विस्तृत खोजी

 
 
 
 
 
      

२१ खोजी नतिजाहरु

निर्णय नं. ९३३७ - उत्प्रेषण

 फैसला मिति:२०७१/१०/२७  संयुक्त इजलास  २९२२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला ओखलढुङ्गा, च्यानम गाउँ विकास समिति वडा नं. ४ बस्ने पदमबहादुर कटुवाल बिरुद्ध विपक्षी/वादी : स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग सस्पेन्सन बृज डिभिजन, श्रीमहल पुल्चोक, ललितपुरसमेत

 दुई फरकफरक विकासअन्तर्गत एउटा निकायको अस्थायी सेवा अवधि अर्को निकायको अस्थायी सेवा अवधिमा जोडी उपदानलगायतको सेवा सुविधा उपलब्ध गराउने व्यवस्था प्रचलित कानूनमा भएको नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३३६ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०७१/०९/१७  संयुक्त इजलास  ४५६८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला काभ्रेपलान्चोक, फलाटे गा.वि.स. वडा नं. ५ घर भै हाल कारागार कार्यालय, काभ्रेपलान्चोकमा थुनामा रहेका हरिकुमार लामा बिरुद्ध विपक्षी/वादी : काभ्रेपलान्चोक जिल्ला अदालत, धुलिखेलसमेत

 कानूनको निर्माण केवल औपचारिकताका लागि मात्र नभै निश्चित उद्देश्यका लागि पालना होस भनी गरिएको हुन्छ । कुनै विषयका सम्बन्धमा कानूनको निर्माण गरिएकोमा सोसम्बन्धी काम कारवाहीमा सो कानूनको पालना नगरिएमा सो कार्यले वैधता प्राप्त गर्न सक्तैन । व्यक्तिको वैयक्तिक स्तन्त्रतासँग प्रत्यक्ष सरोकार राख्ने फौजदारी कानूनको कार्यान्वयन गर्दा झन बढी सचेत रही कानूनको अक्षरशः पालना गर्नुपर्ने हुन्छ । उक्त मान्यता सारवान्‌ कानूनको हकमा मात्र नभई कार्यविधि कानूनको हकमा पनि उत्तिकै लागू हुन्छ । कुनै पनि व्यक्तिका विरूद्धमा कसुर अपराध ठहर गर्दा र सजाय तोक्दा कानूनले निर्धारण गरेको व्यवस्थाको अक्षरशः पालना गर्नु आवश्यक हुन्छ । जुन कुरा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ को हकमा पनि उत्तिकैरूपमा लागू हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३३५ - जबर्जस्ती करणी

 फैसला मिति:२०७१/०९/०३  संयुक्त इजलास  १२६९८
 पुनरावेदक/ प्रतिवादी : परिवर्तित नाम मायाको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : पाल्पा जिल्ला, बन्दीपोखरा गा.वि.स. वडा नं. १ बस्ने यादवप्रसाद घिमिरे

 एउटा वयस्क र स्वस्थ महिला अथवा पुरूषलाई उहीसरहको महिला अथवा पुरूष एक्लैले निजको इच्छाविरूद्ध जबर्जस्ती करणी गर्न सक्तैन । पीडितले रोई कराई सङ्घर्ष आदि गरेर प्रतिरोध गर्नुपर्छ । पीडित तथा प्रतिवादीको शरीरमा प्रतिरोधको चिन्ह देखिनुपर्छ भनी पीडितको शरीर र उमेर मात्र हेर्ने दृष्टिकोणलाई मान्यता दिँदैन । पीडितको मानसिक अवस्था र परिवेश पनि हेर्नु आवश्यक हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३३४ - कर्तव्य ज्यान

 फैसला मिति:२०७१/०८/२४  संयुक्त इजलास  २८७५
 पुनरावेदक/ प्रतिवादी : सुनसरी जिल्ला, पाँचकन्या गाउँ विकास समिति वडा नं. ५ घर भै हाल कारागार कार्यालय, चितवनमा थुनामा रहेका वर्ष २४ का एनस भन्‍ने प्रकाश राई बिरुद्ध विपक्षी/वादी : प्रेमकुमार गजमेरको जाहेरीले नेपाल सरकार

 आत्मरक्षाको अधिकारको दावीगर्दाका बखत वारदातको समयमा शक्तिको प्रयोग अनिवार्य भएको तथ्य दावी गर्ने पक्षले नै स्थापित गर्न सक्नुपर्दछ । त्यस्तो शक्तिको प्रयोग अनिवार्य रहेको तथ्य नै स्थापित नगरी केवल आपराधिक दायित्वबाट बच्ने मनसायले लिएको जिकिरले कानूनीरूपमा पक्षलाई सहयोग गर्न सक्तैन ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३३३ - मानव बेचबिखन तथा ओसार पसार

 फैसला मिति:२०७१/०७/१०  संयुक्त इजलास  ४४४८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला मोरङ, दुलारी गा.वि.स. वडा नं.३ घर भै हाल कारागार कार्यालय, तेह्रथुममा थुनामा बस्ने वर्ष ३९ की गोमा पाँचकोटी बिरुद्ध विपक्षी/वादी : केशरबहादुर दर्जीको जाहेरीले नेपाल सरकार

 कतिपय सङ्‍‌गिन प्रकृतिका फौजदारी अपराधमा पीडितले समाजमा बेहोर्नुपर्ने क्षति, अपराधबाट समाजलाई पुग्न जाने असर तथा अपराधलाई निरूत्साहित गर्न राज्यले निर्वाह गर्नुपर्ने नियन्त्रणकारी भूमिकासमेतलाई मध्यनजर गरी प्रमाणको भार (Burden of proof) आरोपित पक्षलाई नै सार्ने गरी कठोर कानूनी व्यवस्था गर्नुपरेको हो । अपराधमा संलग्न पक्ष पेशेवर हुन सक्ने र अपराध बडो योजनाबद्ध एवम् सङ्गठीत तरिकाले हुन सक्ने र कतिपय सङ्गठित आपराधिक समूहको संलग्नतामा समेत अपराध हुन सक्ने भएकाले अपराधमा संलग्न पक्ष नै पहिचान गर्न कठिन हुन सक्ने परिस्थितिको आँकलन गरेर नैं विधायिकाले कानूनको निर्माण गरेको हो । प्रमाण सङ्कलनका क्रममा हुन सक्ने कतिपय कमजोरीको फाइदा अपराध गर्ने पक्षलाई नैं नपुगोस् भन्ने नै विधायिकी मनसाय हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३३२ - जालसाजी

 फैसला मिति:२०७१/०९/२७  संयुक्त इजलास  ३५११
 पुनरावेदक/ प्रतिवादी : सर्लाही जिल्ला, लौकट गा.वि.स. वडा नं. ४ बस्ने जयप्रकाश राय यादव बिरुद्ध विपक्षी/वादी : सर्लाही जिल्ला, जमुनिया गा.वि.स. वडा नं. ४ बस्ने बुझावन महराको मु.स. गर्ने निजको भाइ रामदेव महरा

 प्रतिवादीले प्राप्त गरेको मोहीयानी हकको प्रमाणपत्रको प्रतिलिपि जालसाजी ठहराएको अवस्थामा भने त्यो कार्यबाट जसले हक प्राप्त गर्ने हो, उसको सहभागिता त्यस जालसाजीजन्य कार्यमा रहन्छ भनी सहज र सीधा अनुमान गर्नुपर्ने हुन्छ। मोहीयानी हक प्रतिवादीको भएकाले वादीले प्रतिवादीउपर प्रस्तुत नालिस गरेको देखियो । तर, प्रतिवादीले जालसाजीको कसुर गरे भन्नलाई सर्वप्रथम प्रतिवादीले जालसाजी गरी प्राप्त गरेको मोहीयानी हकको प्रमाणपत्र जालसाजी हो भन्ने अनिवार्यरूपमा देखिनुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३३१ - उत्प्रेषण

 फैसला मिति:२०७१/०९/११  संयुक्त इजलास  ४५१५
 पुनरावेदक/ प्रतिवादी : सूर्यदेव पन्तको नाति मदनदेव पन्तको छोरा, का.जि.का.म.न.पा. वडा नं २ बस्ने प्रमोदराज पन्त बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला अदालत, बबरमहल, काठमाडौंसमेत

 कारोबार लिखत हुँदा ऋणीले वा उसको लागि सम्पत्ति सुरक्षणबापत दिनेले जुन वतन देखाउँछ अन्यथा वतन हो भनी धनी सूचित नभएको अवस्थामा त्यही वतनमा म्याद तामेल भएकोलाई रीतपूर्वक कै मान्नुपर्ने हुन्छ । सूचना म्यादमा गलत वतन देखाई तामेल भयो भन्ने निवेदकको भनाइसँग सहमत हुन सकिएन । तथापि म्याद बेपत्ते तामेल भएको र बेपत्ते तामेल भएको कारणबाट गोरखापत्रमा म्याद सूचना सम्प्रेषण गर्नुपरेकाले निवेदकले सो म्याद प्राप्त गर्न सकेको स्थिति भने देखिन आएन । तसर्थ निजको हकमा सूचना सम्प्रेषण गरेकोमा उल्लिखित वडा नं.२९ को हकमा भने बेरीतको भन्न नमिले पनि बेपत्ते तामेली म्याद भएकाले निवेदकले उक्त म्याद प्राप्त गरे भनी भन्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३३० - अंश

 फैसला मिति:२०७१/१०/२०  संयुक्त इजलास  ३१६४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कपिलवस्तु, गा.वि.स. गोटिहवा वडा नं.१ दलदलहा बस्ने सन्तराम कुर्मी बिरुद्ध विपक्षी/वादी : जिल्ला कपिलवस्तु, गा.वि.स. गोटिहवा वडा नं. १ दलदलहा बस्ने राजकुमार कुर्मी

 वादी सन्तरामले मिति २०५९।८।१८ मा सुरू अदालतमा गरेको कागजमा आमा सूर्यमती जीवित नै रहेको भनी स्पष्‍ट उल्लेख गरेको अवस्थामा मिसिलबाटसमेत देखिन आएको सरोकारवाला (अंशियार) व्यक्ति निज सूर्यमतीलाई बुझी इन्साफ गर्नुपर्नेमा नबुझी अदालतले आफ्नो जिम्मेवारी वहन नगर्ने, नाता सम्बन्धको निर्णायक प्रमाण नबुझ्ने अनि फिरादपत्रका कमी कमजोरीमात्र देखाई सो आधारमा नकारात्मक धारणा बनाई नाता सम्बन्ध जस्तो व्यक्तिको स्थिति (Status) मा नै प्रभाव पर्ने गरी फैसला गर्ने कार्यलाई न्यायिक जिम्मेवारी बोधको अभाव भन्नुपर्छ । यसमा पुनरावेदन र सुरू अदालतका न्यायकर्ताबाट गम्भीर लापरवाही भएको मान्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३२९ - ठगी

 फैसला मिति:२०७१/०९/०७  संयुक्त इजलास  ६८८९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला भोजपुर, टक्सार गा.वि.स.वडा नं.६ बस्ने दयाप्रसाद घिमिरे बिरुद्ध विपक्षी/वादी : भीमबहादुर विष्टको जाहेरीले नेपालल सरकार

 कुनै एक पक्षले मात्र दोहोरो सुविधा पाउने गरी फैसला हुनु न्यायसङ्गत हुने नदेखिएकाले सो बिगो भराइदिनुपर्ने अवस्था नहुँदा जग्गा फिर्ता भैसकेको अवस्थामा हकवालालाई बिगो भराइदिने ठहराएको र बिगोको दामासाहीले जरिवाना गर्नुपर्नेमा जनही बिगोबमोजिम जरिवाना हुने ठहराएको हदसम्मको फैसला मिलेको देखिन नआउने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३२८ - वन पैदावार नोक्सान

 फैसला मिति:२०७०/१०/१२  संयुक्त इजलास  ४७४०
 पुनरावेदक/ प्रतिवादी : तिलकराम क्षेत्रीको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला बाँके, खासकुस्मा गा.वि.स. वडा नं. ६ भवानीपुर बस्ने लेखराज डाँगीसमेत

 बरामद भएका काठहरू जिल्ला वन कार्यालय, बाँकेबाट प्राप्त छोडपुर्जीबाहेक अन्य कहिं कतैबाट लोड गरिएको कुनै प्रकारको टाँचा लागेको भन्ने देखिएको छैन । तसर्थ बरामद भएका काठहरू यी प्रतिवादीहरूले व.वि. टाँचासमेत लगाई पठाएका काठबाहेकको काठ हो भनी तर्क गर्न मिल्ने देखिन नआउने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३२७ - कर्तव्य ज्यान

 फैसला मिति:२०७१/१०/१२  संयुक्त इजलास  २७४३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला झापा, वनियानी गा.वि.स. वडा नं. ८ घर भई हाल जिल्ला कारागार भद्रपुर, झापामा थुनामा रहेका सन्तोष बस्नेत बिरुद्ध विपक्षी/वादी : आशबहादुर बस्नेतको जाहेरीले नेपाल सरकार

 वारदातमा यी प्रतिवादी र मृतकबीच पूर्व रिसइबि रहेको वा मृतकलाई जोखिमी हतियारले प्रहार गरी जानीजानी मनसायपूर्वक कर्तव्य गरी मारेको अवस्था देखिँदैन । मृतकलाई यी प्रतिवादीले सम्झाउन खोज्दा उल्टै निहुँ खोजी प्रतिवादीलाई नै मृतकले कुट्न खोजेकाले उसै मौकामा रिस उठी प्रतिवादीले हातले मृतकलाई धकेलिदिँदा मृतकको टाउको टेबलमा ठोक्किन पुगी चोट लागी निजको मृत्यु भएको अवस्था देखिन आएकाले प्रस्तुत वारदातमा ज्यानसम्बन्धीको महलको १३ (३) नं आकर्षित हुने न भै ऐ महलको १४ नं. मा वर्णित आवेश प्रेरित हत्याअन्तर्गतको देखिन आउने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३२६ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०७०/१२/१९  संयुक्त इजलास  ३६४२
 पुनरावेदक/ प्रतिवादी : सिरहा जिल्ला, कुशाहा लक्ष्मीनिया गाउँ विकास समिति, वडा नं.७ बस्ने विजयराज निरौलासमेत बिरुद्ध विपक्षी/वादी : श्री प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंसमेत

 अदालतको आदेशलाई छल्ने वा कुनै किसिमले प्रभावहीन गराउने नियतले अदालतलाई झुठो जवाफ दिने कार्य अनुचित र पदीय कर्तव्य र दायित्वबाहिरको कुरा भएको र यस्तो झुट्ठा र असत्य जवाफ दिने अधिकारीलाई अदालतले अदालतको अवहेलनामा सजाय गर्न वा विभागीय कारवाहीको लागि सम्बन्धित सरकारी कार्यालयलाई लेखी उपयुक्त आदेश दिन सक्ने कानूनी व्यवस्था सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३९ मा रहेको हुँदा पक्राउ परेको मिति, कारण र अवस्थालाई लुकाई बद्‌नियतसाथ असत्य व्यहोरा लेखी लिखित जवाफ पठाउने कार्यसमेत बद्‌नियतपूर्ण हुने भएकाले अब आयन्दा त्यस्तो हुन नदिनेतर्फ सचेत रहन हिरासतमा राख्‍ने अख्तियारप्राप्त अधिकारीको दायित्व र कर्तव्यसमेत हुन आउने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३२५ - मोही नामसारी

 फैसला मिति:२०७१/०६/३१  संयुक्त इजलास  ६५८४
 पुनरावेदक/ प्रतिवादी : सर्लाही जिल्ला, मलङ्गवा न.पा. वडा नं. ९ बस्ने गोविन्दहरि अमात्य बिरुद्ध विपक्षी/वादी : सर्लाही जिल्ला, जब्दी गा.वि.स.वडा नं.७ बस्ने शिवनारायण चौधरीसमेत

 मोही बाँडफाँटसम्बन्धी कानूनी व्यवस्था भूमिसम्बन्धी ऐन, २०२१ ले गरेको छ । उक्त ऐनको दफा २६(१) मा...मोहीले कमाई आएको जग्गामा मोहीसम्बन्धी निजको हक निजपछि निजको एकासगोलका पति, पत्नी, छोरा, छोरी, आमा, बाबु, धर्मपुत्र, धर्मपुत्री छोरा, बुहारी, नाति, नातिनी बुहारी, दाजुभाइ वा दिदी बहिनीहरूमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्थाबाट मोहियानी लागेको जग्गामा जग्गाधनीले पत्याएको मोहीको हकदारको नाममा मोही हक नामसारी हुने देखिने ।  मोही दामोदर चौधरीको एकासगोलका अरू हकदार भएको देखिँदैन । अरू हकदार नभई दुई छोरा हकदार भएको र एक भाइ छोरा भगलुले हक त्याग गरेको अवस्थामा जग्गाधनीले नपत्याएको भएता पनि वादीको नाममा नामसारी हुनसक्ने देखिन्छ । मोही हक नामसारीको लागि मुद्दा कारवाही चलिरहेकोमा त्यो निर्णय नभइरहन पनि सक्तैन । फिरादीले पेस गरेको प्रमाण तथा सम्बन्धित निकायबाट प्राप्त सम्बद्ध प्रमाणको आधारमा निर्णय गर्नु सम्बन्धित निकायको कर्तव्य हो । जग्गाधनीले वादीलाई मोहीमा नपत्याएको भएता पनि मोही लागेको जग्गाको मोही नामसारी नगरी राख्दा नामसारी प्रक्रिया शून्यमा पुग्न सक्ने अवस्था हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३२४ - निर्णय बदर हक कायम

 फैसला मिति:२०७१/०७/०३  संयुक्त इजलास  २६०६
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१३ बस्ने बालकृष्ण श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१३ बस्ने श्यामकृष्ण श्रेष्ठ

 आफैँ साक्षी बसेको शेषपछिको बकसपत्रको लिखत बदर गरिपाउँ भनी दावी गर्न वादीले प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम नमिल्ने हुँदा सो शेषपछिको बकसपत्रको लिखतका आधारमा भएको भूमि सुधार कार्यालय, काठमाडौंको निर्णय बदर गर्न मिल्ने अवस्था र स्थिति नहुने । (प्रकरण नं. ४)  वादीले भूमि सुधार कार्यालय, काठमाडौंको मिति २०५८।१।८ को निर्णय बदर गरी हक कायम गरिपाउँ भनी मुलुकी ऐन, जग्गा मिच्नेको महलको १७ नं. र जग्गा पजनीको महलको १८ नं. बमोजिम काठमाडौं जिल्ला अदालतमा प्रस्तुत मुद्दाको फिराद दिएको देखिँदा भूमि सुधार कार्यालयको उक्त निर्णयले वादीको हक जाने भई निजलाई असर परेको भए सो निर्णय बदर गराउन निजले मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको ८६ नं. बमोजिम सुरू निर्णय गर्ने निकाय भूमि सुधार कार्यालय, काठमाडौंमा नालेस दिई उक्त निर्णय बदर गराउन सक्नुपर्नेमा त्यसो गर्न सकेको नदेखिने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३२३ - निर्णय दर्ता बदर हक कायम

 फैसला मिति:२०७१/०७/११  संयुक्त इजलास  २८९४
 पुनरावेदक/ प्रतिवादी : गुठी संस्थान केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौंको तर्फबाट सेमन्तराज चापागाईंसमेत बिरुद्ध विपक्षी/वादी : ललितपुर जिल्ला, हरिसिद्धि गा.वि.स. वडा नं. ३ बस्ने राम मुकुन्द महर्जनसमेत

 सर्भे नापीको कैफियतमा राजगुठीको जग्गा भनी व्यहोरा उल्लेख हुँदैमा सोहीमात्र आधार हक प्राप्त गर्ने स्रोत हुन सक्तैन । फिल्डबुकको कैफियतमा उल्लेख भएको व्यहोरालाई अन्य प्रमाणले पुष्‍टि गरेको हुनुपर्दछ । उक्त फिल्डबुकमा उल्लेख भएको व्यहोराको आधार के हो भनी पुनरावेदक पक्षबाट कुनै प्रमाण पेस भएको छैन । यस अदालतबाट पटकपटक भएको आदेशबाट मालपोत कार्यालय र नापी कार्यालयलाई फिल्डबुकमा राजगुठी भनी उल्लेख भएको व्यहोरा के कुन आधार र निर्णयबाट गरिएको भनी बुझिएकोमा सो सम्बन्धमा कुनै आधार वा निर्णय भएको भनी खुलाइएको देखिँदैन । विवादित जग्गाको नापीको फिल्डबुकको कैफियतमा हरिसिद्धि भवानी गुठी दर्ता भनी उल्लेख भएको एकमात्र आधारमा विवादित जग्गा राजगुठीको भएको मान्‍न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३२२ - उत्प्रेषण/परमादेश

 फैसला मिति:२०७१/०५/१२  विशेष इजलास  २२२९
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३१ बस्ने अधिवक्ता अनन्त कार्की बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत

 मोही र जग्गाधनीबीचको विवाद टुङ्गो लगाउन समयसमयमा म्याद थप गर्ने वा सूचना प्रकाशित गर्ने कार्य पनि भइआएको देखिएको र जग्गा बाँडफाँट गर्ने म्याद व्यतीत हुँदैमा मोही र जग्गाधनीको हैसियत तथा हकमा कुनै प्रतिकूल असर पार्ने अवस्था नहुँदा सोही कारणबाट हक गुम्न गएको भन्ने अर्थ गर्न मिल्ने देखिँदैन । मोही हकको समाप्ति हुने वा मोहीको हैसियतले जग्गा जोत्न नपाउने भन्ने कुनै किसिमको बन्देज लगाएको देखिन आउँदैन । यस्तो स्थितिमा सम्पत्तिको हकलाई कुण्ठित तुल्याएको भन्ने निवेदकको दावी संविधानसम्मत छ भन्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३२१ - उत्प्रेषण/परमादेश

 फैसला मिति:२०७१/०७/१३  विशेष इजलास  २७०५
 पुनरावेदक/ प्रतिवादी : सिरहा जिल्ला, सिरहा नगरपालिका वडा नं. ७ घर भई हाल निर्वाचन आयोग, कान्तिपथ काठमाडौंमा राजपत्र अनङ्कित प्रथम श्रेणी, नायब सुब्बा (विशेष) पदमा कार्यरत उदयराज पौड्याल बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, काठमाडौंसमेत

 आफू कार्यरत रहेको तालुक मन्त्रालय, विभाग वा सो मातहतका कार्यालयबाट आफ्नो कार्य प्रकृतिभन्दा छुट्टै कार्य प्रकृति भएको अन्य निकायमा सरूवा हुनको लागि निज कर्मचारी कार्यरत रहेको मन्त्रालय, विभाग वा कार्यालयलाई सरूवा गर्न अधिकार नभएको र सो अधिकार केवल सामान्य प्रशासन मन्त्रालयलाई मात्र प्राप्त हुँदा उक्त मन्त्रालयले सरूवा नीति व्यवस्थापन गर्नको लागि निजामती सेवा नियमावली, २०५० को नियम ३६ (१५) ले दिएको अधिकार प्रयोग गरी सरूवा पदस्थापन तथा काजसम्बन्धी मापदण्ड, २०६९ बनाई सोबमोजिम कर्मचारी सरूवा गर्न लिएको प्रशासनिक नीतिगत व्यवस्थालाई अन्यथा भन्न मिल्ने नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३२० - उत्प्रेषण/परमादेश

 फैसला मिति:२०७०/०८/२०  विशेष इजलास  ५३५३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला ललितपुर, इमाडोल गा.वि.स. वडा नं. ५ स्थित दृष्टिविहीन सहयोग केन्द्र नेपालको तर्फबाट ऐ. वडा नं. ७ बस्ने ऐ. का अध्यक्ष राजेन्द्र दुलाल बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, (हाल मन्त्रिपरिषद्का अध्यक्ष) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत

 कानूनको समान प्रशासन गर्न र न्यायको सार्वभौम अनुभूति दिलाउन राज्यले भेदभावका अनेकौं चरणहरू, रूपहरू र तहहरूको समुचित सम्बोधन नगरी सम्भव हुँदैन । अन्य हकहरूको अतिरिक्त समानताको हकमा सम्बन्धमा सो प्रश्न अझै महत्त्वपूर्ण हुन्छ । समानताको हकको प्रयोग र पालनाको लागि मात्र होइन, अन्य मौलिक हकको उपयोगमा समानता र समन्यायिकता सुनिश्चित गर्नको लागि पनि समानतासम्बन्धी विधिशास्त्रलाई समानतासापेक्ष बनाउन जरूरी हुने ।  समानताको हकलाई यथार्थमा अनुभूति गराउनको लागि समान अवस्था र परिस्थितिका नागरिकहरूबीच समान व्यवहार र असमान अवस्था र परिस्थितिका नागरिकहरूबीच असमान व्यवस्था गर्नुपर्ने गरी सकारात्मक विभेद र तार्किक वर्गीकरणको सिद्धान्तबमोजिम राज्यले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने हुन आउने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३१९ - उत्प्रेषण

 फैसला मिति:2070/10/20  विशेष इजलास  ४३१३९
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ९ स्थित ल स्टुडेन्ट्स सोसाइटी, काठमाडौंको अख्तियारी प्राप्त ऐ. संस्थाका सदस्य काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. २७, भेडासिङ बस्ने विकल्प राजभण्डारीसमेत बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत

 राज्यद्वारा आफ्नो नीतिगत व्यवस्थाअन्तर्गत बनाइएको कानूनले समाजको परम्परा, रीतिरिवाज, संस्कृति र व्यवहारलाई पनि ध्यान राख्ने हुँदा राज्यले समाजका कस्ता प्रकारका परम्परा, रीतिरिवाज, संस्कृति र व्यवहारलाई कानूनी व्यवस्थामार्फत् मान्यता दिने र कस्तोलाई नदिने भन्ने कुरा राज्यको नीतिगत विषयभित्र पर्ने कुरा हो । कानूनमा निहित त्यस्ता प्रकारका नीतिगत प्रश्नको औचित्यमा अदालतले आफ्नो असाधारण अधिकारक्षेत्र प्रयोग गरी न्यायिक पुनरावलोकनको रोहबाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ९३१८ - नागरिकतासम्बन्धी

 फैसला मिति:२०७१/०५/१२  पूर्ण इजलास  ४७५
 पुनरावेदक/ प्रतिवादी : मोरङ जिल्ला, कटहरी गा.वि.स. वडा नं. ७ बस्ने महावीर कामैत बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, गृहमन्त्रालय, काठमाडौं

 मुद्दामा प्रमाण बुझ्न आदेश गर्नु भनेको विवादित विषयमा ठहर वा अन्तिम निर्णय गर्न सहयोग पुर्‍याउने प्रमाणको खोजी गर्नु हो । इजलासबाट न्यायाधीशले प्रमाण बुझ्न गरेको आदेशलाई न्यायाधीशको रायसहितको अन्तिम ठहर वा निर्णय मान्न मिल्दैन । संयुक्त इजलासका एकजना न्यायाधीशले प्रमाण बुझ्न गरेको आदेशलाई निजको अन्तिम रायसहितको ठहर निर्णय भन्न नमिल्ने र राय बाझिएको भनी अर्थ गर्न पनि नमिल्ने ।  सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) को कानूनी व्यवस्था अनुसार पूर्ण इजलासमा मुद्दा पेस हुन संयुक्त इजलासका दुबै न्यायाधीशहरूबाट मुद्दाको निष्कर्ष र परिणाममा भिन्नता हुने गरी आफ्नो रायसहित भिन्नभिन्न ठहर निर्णय भएको हुनुपर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा एकजना न्यायाधीशले मात्र मुद्दाको निष्कर्ष र परिणाम देखिने आफ्नो रायसहितको ठहर निर्णय गरेको र अर्का न्यायाधीशले निष्कर्षमा पुग्न थप प्रमाणहरू बुझ्ने आदेश गरेको देखिँदा प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) मा प्रयुक्त भए अनुसार संयुक्त इजलासका न्यायाधीशहरूको राय नमिलेको मुद्दा मान्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु