्वबाट पीडितको न्यायको हकलाई तत्काल सम्बोधन गर्नुपर्नेमा विस्तृत शान्ति सम्झौता भएको १७ वर्षसम्म सम्बोधन नगर्ने तर पीडितहरूलाई थप पीडा पुग्ने गरी र मनोवैज्ञानिक रूपमा पीडितहरूलाई थप पीडा हुने गरी जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिने गरी गरिएको निर्णयलाई प्रत्यर्थीहरूले जिकिर लिएजस्तो कार्यपालिकाको बुद्धिमता तथा कार्यक्षेत्रको संज्ञा दिई वैधता प्रदान गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३१० - चेक अनादर

 फैसला मिति:२०८०/०९/०१  संयुक्त इजलास  १०४६
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३५, सुविधानगर, मुनीभैरव मार्गमा रजिस्टर्ड कार्यालय रहेको ॐकार रियल स्टेट एण्ड हाउजिङ कम्पनी प्रा.लि.समेत बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.५ विशालनगर बस्ने काशीनाथ आचार्यको नाति, भरतमणि आचार्यको छोरा विजयमणी आचार्य

वादी प्रतिवादीबिच अन्य लेनदेन कारोबार भएका कारण चेक दिएको नै भए तापनि लेनदेन कारोबारतर्फ प्राप्त उपचार र चेक अनादरमा प्राप्त हुने उपचार दुई पृथक् वैधानिक अवस्था हुन् । चेकको प्रकृति नगदसरह तत्काल भुक्तानी हुनुपर्ने हुँदा बैंकिङ प्रणाली सञ्चालनका लागि बैंकमा पेस गर्नासाथ चेकको भुक्तानी तत्काल हुनुपर्ने र नभएमा त्यसबाट सिर्जित दायित्व चेक लेख्ने व्यक्तिले वहन गर्नुपर्ने । प्रतिवादीहरूले वादीलाई जग्गा पारित गरिदिएको र सोबापतको प्रतिफल प्राप्त नगरेको भए सोको उपचार सोही मुद्दाबाट खोजिनुपर्ने । बैंकिङ प्रणालीअन्तर्गत चेक काटिदिएपछि चेक भुक्तानी नभएमा बैंकिङ प्रणालीको साखमा नै गम्भीर असर पर्ने र बैंकिङ प्रणाली सुसञ्‍चालन हुन नसक्ने भएकाले चेक अनादर हुनुको औचित्य अन्य कारोबार वा व्यवहारबाट स्थापित हुन नसक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३०९ - उत्प्रेषणसमेत

 फैसला मिति:२०८०/०४/३२  संयुक्त इजलास  ३७२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं. ८ बस्ने रमेशप्रसाद चालिसे बिरुद्ध विपक्षी/वादी : नागरिक लगानी कोष सि.आई.टि. भवन नयाँ बानेश्वर, काठमाडौंसमेत

अवकाश कोषबाट गरिने भुक्तानी उपदान, वा सञ्चित बिदाबापतको रकम वा औषधी उपचार खर्च आदिको हकमा नै आकर्षित हुने र आयकर नियमावली, २०५९ को नियम २० ले तोकेको सर्तमा मात्र स्वीकृत अवकाश कोषको स्थापना र सञ्चालन हुनसक्ने हुँदा आर्थिक ऐन, २०७५ मा "योगदानमा आधारित अवकाश भुक्तानी" भन्ने शब्दावली उल्लेख भएको कारण स्वीकृत अवकाश कोषबाट गरिएको अवकाश भुक्तानीमा सम्बन्धित कर्मचारीको योगदान नरहेको भन्ने जिकिर लिई आयकर ऐन, २०५८ को दफा ८८(१) को मूल व्यवस्थाअनुसार अवकाश कोषको भुक्तानीमा १५ प्रतिशत करकट्टी गरिनुपर्छ भनी अर्थ गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३०८ - उत्प्रेषणसमेत

 फैसला मिति:२०८०/०८/०७  पूर्ण इजलास  ४२६
 पुनरावेदक/ प्रतिवादी : सर्लाही जिल्ला, साबिक लालबन्दी गा.वि.स. वडा नं. १ परिवर्तित लालबन्दी नगरपालिका, वडा नं. ७ घर भई हाल नेपाल प्रशासन सेवा, राजस्व समूह, राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत पदमा नियुक्ति पाई अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व कार्यालय, टंगालमा कार्यरत उषा पोखरेलसमेत बिरुद्ध विपक्षी/वादी : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत

एउटै तह र पदको लागि समावेशी एवं खुलातर्फ सिट संख्या बाँडफाँट गरी एउटै परीक्षा लिई सिफारिस गरिएका व्यक्तिहरू एकमुष्ठ योग्यताक्रमको आधारमा ज्येष्ठ हुने नीतिगत मापदण्डलाई अझ स्पष्ट बनाई सोको व्यवस्थापन प्रभावकारी बनाई निजामती सेवालाई उत्साहित, न्यायिक, मर्यादापूर्ण, भेदभावरहित बनाउनुपर्ने । प्रचलित कानूनले योग्यताक्रम निर्धारण तथा ज्येष्ठता कायम गर्ने विधि प्रक्रिया तोकिदिएकोमा सो कानूनी व्यवस्था अन्यथा नभएसम्म सोहीबमोजिम नै योग्यताक्रम निर्धारण तथा ज्येष्ठता कायम गरिनुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु